‘कठै यस्ता दिन पनि आए !’
चाइनाले अनुदानमा दिएको खोप लगाउन तातोघाममा लाइन लागेका बेला कन्टिर–बाबूले पछाडिबाट च्वास्स मन छुने बोली सुने । पछाडि दुई जना बुजुर्गहरू गफ गर्दै थिए ।
कन्टिर–बाबूले कान थापेर सुने । एक भन्दै थिए– हुँदा–हुँदा भूटान पनि हामीलाई हेप्ने भइसक्यो । अर्कोले छक्क पर्दै सोधे– कसरी ? के गरयो र भूटानले ?
कन्टिर–बाबूलाई सवाल–जबाफ रुचिकर लाग्यो । जबाफमा पहिलोले भने– सुन्नुभएन भूटानको कुरा ? नेपालले लिने हो भने भूटानले कारोनाविरुद्धको खोप दिने रे !
दोस्रोले प्रतिवाद गरे– ल, यस्तो महामारीका बेला एक छिमेकीले अर्को छिमेकीलाई मद्दत गर्छु भन्नु त राम्रै कुरा हो । यसमा दुखी किन हुनु ?
कन्टिर–बाबूलाई पनि लाग्यो– ठिक भने दोस्रोले । कोरोनाविरुद्धको खोप चीनले दिन हुने, भारतले दिन हुने तर भूटानले दिन नहुने ? आखिर ऊ पनि छिमेकी नै हो !
पहिलोले आफ्नो भनाइ कायम राख्दै भने– छिमेकी भन्दैमा कहाँ हुन्छ ! समाचार सुन्नु भएन … भूटानले त उब्रेको खोप पो नेपाललाई दिन लागेको रे ! हामीभन्दा कमजोर ठानिएको भूटानले आफ्ना सबै जनतालाई खोप लगाइसकेर उब्रियो भन्छ । हामीले हेर्दाहेर्दै ऊ खोप छेलोखेलो भएर छिमेकीले सहयोग गर्ने अवस्थामा पुगिसक्यो । हामी कहाँ छौँ ? हाम्रा नेताले त पैसा दिएको कोभिसिल्ड खोप पनि ल्याउन सकेनन् । विचरा दोस्रो लटमा खोप लगाउने बूढाबूढीले दुई महिना बित्न लाग्यो तर अहिलेसम्म दोस्रो मात्रा लाउन पाएका छैनन् । कहिले लाउन पाउँछन् त्यो पनि टुङ्गो छैन ।
ती बुजुर्गका कुरा कन्टिर–बाबूलाई नाजायज लागेन । हाम्रै नेताका कारणले यो अकल्पनीय अवस्था आएको भन्नेमा कन्टिर–बाबू सहमत छन् । नेतृत्वले समयमै व्यवस्थापन सचेतना देखाएका भए आज यो भिक–मग्गा परिस्थिति आउने थिएन भन्नेमा उनको तर्क कन्टिर–बाबूलाई चित्तबुझ्दो लाग्यो ।
यसबाहेक कोरोना महामारी व्यवस्थापनका सवालमा भूटानले जित्नु नेपाली नेता तथा प्रशासकका लागि कुरीकुरी लाग्नुपर्ने कुरा नै हो । यसमा पनि कन्टिर–बाबू सहमत छन् । तर ती बुजुर्गको एउटा कुरामा भने कन्टिर–बाबूको विमति रह्यो ।
भूटानले दिएको सहयोग के लिनुभन्ने यदि उनको आसय हो भने कन्टिर–बाबूको यसमा चाहिँ नोट अफ डिसेन्ट छ । सहयोग भनेको सानो–ठुलो जस्तो भए पनि सर्तरहित हो भने लिन हिचकिचाउनु हुँदैन । झन् यो महामारीका बेला खोपको कुरा त मागेरै भए पनि लिनुपर्छ ।
उता ती बुजुर्गहरू गफ गर्दै थिए । यता आफ्नो पालो आएकाले कन्टिर–बाबू खोप लगाउने कोठामा छिरे ।
घर फर्किँदै गर्दा कन्टिर–बाबू सोच्दै थिए– जसरी भए पनि जनताको जीवन रक्षाको सवाल अहिलेको प्राथमिकतामा हुनुपर्छ । यदि भूटानजस्तो सानो देशले दिएको कुरा किन लिने भन्ने लागेको हो भने हामीले भुटानी जनतालाई त्यत्रो वर्ष शरण दिएर गुन लगाएको साटो मान्दा पनि भयो ।
जे भए पनि खोप चाहियो । दसैँअघि नै सबैलाई लगाइसक्नु परो । भूटानले त यतिछिटो खोप व्यवस्थापन गर्न सक्छ भने हामी किन सक्दैनौँ ?




















