कन्टिर–बाबूलाई त्यसो त पूरै देशको माया छ । पूरै देशको गतिविधिप्रति चासो छ । तर प्रदेश २ का सम्बन्धमा कन्टिर–बाबूलाई झन् बढी चासो हुन्छ । कन्टिर–बाबूका धेरैजसो बालसखा र इष्टमित्र उतै भएकाले माया, चासो र सरोकारको मात्रा थोरै बढी त्यतातिर केन्द्रित भएको हुनसक्छ ।
कुरा चासोको उठिहाल्यो । कन्टिर–बाबूलाई पछिल्लो समयमा यस प्रदेशका सम्बन्धमा बहुत चासो उत्पन्न भएको विषय हो– प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको प्रचार शैली । प्रदेश २ ले सङ्घीयतापछिका दिनमा कति विकास गरयो ? के–के उपलब्धि संस्थागत भयो ? त्यो त यकिन थाहा भएन तर मुख्यमन्त्रीको प्रचार विकासमा भने यस प्रदेशले बाजी नै मारेको अनुभव कन्टिर–बाबूलाई भएको छ ।
प्रदेश २ ले प्रचारका कुरामा सबै प्रदेशलाई माथ दिएको छ । तपाईलाई विश्वास लाग्दैन भने एक पटक प्रदेश २ को भ्रमण गरेर बुझ्न सक्नुहुन्छ र आफ्नो प्रदेशको मुख्यमन्त्रीलाई सिकाउन सक्नुहुन्छ आत्मप्रचार कसरी गर्ने भनेर !
अरे बाफ रे बाफ ! बडेमानको होर्डिङ–बोर्ड प्रदेशभरि झुन्डिएको छ आ सबैमा फोटोसहित लालबाबूजीको ‘कसिदा’ लेखिएको छ । प्रदेश २ का आफ्ना नजिकका मिडियाको उपयोग त भएकै थियो । प्रदेशस्तरीय यो होर्डिङ–बोर्डवाला फन्डा भने अहिलेसम्मकै विशिष्ट हो ।
हुनसक्छ प्रदेशभरिका जनताले आफ्नो फोटो लगातार हेरिरहुन् आ मनमा लगातार सम्झिरहुन् भन्ने मनसाय मुख्यमन्त्री हुनसक्छ । तर कन्टिर–बाबू कसरी सम्झाउन् उनलाई कि फोटो हेरेर जनताले याद गर्नेवाला छैनन् । सम्झिनेवाला पनि छैनन् ।
चुनाव अब धेरै टाढा छैन । चुनावमा जनताले सबै हिसाबकिताब गर्छन्, दूधको दूध र पानीको पानी छुट्याउँछन् भन्ने कन्टिर–बाबूलाई विश्वास छ ।
राम्रो काम गरेको छ भने जनताको मनमा आफैँ राम्रो तस्बिर बन्छ आ चित्तबुझ्दो काम गरेको छैन भने कुनै पनि कसिदा र होर्डिङ–बोर्डवाला तस्बिर र आत्म प्रचारले केही हुनेवाला छैन ।
कन्टिर–बाबू भन्छन्– होर्डिङ–बोर्ड, तस्बिर–भिडियो प्रदर्शनवाला फन्डामा फसेर कुनै एक प्रदेशको मात्र होइन, सबै प्रदेश, सङ्घ र स्थानीय तहका कोही नेताजीले काम गर्ने महत्त्वपूर्ण समय आत्म–प्रशंसाको काममा व्यय नगरुन् । अति सर्वत्र वर्जित हुन्छ । कसैबाट पनि अति नहोस् ।
koshionline




















