जय बम शङ्कर भोले, कर्तुतले लोकतन्त्र डोले । अलख निरञ्जन !
कन्टिर–बाबूले यसरी अलख जगाउन खोजेको तीन दिन भइसक्यो । तपाईहरूलाई अचम्म लाग्ला कन्टिर–बाबूले अलख निरञ्जन ! भन्नुपर्ने स्थिति चाहिँ किन आयो त ?
अरे यार कुरो त जगजाहेरै छ, लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि कन्टिर–बाबू लोकतन्त्र रक्षाका लागि बाबा शङ्करलाई नपुकारी गरुन् पनि के ?
कन्टिर–बाबूको प्रश्न छ– शङ्करलाई चिन्न त चिन्नुभयो नि ? कस्तो नचिनेको ? अरे तिनै लुम्बिनीवाला शङ्कर, जसले मध्यरातमा प्रदेशसभाको अधिवेशन अन्त्य गरी भोलिपल्टै अध्यादेशबाट बजेट ल्याए । अचम्म त के छ भने ती दुवै काम उनले लोकतन्त्रको नाममा गरे, जो कि वास्तवमा लोकतन्त्रविरोधी हर्कत हो ।
यस आधारमा लोकतन्त्र पक्षधरले लुम्बिनी प्रदेश सरकारको सो कामलाई लोकतन्त्रविरोधी, संविधानविरोधी, सङ्घीयताविरोधी हो भन्ने निष्कर्ष निकाले भने त्यसलाई अस्वाभाविक मान्न मिल्दैन ।
अरे यार यस्तो पनि हुन्छ ? संसद् बोलाउने, बजेट पेस गर्ने, तर सोही दिन बजेट पारित गर्न नसक्दा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने ? कन्टिर–बाबूको प्रश्न छ– जय बम–बम भोले, जय शिव शङ्कर … यो कस्तो संसदीय व्यवस्था हो ? यो कस्तो लोकतन्त्र र सङ्घीयता हो ?
हुन त कन्टिर–बाबू लुम्बिनीका शङ्करबारे धेरै टिप्पणी गर्न चाहन्नन् । यिनले आफूलाई ओल्बाको सच्चा अनुयायीमात्र होइन, वास्तविक उत्तराधिकारी पनि ठान्छन् भन्ने कन्टिर–बाबूले सुनेका छन् । व्यवहार र कार्यशैली हेर्दा हो जस्तो पनि लाग्छ । यिनको पनि ओल्बाको जस्तै मुखमा लोकतन्त्र ,कोखमा अधिनायकवादी सोच रहेछ । लोकतन्त्रको दुहाई दिन पनि नछोडने, हिटलरी शैली पनि लादिरहने !
कन्टिर–बाबूको सल्लाह छ– लोकतन्त्रलाई धरापमा पारेर अधिनायकवादी हुन खोज्दा ओल्बाको हविगत के भयो ? कम्तीमा त्यसलाई स्मृतिमा राखेर चेत्ने कि !
जय–जय बम भोले ! जय शङ्कर ! अलख निरञ्जन !



