‘चल सन्यासी मन्दिर मे । तेरी चिम्टी मेरी चुडियाँ साथसाथ खनकाएँगे ।’
हिन्दीको चर्चित सिनेमा सन्यासीको सदावहार गीतका पंक्ति हुन् यी । कन्टिर बाबू यो गीतलाई नेपालको पछिल्लो राजनीतिक अवस्थासँग तुलना गर्छन् । हिजो जङ्गलमा बसेर ‘जङ्गली’ राजनीति गरेको प्रचन्न–बाउरामको अवस्था त्यही माथि उल्लेखित गीतको जस्तो भएको कन्टिर बाबूको ठम्याइ छ ।
प्रचन्न–बाउराम दुबैको हालत अहिले ‘चोक्टा खान गा’की ‘ झोलमा डुबेर मरी’ जस्तो भएको छ भन्दा कन्टिर बाबू अस्वाभाविक ठान्दैनन् । प्रचन्नलाई ओल्बाले थाङ्नामा सुताएजस्तो देखिएको छ भने बाउरामलाई मान महन्थ–रजिन्दरले भित्तामा अचेट्न खोजेजस्तै छ ।
अरे यार, ओल्बाको सरकारलाई समर्थन गर्ने सम्बन्धमा महन्थ–रजिन्दरले जसपाको वार्ता समिति गठन गरेछन् । विचरा बाउराम–ओपिन्दरलाई पत्तै छैन रे ! कन्टिर बाबुलाई त यो सुनेर ताज्जुब लागिरहेको छ, विचरा बाउराम–ओपिन्दरलाई कस्तो लागिरहेको होला ?
तैट, यस्तो पनि हुन्छ ? यो साँचो हो भने त जसपामा पहिरो जाने निश्चित छ । अदालतको फैसलापछि नेकपा एमाले र माओवादी दुई फ्याक भएजस्तै हालको वार्ता समितिको विवादले विगतको राजपा र सङ्घीय समाजवादीकै अवस्था नआउला भन्न सकिन्न ।
ओल्बाले त चाहेकै यही हो नि– तोडफोड गर– राज गर । यसै रणनीतिका आधारमा तत्काललाई संसद् स्थगन गरेर दल विभाजनसम्बन्धी अध्यादेश आएछ भने कन्टिर बाबू आश्चर्य मान्ने मूडमा छैनन् । यसो भएछ भने प्रचन्न–बाउराम एकै ठाउँ बसेररउभिएर चिम्टारचुरा बजाउन थालेछन् भने आश्चर्य हुने छैन । कि कसो ?
साभार : koshionline




















