खप्रओलाई विस्थापित गरी सत्तासिन हुन पुगेका प्रधानमन्त्री शेबदेलाई कन्टिर–बाबूले सञ्चारका विभिन्न माध्यमका साथै भेटेरै पनि बधाई दिएका छन्, कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
कन्टिर–बाबूजस्तालाई अरू के नै चाहिएको छ र ? बस् आत्मसम्मान न हो । अलिकति ‘रेस्पोन्स’ न हो । कन्टिर–बाबू यसै मानेमा खुसी छन् कि उनले चार वर्षपछि बालुवाटार टेक्ने अवसर पाए । तर खप्रओको पूरै कार्यकालभरि कन्टिर–बाबूजस्ताले बालुवाटार कहाँ छ भन्ने कुराको अनुभूतिसमेत गर्न सकेका थिएनन् ।
प्रश्न त स्वाभाविक रूपले उठ्छ, आखिर किन ? तर यसको ‘दुई–शब्द’मा भनिने खालको उत्तर कन्टिर–बाबूसँग छैन । जोसँग छ तिनले उत्तर दिन आवश्यक ठानेनन्, ठान्दैनन् ।
तर रात गयो, बात गयो । यसमा कन्टिर–बाबूलाई खासै चित्त दुखाइ छैन । कारण तपाईलाई पनि थाहै छ ओरालो लागेको मृगलाई जेले वा जसले खेदे पनि कन्टिर–बाबू खेद्न अघि सर्दैनन् । यो उनको नानीदेखिको बानी हो ।
तर यो बालुवाटार प्रवेश प्रकरणको तुलनात्मक दृष्टान्त यहाँ प्रस्तुत गरेर कन्टिर–बाबूले राज्य वैचारिक रूपमा कतिसम्म आग्रही हुन सक्छ भनेर आफ्नो अनुभवमात्र बाँड्न चाहेका हुन् ।
खप्रओले आफ्नो कार्यकालमा सञ्चारकर्मी र पत्रकारसँग वैचारिक रूपमा पूरा–पूरा रिसिबी साँध्ने र सम्पादकलाई मुटु नभएको भन्दै पटक–पटक होच्याउने काममात्र गरेको कुरा कसैबाट लुकेको छैन । सायद यही कारण हो, कन्टिर–बाबूजस्ता अनेकले साढे तीन वर्ष बालुवाटार टेक्ने अवसर नपाएको । यसले अरूको त केही बिग्रेन, खप्रओकै ‘इमेज’ प्रभावित भयो भन्ने कन्टिर–बाबूको ठम्याइ छ ।
के गर्नु तित्राको मुखै वैरी भन्छन् । लागेको कुरा सोझै पस्किँदा कसै–कसैलाई अपच हुन सक्छ । कसै–कसैको चित्त दुख्न सक्छ । त्यस्ताप्रति भने कन्टिर–बाबूको क्षमायाचना छ ।
सँगसँगै कन्टिर–बाबूको विशेष आग्रह छ– शेबदेले यस्ता कुराबाट सिक्नु जरूरी छ । पूर्ववर्तीले गरेका गल्ती पक्कै पनि शेबदेले दोहोर्याउन हुन्न ।
अरे यार प्रधानमन्त्री भनेका त राज्यको सबै तह–तप्काका अभिभावक हुन् । उनले कुनै पनि आधारमा कसैप्रति भेदभाव गर्न मिल्दैन । बालुवाटार वा सिंहदरबारबाट हिजो यस्तै गल्ती भयो । के भविष्यमा पनि ‘नजिर’ भन्दै विगतका गल्तीलाई निरन्तरता दिनु उचित हुन्छ ?
बाँकी त शेबदे आफैँले जान्ने कुरा हो । कन्टिर–बाबू यसबारे बढी बोल्ने मुडमा छैनन् ।




















