बुधबार फेसबुकले अमेरिकी राष्ट्रपतिको एउटा फेसबुक पोस्ट हटाइदिएको छ।
फेसबुकले कोरोना भाइरससम्बन्धी गलत तथ्य पेस गरेको भन्दै पोस्ट हटाएको जनाएको छ।
फेसबुकले हटाएको उक्त पोस्टको भिडिओमा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाविरूद्ध बालबालिका लगभग प्रतिरोधी रहेको दाबी गरेका छन्।
सो भिडिओ उनले फक्स न्यूजलाई दिएको अन्तरवार्ताको एक अंश हो।
‘भिडिओमा मानिसहरूको एक समूह कोभिड-१९ प्रतिरोधी हुने गलत तथ्य छ, जुन हाम्रो कोरोना सम्बन्धी जानकारी नियमको विरूद्ध छ’, फेसबुकका एक प्रवक्ताले भने।
ट्विटरले पनि सो भिडिओ हटाएको छ। भिडिओलाई ट्रम्पको आगामी राष्ट्रपति निर्वाचन अभियानले पोस्ट गरेको थियो।
यसअघि पनि ट्वीटरले ट्रम्पका केही ट्विटहरूलाई गलत चिन्ह लगाइदिएको थियो।




















