हिन्दी सिनेमाको एउटा चर्चित गीत छ– कहीँ दीप जले कहीँ दिल ! कन्टिर–बाबू आज बिहानैदेखि यो गीत एकतमासले गुनगुनाइरहेका छन् । उनी कोरोनाले उँधोमुन्टो लगाएको देशको अवस्था देखेर बडो चिन्तित छन् र देशको अवस्थालाई उक्त हिन्दी गीतसँग तुलना गर्न खोजिरहेका छन् ।
यसै सन्दर्भमा कन्टिर–बाबूले तरोताजा कविताको दुई लाइन कथेका छन्–
बादलले, बादलको सयर गर्दै हेटौँडा यात्रा गरे ।
कोरोना परीक्षणको लाइनमा बसी तिनले मृत्यु–यात्रा गरे !
कन्टिर–बाबूको कविताका यी दुई पङ्क्ति यहाँलाई कस्तो लाग्यो ? यसमा हरेकको आ–आफ्नो विचार हुनसक्ला । तर कन्टिर–बाबूलाई लाग्छ, यसको भाव बडो गम्भीर छ ।
कविताको पहिलो पङ्क्तिमा उल्लेख गरिएको बादल सक्कली बादल होइनन्, नक्कली बादल हुन् । सर्वहारा क्रान्तिका नायक मानिने हाम्रा महान् तथा क्रान्तिकारी गृहमन्त्री हुन्, जो राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा हेलिकोप्टर चढेर आकाशको सयर गर्दै हेटौँडा पुगेका थिए ।
कविताको दोस्रो पङ्क्तिमा भएको भाव अहिले नेपाली जनताले बेहोर्नु परिरहेको दयनीय अवस्थासँग सम्बन्धित छ । कोरोनाको परीक्षण र उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने अवस्था आउन नदिने दाबी गरिरहेको सरकारका गृहमन्त्री हेलीमा सयर गरिरहेकै बेला नेपालगन्जमा कोरोना परीक्षणका लागि लाइनमा बसिरहेका एक जनाको मृत्यु भयो ।
कन्टिर–बाबू देशको यो भेदभाव र विषम अवस्था देखेर किङ्कर्तव्यविमूढ छन् । अझै आफूलाई सर्वहारा कमनिस्ट नेता भनेर नथाक्ने व्यक्तिहरूको कथनी र करनी देखेर त कन्टिर–बाबूलाई बहुतै ताज्जुब लागेको छ ।
अति सर्वत्र वर्जित मानिन्छ । यो त यस्तो अवस्था भयो कि कोही खाँदा–खाँदा छादेर, पखाला लागेर मरिरहेका छन्, कोही भने खाना नपाएर भोकभोकै मरिरहेका छन् ।
यति बेला सुविधाभोगी सुकिलामसकला सर्वहाराको चालामाला देखेर कन्टिर–बाबूमात्र होइन, अधिकतर जनता वाक्क–दिक्क भइसकेका छन् । ठाउँ–कुठाउँ उल्टी हुनमात्र बाँकी छ । यस सम्बन्धमा कन्टिर–बाबू योभन्दा बढी टिप्पणी गर्न चाहँदैनन् ।
koshionline




















