अर्काको कुरा काट्ने, जथाभावी चियो–चर्चाे गर्ने कन्टिर–बाबूको बानी छैन । तर जब कुरा समाज र राष्ट्रको प्रतिष्ठाको विषय उठ्छ, जब सामान्य जनताले तिरेको करको दुरुपयोगको भएको सन्दर्भ उठ्छ, कन्टिर–बाबू चुप लागेर बस्न सक्दैनन् । उनलाई लाग्छ, चुप लागेर बस्नु पनि हुँदैन ।
कन्टिर–बाबूलाई थाहा छ, नेपालको सन्दर्भमा भारतको जिटिभीको दृष्टिकोण र भूमिका । नेपाललाई हेपेर, अपमानित गरेर पटकपटक ‘अनर्गल’ सामग्री प्रसारित गर्ने जिटिभी र चौधरी थरका कारिन्दा पत्रकारको नियतमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यिनै चौधरी हुन्, जसले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषय र नेपालको नक्साका सम्बन्धमा तथानाम सामग्री प्रसारित गरेका थिए । चीनको राजदूतसँग जोडेर अपमानजनक ‘इश्किया’ प्रकरण सम्पादन गर्ने पनि यिनै हुन् ।
कन्टिर–बाबूलाई आश्चर्य लाग्छ– आफ्ना कुरा राख्न ओल्बाले उनै लाल–बुझक्कडलाई किन रोजे ? दुनियाँमा अरू पत्रकार र च्यानल नै नभए जस्तो चौधरीलाई रातो कार्पेट कसरी ओच्छ्याए ? नेपाल आउने कुनै पनि विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० दिने क्वारेन्टाइन बसाइका लागि कुनै होटल बुक गर्नुपर्ने सरकारी फरमान भएको बेला यिनले चाहिँ साझै बालुवाटार प्रवेश कसरी पाए ?
कन्टिर–बाबूको अनुभवले भन्छ, मानिसलाई परख गर्नु, उसलाई जान्नु–बुझ्नु बडो कठीन छ– मुखमा राम नाम बगलीमा छुरा । यो मामलामा भने ओल्बा र चौधरी दुवैको मिलीभगत देखियो । प्रश्नोत्तर र प्रस्तुतिको शैलीमा भितरिया सेटिङ प्रष्टै छचल्कियो ।
अरे यार, आखिर कन्टिर–बाबूलाई पनि मिडियाको केही अनुभव छ । हो त्यही अनुभवका आधारमा कन्टिर–बाबू एउटा कुरा भन्न सक्छन्, चौधरीले सोध्ने प्रश्नबारे ओल्बालाई पहिले नै थाहा थियो । तर चौधरीको मनमा भने ओल्बाभन्दा बढी सगरमाथा नाचिरहेको रहेछ । बालुवाटारको मेजमानी भोलिपल्ट कालापत्थर पुगेर छादे । बरा ओल्बालाई थाहा–सुद्धि भएन ।
बालुवाटारमा चौधरीको खातिरदारीमा बिजुली पानी पनि मजैले चल्यो होला र त नेपाली हिमालयको हावा मिसिएको बिजुली पानी पचाउन सकेनन् । भोलिपल्ट आधार शिविर पुग्दा विचराको हालत खराब थियो । उदेकलाग्दो बडबडाहट । छादेको–छादै । सगरमाथामा भारतले दाबी ठोक्नुपर्छ रे ! के बकेको त्यो ?
कन्टिर–बाबूलाई उदेक त त्यसबेला लाग्यो जब यस्तो गम्भीर प्रकरणबारे नेपाल सरकारले कुनै टिप्पणी गर्न आवश्यक ठानेन । एउटा विदेशी सञ्चारमाध्यमले नेपालका बारेमा जथाभावी सामग्री प्रशारण गर्दा सरकारले सम्बद्ध देशलाई यसबारे सचेत गराउने कि नगराउने ? थोरथार कूटनीतिक समझ त कन्टिर–बाबूलाई पनि छ यार ।
कन्टिर–बाबूको आग्रह छ– यतिबेला भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले यो सम्बन्धमा नेपाली दृष्टिकोण त्यहाँका सरकारी मान्छेसँग राखुन् ।
साभार : koshionline




















