गोरखा । ऐतिहासीक लिगलिगे दौडमा गोरखा प्रशासनले अंकुश लगाएको छ । २ संस्थाले फरक दिनमा दौडको आयोजना गरे लगत्तै गोरखा प्रशासनले दुवैलाई दौड नगराउन भनेको हो ।
प्रशासनले दुवै आयोजकलाई असोज २८ गते बुधबार पत्र काट्दै विपत्तिबाट सिर्जित समस्या र चुनौतिहरुको ब्यवस्थापन तर्फ केन्द्रित हुनु पर्ने भएकोले सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै दौड नगर्नु नगराउनु भनेर पत्र काटेको हो ।
परापूर्व कालमा गोरखाको लिगलिग कोटमा दौडेर जित्नेले १ बर्ष राजा हुन पाउने पराम्पराको थियो । सोही दौड र १ बर्षे राजा हुने परम्पारालाई साँकेतिक रुपमा स्थानिय लिगलिग कोट अभियानले ११औं पटकसम्म आयोजना गरेको थियो ।
०८० देखी पालुङटार नगरपालिकाले आफैले त्यसको पूर्ण स्वामित्व लिनेगरी दौडको आयोजना गर्ने निर्णय समेत भएको थियो । अभियानलाई बाईपास गरेर आयोजना गरेको दौड ०८० सालमा त गर्न सकेन सकेन त्यसको ३ बर्षसम्म पनि नगरपालिकाले आयोजना गरेको दौड विवादमा परेपछी प्रशासनले हस्तक्षप गरेको हो ।
हामीले तयारी पुरा गरेका थियौ तर प्रशासनले गर्न दिएन : अभियानका अध्यक्ष संजिव राना
विगत केही बर्षदेखी निरन्तर रुपमा लिगलिग दौड गरेर देश तथा विदेशमा समेत चर्चा पाएको लिगलिग कोट विकास अभियान ०८० सालदेखी अबरुद्व भएको दौड प्रतियोगिताको आयोजना गरेर अन्तिम तयारी हुदा जिल्ला प्रशासनल कार्यालयले रोक लगाएको अध्यक्ष संजिव रानाले बताए ।
उनका अनुसार यो दौडका लागि ६० जनाले फर्म भरेको थियो ।
अभियानले विगत ०६७ सालदेखी ०८० सालसम्म ११औं पटकसम्म दौडको आयोजना गर्दा स्वदेशी तथा विदेशीहरुले सहभागिता जनाएको थियो ।
दौडमा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता हुने गरेको थियो ।
दौडमा विवादको जड र प्रशासनको हस्तक्षप
०६७ सालदेखी ०८० सालसम्म निरन्तर रुपमा फुलपातीको अधिल्लो दिनमा आयोजना हुदै आएको दौडमा राजनैतिक अंकुश लगाउने गरी ०८१ सालमा पालुङटार नगरपालिकाले आफैले दौडको आयोजना गर्यो ।
दौडको पुरै स्वामित्व लिने गरी आयोजना गरेको १२औं लिगलिग अभियान र स्थानियको असहयोग पछी स्थगित गरियो ।
०८१ सालमा आयोजना गरेपनी कार्यक्रम गर्न सकेन । ०८२ जेनजी आन्दोलनको कारण देखाएर गरेन भने ०८३ मा आयोजना गरेको दौड प्रशासनले रोकेको हो ।
यस पटक पालुङटार नगरपालिकाले असोज २९ गते बिहीबार र अभियानले असोज ३० गते शुक्रबार दौडको आयोजना गरेको थियो ।
पालिका र अभियानले फरक २ मितिमा आयोजना गरेको प्रतियोगितामा द्वन्द हुन सक्नेभन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले हिजो मात्र दुवैलाई पत्राचार गरे प्रतियोगिता नगर्न भनेको हो ।
सुन र चाँदीबाट बनेको मुकुट थन्कियो
