कन्टिर–बाबूले प्रधानमन्त्रीबाट निवर्तमान भने पनि पूर्व भने पनि उनै ओल्बाको बालुवाटार बहिर्गमन प्रकरणबारे काठमाडौँ सहरमा बडो चर्चा सुनिरहेका छन् । चर्चाको क्रममा कसै–कसैले ओल्बाको बालुवाटार बहिर्गमनलाई सन्त नेता किसुनजीसँग पनि जोडेर हेरेको सुनेर कन्टिर–बाबू आश्चर्यचकितम् भएका छन् ।
यस तुलनालाई कसरी ठीक ठहरयाउने ? कन्टिर–बाबू बडो असमञ्जसमा छन् । अरे कहाँ राजा भोज र कहाँ गङ्गु झेली ! पूर्वेली गाउँले भाषामा भन्दा कहाँको बिन लादेन, कहाँको विष्णु मादेन ! कुनै कोणबाट पनि तुलना गर्न मिल्दैन ।
एउटा सुराही, छाता र ट्याम्को लिएर प्रधानमन्त्रीका रूपमा बालुवाटार प्रवेश गरेका किसुनजी पदबाट हटेपछि तिनै सामग्रीमात्र लिएर बालुवाटारबाट बाहिरिएको कुरा जगजाहेर छ । यता ओल्बा भने राजसी सान–शौकत, तामझामका साथ लावालस्करसहित विजेता शैलीमा बालुवाटारबाट बाहिरिएको कुरा अहिले ट्रोलको विषय बनेको छ ।
त्यैट्, कत्रो हिम्मत ! इतिहासमै नभएको जगहँसाइको पात्रबन्दा पनि रतिभर ग्लानि छैन ? खैर, यसमा कन्टिर–बाबूको खासै गम्भीर टिप्पणी छैन । खुसी हुने मानिसको आफ्नो तरिका र माध्यम हुन्छ । ओल्बा यही तरिकाले खुसी हुन्छन् भने कसैले किन टाउको दुखाउनु ?
हिङ नभए पनि मसँग हिङ बाँधेको टालो छ, सुँघ–सुँघ भन्थ्यो रे उहिले एउटा । ओल्बाको पारा पनि करिब–करिब त्यस्तै देख्छन् कन्टिर–बाबू ।
बालुवाटार बहिर्गमनपछि बालकोट पुगेर बार्दलीबाट ओल्बाले हात हल्लाइ–हल्लाई माकुनेलाई सरापेको र देखाएको तुजुक पनि कम उल्लेख्य छैन । यसमा कन्टिर–बाबूको टिप्पणी छ– खिसियानी बिल्ली खम्बा नोचे । अर्थात् क्षुब्ध बिरोलोले खाँबो चिथोर्छ ।
कन्टिर–बाबूको चासो अर्को पनि छ । अब ओल्बाले के गर्लान् ? उनका समर्थकहरूले सार्वजनिक रूपमै ‘अरू कुरा जान्दैनौँ, अदालतको फैसला मान्दैनौँ’ भनेको भिडियो फुटेज मिडिया र सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती छ ।
कन्टिर–बाबूको प्रश्न छ– यदि अदालतको फैसला नमान्ने हो भने के ओल्बा र उनी समर्थक सांसदहरूले पुनःस्थापित संसदको सदस्य पद त्याग्लान् त ? पुनःस्थापित संसदमा गएर हाजिर भएबापत पाउने सरकारी सेवा–सुविधा लिन्न भन्लान् त ?
कन्टिर–बाबू सोचिरहेका छन्– एकातिर त्यही ‘अदालतले दिएको’ संसद् हुने, सेवा–सुविधा लिने, अर्कोतिर अदालतको विरोध गर्ने ? यो त अमिल्दो कुरामात्र होइन, अनैतिक कुरा पनि हो ।
यसै सन्दर्भमा कन्टिर–बाबूलाई कविताको दुई हरफ ताजा–ताजा फुरेको छ–
रुचि पटक्कै छैन तर भाग्यले जुरेको कुरा खान्छौँ !
फैसला मान्दैनौँ तर पुनःस्थापित संसद् जान्छौँ ।
कन्टिर–बाबूको यो छोटकरी कविता कस्तो लाग्यो तपाईलाई ? यसो कुनै माध्यमबाट जानकारी गराउनुहोला ।



