काठमाडौँ । ‘भाइरल’ अर्थात् चर्चाको माध्यम बनेको छ सामाजिक सञ्जाल । अझ कला क्षेत्रमा त ‘भाइरल’ नौलो विषय नै होइन ।
भाइरल हुनु कतिपयका सुखदायक भएको छ भने कतिपयका लागि यो पीडादायी पनि बन्ने गरेको छ । सकारात्मक विषयमा भाइरल हुँदा मानिस खुसी हुन्छ भने नकारात्मक विषयसँग जोडिएर भाइरल हुँदा मानिसले पीडा महसुस गर्दछ ।
नेपाली संगीतिक क्षेत्रकै कुरा गर्ने हो भने बालगायक गायिका प्रेम परियार, कमला घिमिरेलगायतका लागि भाइरल सुखदायक भएको छ । एकपटक भाइरल भएकै कारण यी कलाकारको जीवनमा ठुलै परिवर्तन ल्याइदिएको छ ।
पछिल्लो समयका हिट गायक दुर्गेश थापाको जीवन नियाल्ने हो भने यो भाइरल सुख र दुःख दुवैको कारण बन्न पुगेको छ ।
गतवर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर एकाएक भाइरल भएका थिए दुर्गेश थापा । रातारात भाइरल हुँदा उनलाई नाम र दाम मिल्यो नै, यो क्षेत्रमा समेत दर्बिलो पाइला गाड्न उनी सफल भए ।
‘बिच्च बिच्च’मा गीतको केही महिनापछि उनले अर्काे गीत ल्याए ‘डन आयो डन..’ । यो गीतमा प्रयोग गरेका शब्दहरुको चौतर्फी आलोचना भयो । आलोचनाको कारणले नै सही, गीत रातारात हिट भयो र उनी फेरि भाइरल हुन पुगे ।
गीत भाइरल हुनु भनेको युट्युबमा गीतले धेरै दर्शक पाउनु पनि हो । गीतको चर्चासँगै आम्दानी पनि राम्रो भएका कारण दुर्गेश खुसी थिए ।
यता गीतको विवाद बढ्दै गएपछि प्रहरीले उनलाई पक्राउ समेत गर्यो । युट्युबबाटै गीत हटाउन लगाइयो र उनी छुटे । विवादित शब्दहरु झिकेर उक्त गीत उनले फेरि ल्याए । गीतबाट के हटेछ त भनेर दर्शकले फेरि गीत हेरे । अर्थात् शब्दहरु संशोधन गरेर दोस्रो पटक ल्याइएको गीत पनि हिट नै भयो ।
नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै दुर्गेशले अहिले दुईवटा गीत ल्याएका छन् । एक महिनाभित्रै ल्याइएका दुई गीत ‘बिच्च बिच्चमा २’ र ‘बिच्च बिच्चमा ३’ दुवै यतिखेर भाइरलजस्तै छन् । जसका कारण गीतले राम्रो ‘भ्यूज’ पाइरहेको छ ।
यी दुईमध्ये पनि ‘बिच्च बिच्चमा–३’ गीतको म्युजिक भिडियो केही दिन अगाडि भाइरल भयो । भाइरल हुनुको कारण बनेको थियो दुर्गेशसहितका केही पुरुष कलाकारहरु साडी लगाएर महिलाको भेषमा भिडियोमा प्रस्तुत हुनु ।
यो प्रयोगलाई धेरैले महिलाहरुको अपमान भएको भनेर आलोचना र गाली गरे । ‘ट्रोलर’ले समेत उनलाई निशाना बनाए ।
तर, यो भाइरल पनि उनको लागि सुखद कारण बन्यो । यसका कारणले उनको गीतको भिडियोको चर्चा भयो र भिडियोले युट्युबमा राम्रो दर्शक पाइरहेको छ ।
हिजोआज पनि दुर्गेश भाइरल छन् । एक टेलिभिजन अन्तरवार्ताका कारण उनी अहिले भाइरल भएका हुन् । यो पटक भएको भाइरल भने दुर्गेशका लागि सुखद हुन सकिरहेको छैन ।
ऋषि धमलासँगको एक अन्तर्वार्ताका कारण उनी ‘ट्रोलर’देखि सर्वसाधारणको निशानामा परिरहेका छन् । यसैका कारण उनलाई सामाजिक सञ्जालमा सहकर्मीदेखि सर्वसाधारणसम्मबाट गालीको वर्षा भइरहेको छ ।
अन्तर्वार्तामा दुर्गेशले स्वर सम्राट नारायण गोपालको गीत भन्दै गाएको भक्तराज आचार्यको ‘मुटु जलिरहेछ..’ र यम बरालको भन्दै गाएको रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल..’ गीत र गायन शैलीले उनको संगीतप्रतिको ज्ञानमा त प्रश्न उठेको छ नै, कतिपयले देश–विदेशका कलाकारको समेत ज्ञान राख्नुपर्ने कलाकारमा आफ्नै क्षेत्रको ज्ञान नभएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाइरहेका छन् ।
उनको कारणले अहिले पुरै सांगीतिक क्षेत्र लज्जित हुनु परेको चर्चासमेत गर्न थालिएको छ ।




















