कन्टिर–बाबूलाई लाग्छ, चोरहरू विशेष हुन्छन् । यिनीहरूसँग चोरीको अद्भूत कला र ज्ञान हुन्छ । त्यसैले होला मैथिली भाषामा एक भनाइ प्रचलित छ– योग विद्यासँ चोर विद्या भारी । अर्थात् पढेर र योग गरेर प्राप्त गरेको विद्याभन्दा चोरको विद्या ठूलो हो ।
कन्टिर–बाबूलाई लाग्छ– चोरीका सन्दर्भमा चोरले प्रयोग गर्ने धाँसु आइडियाहरूलाई ध्यानमा राखेर नै चोर महिमा गाइएको हुनसक्छ । चोरको विद्या ठूलो भनिएको हुनसक्छ ।
अरे यार कुनै कुरो सुरक्षित गर्न जस्तोसुकै उपाय अपनाए पनि जतिसुकै बलियो ताल्चा लगाए पनि चोरले आफ्नो काम फत्ते गरिछोड्छ । कडा सुरक्षा पहराभित्र राखिएका कोहिनुर र ज्याकब डाइमन्डजस्ता विश्व विख्यात हिराहरू पनि चोरी भएको मिथक कथा कन्टिर–बाबूले पढेका छन् ।
कन्टिर–बाबूलाई लाग्छ– संसारमा चोर नै एउटा त्यस्तो प्राणी होला, जो न देउतासँग डराउँछ, न कानुनसँग, न प्रहरीसँग । डराउँथ्यो भने त त्यो चोर हुने पनि थिएन ।
सन्दर्भ सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी मन्दिरमा भएको चोरीसँग सम्बन्धित छ । भगवतीको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भयो, सोमबार बिहान चोर पक्राउ परयो, सामान पनि बरामद भयो ।
कन्टिर–बाबू सानोमा मित्रहरूसँग चोर–पुलिस खेल खेल्दा भन्ने गर्थे– चोर आया चोरी किया, पुलिस आया पकड लिया । अर्थात् चोर्नेले चोर्यो, समात्नेले समात्यो । हिसाब बराबर भयो ।
यसमा प्रहरी सक्रियता प्रशंसायोग्य लाग्यो कन्टिर–बाबूलाई । उनी देउतासँग जोडिएको मात्र होइन, अरू–अरू अपराधका घटनामा पनि प्रहरीको सक्रियता यस्तै देख्न पाइयोस् भन्ने कामना पनि गर्छन् ।
तर यो घटनासँगै कन्टिर–बाबूको मनमा केही खास प्रश्नले आकार बनाएको छ । आखिर त्यो चोरले देवीको मुकुट चोर्न कुन आइडिया लगायो ? सधैँ भिडभाड भइरहने मन्दिर परिसरमा सम्साँझै चोरी गर्ने आँट त्यस चोरले कसरी गर्यो ? त्यो चोरीको घटनामा एक जना मात्रैको संलग्नता थियो कि एकभन्दा बढी सहभागी छन् ? त्यत्रो आम्दानी हुने मन्दिरमा अहिलेसम्म किन सिसिटिभी जडान नगरिएको हो ?
कन्टिर–बाबू आशा गर्छन्– प्रहरी अनुसन्धानका क्रममा उल्लिखित सबै प्रश्नका उत्तर आउलान् । सँगै अर्को उत्तर पनि अपेक्षित छ– आखिर चोरले चोरी किन गरेको हो ? ठूलो धन कमाउन, बेरोजगारीबाट त्राण पाउन वा कसैको उक्साहटमा ?




















