नेपाली जातिको बानी, बेहोरा र प्रवृत्ति देखेर कन्टिर–बाबू घरि छक्क पर्छन्, घरि जिल्ल पर्छन्, घरि अचम्भित हुन्छन् । तर जति फन्को घुमाए पनि जेरी उही हो । जति फुँदा जोडे पनि कुरा उही हो ।
नेपालीको सचेतनास्तर जति घटदै छ, कोरोना सङ्क्रमण दर उति बढ्दै छ । यही पारा रहने हो भने नेपालमा तेस्रो लहरको कोरोना सल्किन कति दिन पनि लाग्दैन ।
आखिर जति भने पनि, जति सम्झाए पनि, जति आग्रह गरे पनि नेपालीलाई नलाग्ने भो । सायद हम नहीँ सुधरेङ्गेवाला ज्याद्रो हिन्दी प्रवृत्ति नेपाली मौलिक विशेषता बन्दो छ । कोरोनाका कारण १० हजारभन्दा बढीको ‘बलिदान’ भइसक्दा पनि नेपालीको मनमा ‘डर’ भन्ने कुरो परेकै देखिँदैन ।
हो कन्टिर–बाबू मान्छन्– सधैँ लकडाउन गरेर, सधैँ बन्द गरेर जीवन चल्दैन । तर कोरोनाका अगाडि ‘यो मूला केही होइन’ भन्दै लापरबाही गरेर पनि त जीवन चल्दैन नि !
तर मान्छेलाई राम्रा मुखले सम्झायो, भिडभाड नगरौँ, व्यवहार परिवर्तन गरौँ, सचेतना बढाऔँ भन्यो, भन्यो, करायो–करायो तर काम–व्यवहार गर्ने बेलामा एक कानले सुन्यो अर्को कानले उडाइदियो । खोप लगाउन पनि मारमार । जे गर्न पनि तँछाडमछाड । जसरी भएपनि पहिले आफू र आफ्नालाई चाहियो ।
सार्वजनिक ठाउँमा एक व्यक्तिदेखि अर्को व्यक्तिबीचको दुरी कम्तीमा ६ फिट हुनुपर्छ भन्दा–भन्दा, लेख्दा–लेख्दा बरू रेडियो टिभी, पत्रपत्रिका र सामाजिक सञ्जालहरू थाकिसके होलान्, नेपालीहरू हच्केका छैनन् ।
सरकारी सेवा लिँदा होस्, खोप लिँदा होस्, खोप लिएको कार्ड अनुवाद गराउँदा होस्, बैङ्कमा लाइन लाग्दा होस्, तरकारी किन्दा होस्, हाट–बजार जाँदा होस्, गाडी चढ्दा होस् आम्मामामा जताततै मान्छेको अव्यवस्थित घुइँचो देख्दा कन्टिर–बाबूको माथा टनटनाउँछ घरिघरि त । लाइनमा ६ फिट त के एक हात जति पनि दुरी हुँदैन । यता सरकार भने भिड नहोस् भनेर भनेर हुँदाहुँदैको परीक्षा रोक्छ । उता जनता भने जति भिड त्यति ठिक भने जस्तो गर्छन् ।
सार्वजनिक ठाउँ, हाट–बजारमा मान्छेको यस्तो अनपेक्षित चालामाला देखेपछि कन्टिर–बाबू गम्न थाल्छन्– कम्तीमा ६ फिट भनेको दुई मिटर हो भनेर गोटागन्ती कतिलाई बुझाएर सक्नु ? मान्छेहरू आफ्नै ज्यानप्रति किन यति साह्रो लापरबाह भएका ?
यसरी मान्छे लापरबाह देखिनुमा स्पष्टतः दुईवटा कारण देख्छन् कन्टिर–बाबू । कि त मान्छेले यो विषयमा केही कुरा बुझेकै छैनन् कि धेर बुझेर लालबुझक्कडी पारा प्रस्तुत गरिरहेका छन् ।
नबुझ्ने त नबुझ्ने भइगए, बुझ्नेको पनि कुरा गरी साद्दे छैन । यता जतिजति खोप अभियान चल्दै छ, उता उतिउति ‘मैले त खोप लिइसकेँ मलाई त केही हुँदैन’ भन्दै भिडभाडमा घुस्रिने घुरघुरे व्यवहार प्रस्तुत गर्दैछन् ।
तपाईले गोबर वा मलको थुप्रोमा हुने घुरघुर किरा त देख्नुभएकै होला । त्यसलाई फोहोरको थुप्रोबाट जति बाहिर निकाल्न खोजे पनि मान्दैन । यसो कोट्याएर बाहिर निकाल्यो फेरि फोहोर खोज्दै घुस्रिहाल्छ । ठिक त्यस्तै प्रवृत्ति देखिँदै छ लालबुझक्कडहरूको पनि ।
अरे, तिनलाई कसले सम्झाउने, कसरी सम्झाउने कि खोप भनेको कुनै रामबाण वा सञ्जिवनी बुटी होइन । यो त खाली मनको सन्तोक र केही मात्रामा रोगप्रतिरोधी क्षमता बढाउने उपायमात्र हो । कोरोनाबाट बच्ने उपाय भनेको मास्क, सेनिटाइजर, भौतिक दुरी र स्वस्थ आहार–बिहार नै हो ।
कन्टिर–बाबू कपारमा हात लगाउँदै सोचिरहेका छन्– अब जति भन्दा पनि लाग्दैन भने कसको के लाग्छ ? उनी हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्ने पुर्खाहरूको सन्देश गम्दै मनमनै प्रण गर्छन्– बरु ढिलो भए होस्, काम बिग्रे बिग्रोस् तर मापदण्डअनुरूपको भौतिक दुरी कायम नभएको ठाउँमा अमृतै बाँडे पनि गइँदैन !




















