देशको पछिल्लो राजनीतिक अवस्था र त्यसले सिर्जना गरेको परिणामबाट कन्टिर–बाबू बडो चिन्तित छन् । संसद् विघटनका कारण लोकतन्त्र, सङ्घीयता, समावेशीपनजस्ता विषयमाथि त चुनौती थपिएको छ नै, हालको परिस्थितिले मुलुक एकपटक फेरि अन्तहीन द्वन्द्वमा फस्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।
वर्तमानको अदूरदर्शी राजनीतिले आम जनतालाई औपचारिक र अनौपचारिक रूपमा विविध कित्तामा विभाजित गरेको छ । हुँदाहुँदा अदालतका सम्बन्धमा पनि प्रश्न उठाउन थालिएको छ । यो पनि वर्तमान राजनीतिकै उपज हो भन्ने कुरामा कन्टिर–बाबूलाई शङ्का छैन ।
विगतमा प्रधानन्यायाधीशविरुद्ध लागेको नारा कन्टिर–बाबूले मर्निङ–वाक गर्ने क्रममा टुँडिखेल वरपर नसुनेका होइनन् । तर त्यो कुनै व्यक्तिप्रति लक्षित राजनीतिक स्टन्ट र असन्तुष्टि थियो, अदालत एवम् न्यायिक सर्वोच्चताप्रतिको अनादर थिएन भन्ने कन्टिर–बाबूको ठम्याइ हो ।
अहिलेको कुरो अलि गम्भीर छ । अदालतप्रति अहिले जति विवाद र अविश्वासको अवस्था विगतमा कहिल्यै भएको थिएन भन्ने कन्टिर–बाबूको टिप्पणी छ । टिप्पणी सही होला नहोला भविष्यले देखाउला ।
कुरा उठ्छ, वर्तमान विवादित र विभाजित राजनीतिका सन्दर्भमा अदालत कहाँनिर जोडियो रु अदालतप्रतिको विश्वासमा शङ्का गर्नुपर्ने कारण किन रु निश्चय पनि यी प्रश्नबारे अदालत गम्भीर हुनु जरुरी छ । आफ्नो निस्पृहता प्रमाणित गरेर जनतामा अदालतप्रतिको आस्था र विश्वास प्रवर्धन गर्नु अपरिहार्य भएको कन्टिर–बाबूलाई लाग्छ ।
अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दासँग जोडिएको एउटा कागज सरकारले अदालतबाट लिएर गएको र न्यायाधीशहरूले यसै मुद्दाको एक पक्षसँग भेटेको भन्ने चर्चापछि कन्टिर–बाबू के बोल्ने नबोल्ने भन्ने पेसोपसमा छन् ।
यस्तो पृष्ठभूमिमा नेपालमा अदालत र न्याय प्रणाली ‘सेटिङ’मा चलेको आभास हुन थालेको छ भनी केही राजनीतिक विश्लेषक र कानुनका विद्यार्थीले सार्वजनिक प्रतिक्रिया दिएका छन् । कन्टिर–बाबूको चिन्ताको विषय यहाँनेर छ ।
कन्टिर–बाबूका अनुसार, यी सन्दर्भ सत्य हुन भने, यो उचित होइन । निश्चय पनि यसले अदालतप्रतिको जनविश्वास घटाउँछ । होइन यी कुरा असत्य हुन् भने खोजीनीति गरेर यस्ता अफवाह फैलाउनेमाथि कारबाही गरियोस् र अदालतप्रतिको आस्था जोगाउने कार्य गरियोस् । कन्टिर–बाबू सोध्दछन्– तर के यसो गर्नु सम्भव छ रु
कन्टिर–बाबू बूढापाकालाई उद्धृत गर्दै भन्छन्– मानिसका लागि राजनीतिको गन्ध बाघले मानिसको रगतको स्वाद चाखेजस्तै हो । एकपटक मन–मस्तिष्कमा पस्यो भने त्यसको प्रभावबाट कहिल्यै मुक्त हुन सक्दैन ।
यस्तोमा बेला राजनीतिले लगाएको न्यायिक घाउमा अर्को एउटा ‘खिल’ पल्टिनसक्ने सम्भावनाबारेको चियागफ पनि कन्टिर–बाबूले सुनेका छन् । तर उनलाई राम्रो जानकारी छ– नेपालको अदालतले राजनीति गर्दैन ।
साभार : koshionline




















