कोरोनाको सम्भावित दनकलाई दृष्टिगत गरी कन्टिर–बाबू बहुत परेसान छन् । चस्माभित्रको उनको एक जोडी आँखा शून्यमा नियाल्दै छन् । तर उनले गर्ने के हो ? जो जिम्मेवार छन्, उनीहरू गम्भीर नभएको देख्दा कन्टिर–बाबूलाई बडो औडाहा भइरहेको छ ।
जिम्मेवार भनाउँदाहरुको गैरजिम्मेवार रवैया कन्टिर–बाबूलाई खपिनसक्नु भा’को छ । मुख्य जिम्मेवारहरू आफैँ नियम बनाउँछन्, आफैँ उल्लङ्घन गर्छन् । आफैँ भेला, सभा, सेमिनार, उद्घाटन गर्न भिड जम्मा पार्छन्, अरूलाई २५ जनाको नियम लगाउँछन् । आफैँ धामी बन्छन्, आफैँ छौँडा हुन्छन् ।
कतिसम्म भने आफू मास्क लगाउँदैनन्, प्रेसलाई चाहिँ मास्क नलगाउनेको समाचार कभरेज नगर्न उर्दी जारी गर्छन् । अरे, प्रेसले गरोस् के ? जब तिनै उर्दी जारी गर्नेहरू नै कोरोना प्रोटोकलको धज्जी उडाइरहेका छन् । अब यी धज्जी उडाउनेको गतिविधि प्रेसले कभरेज गरून् कि नाइँ ? सकस छ हजुर, प्रेसलाई नि सकस छ ।
कन्टिर–बाबूका अनुसार कोरोना कहरबाट नेपाल थिलथिलो हुने सङ्केत देखिइसक्यो तर हामीकहाँको सरकार अझै सचेत देखिएन । अक्सिजनको जोहो भविष्यमा ठूलो चुनौती बन्न सक्ने कन्टिर–बाबूको अनुमान छ । तर नेताहरू जनताको स्वास्थ्य, जीवन संरक्षणको सवाल छोडेर एक–अर्कालाई खुइल्याउन नै समय खर्चिरहेका छन् ।
यस सन्दर्भमा कन्टिर–बाबूलाई भारतको अवस्था हेरेर जान्न मन लागेको छ– नेपालमा दैनिक कति अक्सिजन उत्पादन हुन्छ ? यहाँ यस्ता कतिवटा प्लान्ट छन् ? सरकारसँग यस्ता नयाँ प्लान्टका योजना छन् कि छैनन् ?
यस्तोमा कन्टिर–बाबूको निष्कर्ष छ– ए हजुर, अहिले फैलिइरहेको कारोना नेपाली भेरियन्ट होइन । बेलायती भेरियन्टले अम्बा, बेसार, थाली र ताली मान्दैन । यसका लागि विधिवत् उपचार नै चाहिन्छ । अस्पताल नै चाहिन्छ । औषधि नै चाहिन्छ । अक्सिजन नै चाहिन्छ । खोप नै चाहिन्छ ।
कन्टिर–बाबूको आग्रह छ– लौ न सरकार, कानमा कोचेको कपास निकाल । टालिएका आँखा उघार । स्थिति नियन्त्रणबाहिर जाने बेला भइसक्यो ।
koshionline


