कन्टिर–बाबू हैरान छन्, के–के सुन्नुपर्छ के–के ! कान थुनेर आँखा चिम्लेर बस्ने कुरा पनि भएन । अनेक थोक हेर्नुपर्छ, अनेक थोक देख्नुपर्छ । बाँच्नुमात्र पर्छ, अनेक भोग्न पाइन्छ ।
एक जना मित्रले कन्टिर–बाबूलाई सुनाउँदै थिए– प्रदेश १ को एक स्थानीय तह (गाउँपालिका)मा नसोचेको लफडा भएछ । ती मित्रका अनुसार, गाउँपालिकाका अध्यक्ष महोदयलाई लेखापाल महोदयले मादल सम्झेर सार्वजनिक ठाउँको ठाउँ बजाइदिएछन् ।
यस्तो अहिलेसम्म नसुनिएको, अचम्मको कुरो दिनदहाडै देख्नुपर्दा कन्टिर–बाबू क्षुब्ध छन् । नहुनुपर्ने घटना गाउँपालिका कार्यालय परिसरमै भयो । तर कन्टिर–बाबूले एउटा कुरा भने थाहा पाएनन्, ती लेखापाल महोदयले अध्यक्ष महोदयलाई बजाउन चाहिँ किन बजाएका रहेछन् ?
मुख्य कुरो जहिले पनि महत्त्वपूर्ण हुन्छ । यो प्रकरणको महत्त्वपूर्ण कुरो के हो ? मान्छेले विकास–निर्माणको काममा लेनदेनसम्बन्धी विवाद नमिलेको र हात हालाहाल भएको आशङ्का गरेका छन् । तर यकिन कसैले भन्न सकेका छैनन् ।
घटनास्थल वरपर हुनेले पनि कुनै किसिमको किटानी बयान दिन सकेका छैनन् । अन्ततः लफडा प्रहरीको हातमा पुगेको छ । प्रहरीले चुरो कुरो के पत्ता लगाउँछ, हेर्न बाँकी छ ।
आखिर कुरो जेसुकै भएको होस् तर यो ठोकठाक गर्ने र मादल बजाउने कुरालाई भने कुनै पनि हालतमा, कुनै पनि सर्तमा जायज मान्न नहुने तर्क कन्टिर–बाबूको छ ।
कन्टिर–बाबूका अनुसार यो पूरापूरी फौजदारी अपराध हो । यस घटनालाई त्यही कोटीमा राखेर हेरिनुपर्छ । अझ सबैभन्दा महत्त्वपूर्ण कुरा– यो अवस्थाको सिर्जना किन भयो ? त्यो सबैले थाहा पाउनुपर्छ । समस्या र सूचनालाई गुमराह गर्न पाइन्न । वास्तविक कुरा थाहा पाउने जनताको अधिकार छ ।
कन्टिर–बाबूका अनुसार यो त सङ्घीयतामा काल पल्क्यो भनेजस्तै कुरा भयो । पदीय मर्यादा र अनुशासनको पालन त सबैले गर्नुपर्छ नि ! कन्टिर–बाबूले माने– अध्यक्षले कुनै गल्ती नै गरे होलान्, नहुने काम गर्न दबाब दिए होलान् । तर के यसको समाधान मारमुङ्ग्री नै हो त ?




















