काठमाडौँ — पुत्र शोकले विह्लल रानीलाई सम्हाल्न राजा प्रताप मल्लले दुनियाँले यस्तै दु:ख भोग्ने गरेको देखाउन परिवारका सदस्य गुमाएका नगरवासीलाई आफ्नो दरबारअगाडिबाट झाँकी लिएर नगर परिक्रमा गर्न लगाएको कथा छ । यसरी रानीलाई खुसी पार्न बेढंगको पहिरन, बेथितिको मेकअप लगाएर गाईजात्राको सुरुवात भएको मानिन्छ ।
त्यसो त आफ्नो घरका परिवार बित्दा राजाले झाँकीमा बोलाएको भन्दै नगरवासीले व्यंग्यात्मक शैलीमा गाईजात्रा सुरु गरेको भन्ने कथा पनि सुन्न पाइन्छ । प्रताप मल्लको पालाभन्दा अगाडि पनि यो पर्व मनाइने गरेको छलफल बेलाबखत हुने गर्दछ ।
संस्कृतिविद् सत्यमोहन जोशी राजा प्रताप मल्लको समयदेखि यो पर्व सुरु भएको बताउँछन् । यो पर्व प्रताप मल्लको पाला अगाडिदेखि नै मनाइने गरको बताउँने हास्यकलाकार शैलेन्द्र सिम्खडा व्यंग्य गर्न भने प्रताप मल्लकै पालादेखि सुरु भएको बताउँछन् । नेवार समुदायले मनाउने गरेको गाईजात्रा डबलीमा मनाइन्थ्यो । अहिले भने डबली हुँदै रंगमञ्च र डिजिटल प्लेटफर्ममा अहिले व्यंग्य गर्न थालिएको छ ।


