अभिनेता सलमान खानकी कथित गर्लफ्रेन्ड युलिया वन्तुरले आफूले पहिलो पटक धान रोपेको अनुभव साझा गरेकी छिन्। यतिखेर उनी सलमानको पनवेल फार्महाउसमा छिन्।
उनले बेला–बेलामा फार्महाउसका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छिन्। हालै उनले धान रोपेको अनुभव साझा गर्दै फोटोसमेत पोस्ट गरेकी छिन्। लेखेकी छिन्– ‘बाल्यकालमा गर्मी मौसमको बिदा ग्रामीण क्षेत्रमा बिताएकी छु।
त्यहाँ म आफ्ना हजुरबुबा–हजुरआमासँग बीउ राख्ने, बारीको काम गर्ने र जनावरको हेरचाह गर्ने गर्थें। यसअघि धान रोपेकी थिइनँ। यो मेरा लागि नौलो अनुभव हो।’ युलियाभन्दा अघि सलमानले पनि आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उनी माटोले ल्याप्पै थिए। लेखेका थिए– ‘किसानको सम्मान गर्नुपर्छ।’ हातमा धानको बिरुवा समातेको अर्को फोटो पनि उनले पोस्ट गरेका थिए। अनि, लेखेका थिए– ‘दाना–दानामा लेखिएको हुन्छ, खाने मान्छेको नाम। जय जवान, जय किसान !’


