‘खनी हो यामु’बाट गायिका तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन् । लोकपप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा । ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले माया पिरती, गाइने दाजै, ‘साँझको बेला’, ‘माया मनभरी’जस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् ।
बजारलाई पच्छ्याउँदिनन् तृष्णा, आफ्नै शैलीको गीत दर्शकमा पस्किरहन्छिन् । उनको सांगीतिक यात्राबारे रीना मोक्तानले गरेको कुराकानी :
भर्खरै बजारमा ल्याउनुभएको नयाँ गीत ‘आघुमै सालै त’को प्रतिक्रिया कस्तो आइरहेको छ ?
प्रतिक्रिया राम्रै छ अहिलेसम्म । अपेक्षा धेरै राखेको थिएनौं हामीले । किनभने यो अलिकति स्लो र सफ्ट गीत छ । त्यही भएर ह्वात्तै जान्छ भनेर धेरै अपेक्षा गरेको थिएन । ठिकै छ ।
चित्तबुझ्दो छ त?
अँ, चित्तबुझ्दो नै छ । अझै गीतहरु पनि गर्नुपर्ने बाँकी छन् । हामीले अहिलेको अवस्थाको लागि यस्तै गीत ठिक हुन्छ भनेर यो गीत ल्यायौं ।
गीतको रचना कसरी भयो ?
यो गीतको मुख्य शीर्षक ‘आघुमै सालै त’, टिपिकल नेपाली शब्द हो । मेरो आमा, बोजुहरु ‘आघुम साल’ भनेर बोल्नुहुन्थ्यो । मलाई नेपाली शब्द एकदम राम्रो लाग्छ । उहाँहरु अहिले पनि आघुम साल भन्नुहुन्छ, अर्को साल भन्नुहुन्न । यो गीतमा ‘कलकली बग्छ आँधीखोला’ भनेर प्रयोग भएको छ । हाम्रो पहाड घर स्याङ्जाको निकै चर्चित खोला हो आँधीखोला ।
भैरहवामा कक्षा ६ मा पढ्दा पहाड गएको थिएँ म । त्यतिबेला मैले घरमा बसेर जे देखें त्यही कुरा सोचेर रचेको गीत हो । साढे तीन वर्ष लाग्यो गीत पूरा गर्न । पहाड घर जाँदा पिँढीमा बस्थें म । पछाडिपट्टि आँधीखोला बग्थ्यो । त्यो खोलाको आवाज, हावा, डाँडालाई नै सम्झेर लेखें यो गीत ।
धेरै समय लागेछ है गीत लेख्न ?
कहिलेकाहीँ त्यस्तै हुँदो रहेछ । कतिपय कुरा मनपरिरहेको हुन्छ । पछि त्यसलाई गीतमा लेखिरहेको हुन्छु । मेरो ‘गाइने दाजै’ गीत गाइने दाइ देख्ने बित्तिकै घर आएर लेखेको हो । देख्ने बितिक्कै तुरुन्तै रचें त्यो गीत । यो ‘आघुमै सालै’ पहाडको सम्झनासँग जोडिएको छ । त्यो सम्झना मात्रै पनि होइन । त्यो गीत लेखेर अपुरो थियो, एक दिन घरको छतमा बसेर के शब्द लेखुँ भनेर सोचिरहेको थिएँ, डाँडाको बत्ती देखेर अर्को लाइन कोरें, ‘डाँडैको बत्तीहरु हेरिरहेछु ।’ साढे तीन वर्षमा त मैले यो गीत कति कोरें, कतिपटक शब्द काटें, कति चित्त बुझेन, कतिमा फिलिङ्स आएन । एक दिन गीत लेख्यो, दुई तीन दिनपछि गाउँदा मज्जा लागेन भने म समय लगाएर म थपथाप गर्छु ।
गीत फाइनल भयो भन्ने कतिखेर लाग्छ त ?
जुन गीत गाउँदा आफूलाई मज्जा लाग्ने हुन्छ नि, ‘गुज बम्प’ नआएसम्म म लेख्न रोक्दिनँ । बरु शब्द कोर्दै काट्ने गरिरहन्छु ।
भनेपछि हरेक गीतमा यस्तै अनुभव गरिन्छ ?
हो त्यसरी नै लेख्छु । कतिबेला त आँशु पनि झर्छ । मन पनि दुख्छ । ‘आघुमै सालै त’मा पनि लेख्ने बित्तिकै मन दुख्यो, आँशु झर्यो । भावनामा डुबेर गाउँदा आँशु झर्छ । (मुसुक्क मुस्कुराउँदै)
भिडियाे कुराकानी हेर्नुहाेस्


