जाजरकोटको जुनी चाँदे गाउँपालिका–२ का वडाध्यक्षको नेतृत्वमा केही दिनअघि एक दृश्य मञ्चन गरियो, जुन भिडियो पछि सामाजिक सञ्जालमा भाइरल भयो । यो दृश्य देखेर कन्टिर–बाबूलाई बडो ग्लानि अनुभूत भएको छ ।
ग्लानि यस अर्थमा कि कन्टिर–बाबू नयाँ नेपाल भनिने कस्तो नेपालमा बास गरिरहेका छन् ? दृश्यमा वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवा सर्पे दमाईलाई डोरीले हात बाँधेर निर्घात कुटपिट गरिरहेको देखिन्छ ।
कुट्ने कुट्दा छन् । रमितेहरू रमित हेर्दा छन् । हा, यसरी हात नहाल, गल्ती गरेको हो भने कानुनी कारबाही गर भन्ने कोही छैन । धन्न कसै–कसैले भिडियो बनाइहालेछन् र दुनियाँलाई थाहा भो । नत्र यत्रो ठुलो घटना त्यसै छोछाप पार्थे होलान् !
अरे यार, २१औँ शताब्दीमा पनि यस्तो निर्घात कुटपिट ? त्यो पनि स्थानीय सरकारको नेतृत्व तहबाटै ! के वडाध्यक्षलाई कुनै बहानामा मानिसलाई कुटपिट गर्ने अनुमति प्राप्त छ ? उनलाई जे मन लाग्यो त्यही गर्न छुट छ ?
कन्टिर–बाबूको थप प्रश्न छ– के यस्तै सोचेर विगतमा जनताले सङ्घीयता र स्थानीय तहको अधिकारका लागि सङ्घर्ष गरेका थिए ? कन्टिर–बाबूका यी प्रश्नको जवाफ कसले दिने ? बडा विचित्र छ, मानवअधिकारको कुनै मूल्य छैन ? कि मानवअधिकार हुनेखानेका लागि मात्र हो ?
विचित्रको व्यवहार यतिमा मात्र सीमित छैन, वडा अध्यक्ष नेपालीको पहुँच र प्रहरीसँगको मिलेमतो पनि गजबकै रहेछ । सर्पे दमाईलाई निर्घात कुटेको घटनामा उल्टै पीडितलाई नै माफी मगाएर मिलापत्र गराउने कार्य भएछ ।
अरे यार यो कस्तो न्याय हो ? कुटाइ पनि खानुपर्ने अनि उल्टै माफी माग्दै मिलापत्र पनि गर्नुपर्ने ?
कन्टिर–बाबू घटनाको निष्पक्ष छानबिन र दोषीहरूमाथि कारबाहीको माग गर्छन् । कानुनभन्दा माथि कोही छैन । हुनु हुँदैन । यो कानुनी राज्य हो । यहाँ कसैले कानुन हातमा लिन पाउँदैन ।
कन्टिर–बाबू सधैँ भन्छन्, शासन कुनै व्यक्तिको होइन, विधिको हुनुपर्छ । जय होस् ।




















