३९औँ स्मृति दिवसका दिन नेपाली काङ्ग्रेसका संस्थापक तथा आदरणीय नेता बिपी कोइराला सम्झेर कन्टिर–बाबू आज बिहानैदेखि भावुक बनेका छन् ।
बिपीका सच्चा अनुयायी भन्नेले उनलाई बुझेर–सम्झेर कति अनुकरण–अनुशरण गर्न सकेका छन् ? त्यो त यकिनका साथ भन्न सकिँदैन तर कन्टिर–बाबू एउटा कुरा भने ठोकुवा नै गर्छन्– काङ्ग्रेसका अनेक तह र थरिका नेताले बिपीको नामको दोकान भने खोलेका छन् ।
कन्टिर–बाबूको बुझाइ छ– अरू दिन त्यो दोकानमा ताला झुन्डिने गरे पनि मुखैले सही आज भने सजाएर राख्ने प्रयास गरेको पाउन सकिन्छ ।
वर्ष दिन मतलब नगर्ने अनि एकदिन फूल–अगरबत्ती चढाउने ‘सच्चा’ अनुयायीको कच्चा प्रवृत्ति देखेर दिक्क मान्दै कन्टिर–बाबू भन्छन्– हाय रे नेपाली समाज ? कहिले सुध्रिने होला ?
बिपी राजनीतिक नेतामात्र होइनन् । विचारक, दार्शनिक र समाज सुधारक पनि हुन् । तर आफूलाई सच्चा अनुयायी भनेर नथाक्ने कतिले बिपीलाई यस रूपमा बुझेका छन् र उनको अनुशरण गरेका छन् ? यो निकै विचारणीय प्रश्न रहेको कन्टिर–बाबूको धारणा छ ।
कन्टिर–बाबूले कस्तासम्म नेता भेटेका छन् भने मुखले चाहिँ बिपीको नाम जप्ने तर व्यवहारमा बिपीको सिद्धान्त र विचारको धज्जी उडाउँदै आफ्नो स्वार्थको रोटी सेक्ने । वास्तवमा बिपीको पार्टीमा अहिले त्यस्तैको नै हालीमुहाली छ ।
त्यसो त बिपीले यस्तो दिन आउँछ भन्ने कल्पना पहिल्यै गरिसकेका थिए । ‘पार्टीमा सुकिलामुकिलाहरू हाबी हुनेछन् । इमानदार कार्यकर्ताहरू पाखा लगाइने छन्,’ भन्ने बिपीको भनाइ कन्टिर–बाबू बेला–बेला सम्झिन्छन् ।
कन्टिर–बाबूको मनमा कुम्हालेको घुम्ने चक्काजस्तो एउटा कुरा बडा जोडले नाचिरहेको छ– बिपीले यस्तो दिन आउँछ भने । नभन्दै त्यस्तो दिन दुरुस्त आयो पनि । तर यस्तो दिन कहिले जान्छ र इमानदार कार्यकर्ताले न्याय तथा सम्मानको अनुभूति गर्न पाउने दिन कहिले आउँछ भनेर किन स्पष्ट ढङ्गले भनेनन् ?
प्रजातान्त्रिक समाजवाद अवधारणाको व्याख्याता बिपी कोइरालाको स्मृति दिवसमा विनम्र श्रद्धासुमन अर्पण गर्दै कन्टिर–बाबू मनको कुरा मातृभाषा मैथिलीमा भन्छन्– जाऊ यौ बिपी–बाबू, ई बात स्पष्ट नही कक आहाँ निक काज नही केलौ । (यो कुरा स्पष्ट नगरेर बिपी–बाबू तपाईले राम्रो काम गर्नुभएन ।




















