जमाना बदलियो भन्छन् । कहाँ र केमा बदलिएको रहेछ ? कन्टिर–बाबूले अझै राम्ररी भेउ पाउन सकेका छैनन् । अझ सामाजिक संरचना र व्यवहारका सन्दर्भमा त मानिसको व्यवहार अझै उस्तै देख्छन् कन्टिर–बाबू । त्यसो त यस्तो व्यवहार कहिलेकाहीँ भाषाको प्रयोगमा पनि भर पर्ने कन्टिर–बाबूको मत छ ।
कुरा हिजो–अस्तिको हो । सार्वजनिक रूपमा लैङ्गिक समानताका पक्षधर एक मित्रलाई बातचितका क्रममा कन्टिर–बाबूले सोधे– तपाई पत्नीलाई के भनेर सम्बोधन गर्नुहुन्छ तँ, तिमी, तपाई ?
उनले एकछिन पनि नबिराई भने– यो पनि सोध्ने प्रश्न हो र म त तँ भन्छु नि ! तिनकी पत्नी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन् । उनले सार्वजनिक रूपमै पत्नीलाई ‘ओइ यता आइज !’ भनेर बोलाएको सुनेपछि कन्टिर–बाबू ती मित्रलाई एक छेउमा बोलाएर सवाल–जबाफ गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।
कन्टिर–बाबूले मित्रलाई फेरि सोधे– अनि भाउजूले तपाईलाई के सम्बोधन गर्नुहुन्छ नि ? उनको सहज उत्तर थियो– के भन्नु नि, हजुर भन्छे ।
त्यसो त यो नमिल्दो सम्बोधन नेपाली समाजमा परम्परादेखि चलिआएको हो । झट्ट सुन्दा खासै केही नलाग्न सक्छ । तर विचार गरियो भने सम्बोधनको यो भेदलाई लैङ्गिक असमानताको एक उदाहरण मान्न सकिन्छ, जुन नजानिँदो ढङ्गले समाजमा विद्यमान छ ।
कन्टिर–बाबूले ती मित्रलाई फेरि सोधे– तपाई जत्तिको कुरा बुझ्ने व्यक्तिले यस्तो असमान सम्बोधनलाई बढावा दिन मिल्छ ?
उनले भने– यसमा उप्ठेरो के छ ? मैले त उनलाई मायाले पो ‘तँ’ भनेको हुँ । कन्टिर–बाबूको प्रश्न थियो– ए त्यसो भए भाउजूले तपाईलाई माया गर्नुहुन्न रहेछ, त्यसैले हजुर भन्नुहुँदो रहेछ है ? अनि कि भाउजूले पनि त्यही मायाको कारण देखाउँदै तपाईंलाई ‘तँ’ भन्नुभयो भने कस्तो लाग्छ ?
ती मित्रले केही भन्न सकेनन् । उनको अनुहारको भाव हेर्नलायक थियो । कन्टिर–बाबूको मत छ– परम्पराका नाममा जारी रहेका यस्ता अमिल्दा चलनहरू सुधार गर्दै, विभेदहरू घटाउँदै लानुपर्छ । तब न हुन्छ सभ्य समाज !
यो प्रसङ्गमा कन्टिर–बाबू मैथिली, खासगरी ब्राह्मण समाजमा अपवादबाहेक पत्नीलाई पतिले ‘आप, अहाँ’ आदि शब्दले ‘तपाई’ सम्बोधन गर्ने र पत्नीले पनि पतिलाई उही प्रकारको बराबरी सम्बोधन गर्ने चलन छ । यसलाई सकारात्मक उदाहरण मान्दै अरू समाजले पनि सिको गरे राम्रो हुने थियो भन्ने कन्टिर–बाबूको ठहर छ ।
प्रसङ्गवश ती मित्रसँगको यो कुराकानी यहाँ साभार गरेको सम्बन्धमा कन्टिर–बाबू भन्छन्– सरी मित्र, अन्यथा नठान्नुहोला । समाज सुधारका दिशामा तपाई–हामीबाट हुने थोरै पनि परिवर्तनले निकै ठूलो अर्थ राख्छ । आखिर तपाई–हामी सबैलाई थाहा, संसार बदल्नु छ भने सुरुवात आफैँबाट नगरी हुँदैन !




