०८० सालमा अभियानले आयोजना गरेको ११औं लिगलिगे दौडमा प्रमुख अतिथीको रुपमा सहभागिता जनाएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दौड जित्नेलाई आकर्षक मुटुक दिने घोषणा गरे ।
सोही अनुसार गण्डकी प्रदेश सरकारको मातहतमा रहेको सामाजिक बिकास कार्यालयले यो बर्ष दौडमा जित हात पार्नेलाई मुकुट दिने गरी निर्माण सम्पन्न गरेको थियो । विवादका कारण स्थगित भएपछी अहिले मुकुट कार्यालयमा नै थन्किएर बसेको छ ।
प्रतियोगिता जित हात पार्नेले १ लाख नगद र सोही मुकुट लगाउन पाउथ्यो । हालै निर्माण गरिएको मुकुट भने यो दोस्रो दिनदेखी लिगलिग कोटमा नै पर्यटन प्रवद्र्वनका लागि प्रदर्शन गरेर राख्ने योजना गरिएको अभियानका अध्यक्ष रानाले जानकारी दिए ।
चेपेदेखी लिगलिगसम्म ३ इभेन्टमा प्रतियोगिता हुने गरेको थियो
सुरुका केही बर्ष गोरखा, लमजुङ र तनहुँको त्रिवेणी चेपेदेखी करिब १३ किलो मिटर दौडेर लिगलिगसम्म एकै प्रकारको प्रतियोगिता हुने गरेकोमा अभियानले त्यसलाई पृथक गरी ३ प्रकारको प्रतियोगिता गर्दै आएको छ ।
जस अन्तरर्गत खुल्ला पुरुषले मात्र चेपेघाट–ढिकीडाडाँ–ठाँटीपोखरी बजार–मगरगाउँ–छापथोक–तल्लो मालतीगरा–वढडाडाँ–साउनेपानी–बोहरागाउँ–मैबल–बिजुलीडाडाँ–खुल्ली चौतारा हुदै लिगलिग कोटको कोट कालिमा पुगेर समापन हुने गर्छ ।
स्थानियलाई पनि सहभागिता गराउने गरी सोही प्रतियोगिता भित्र छात्र तर्फको ३ किलो मिटर र साविक आँपपिपल, हर्मी, छोप्राक, पालुङटार र खोप्लाङ गाउँपालिकाका स्थानियलाई सहभागिता गराउने गरी (खुल्ला पुरुष ७०० लिगलिग दौड) को समेत आयोजना हुने गरेको थियो ।
दोस्रो र तेस्रो विधाका बिजेताले भने मुकुट लगाउन नपाए पनि नगद पुरस्कार सहित सम्मान गरीने गरेको थियो ।
दौडमा स्वदेशी तथा विदेशी सयौंको सहभागिता हुने र हजारौ दर्शकले अवलोकन गर्ने तथा स्थानिय खानाको प्रवद्र्वन समेत हुने गरेको प्रतियोगिता हुन नसक्दा लिगलिग कोटको साख गिर्न सक्ने पर्यटन विज्ञहरुको सुझाव रहेको छ ।
समाधानको उपाय :
स्थानिय तह त्यहाँ रहेको जनता र संस्थाको अभिभावक हो । उसले गर्ने जुन सुकै काम पनी संस्थानको समन्वय तथा स्थानियको सुझाव अनुसार गनुपर्ने हुन्छ ।
विगतदेखी भएगरेका राम्रा कामको प्रवद्र्वन गर्ने र अभिभावकको जिम्मेवारी निर्वाह गर्नु नगरपालिको दायित्व र जिम्मेवारी पनि हो ।
११औं पटकसम्म सफलता पूर्वक सम्पन्न भएको लिगलिगे दौडको पुरै स्वामित्व ग्रहण गर्नु पूर्व अभियानका अभियान्ता र स्थानिय संग सम्वय गर्नुपर्ने देखिन्छ ।
होइन भने दौडको जिम्मेवारी अभियानलाई नै दिने र त्यसको संरक्षकत्व नगरपालिकाले गर्ने हो भने आगामी दिनमा दौडले फेरी निरन्तरता पाउने र लिगलिग कोटको पर्यटन प्रवद्र्वन हुने निश्चित देखिन्छ ।



