काठमाडौं– नेपालमा सञ्चालनमा रहेका सिनेमा हलहरु औपचारिक रुपमा बन्द भएको ठ्याक्कै ४ महिना भयो ।
गत चैत ११ गते सरकारले कोरोना भाइरसको प्रसारलाई रोक्न लकडाउन लागू गर्ने घोषणा गर्नुअघि नै सिनेमा हलहरु बन्द भैसकेका थिए ।
चलचित्र प्रदर्शन हुने सिनेमा हल मात्रै होइन, लकडाउनअघि नै सम्पूर्ण चलचित्रको छायांकनदेखि पोस्ट प्रोडक्सनका कार्य समेत रोकिए ।
आज चार महिनापछि सरकारले लकडाउन केही खुकुलो त गरेको छ, तर सिनेमा हलहरु पुनः सञ्चालन गर्ने बारेमा केही पनि बताएको छैन, न त चलचित्रको छायांकनलाई सुचारु गर्ने बारेमा नै केही बताएको छ।
एकातिर चलचित्रकर्मीहरु लामो समयदेखि बेरोजगार भएर घरमै बस्न बाध्य भएका छन् भने यति नै बेला कतिपय कलाकारहरु व्यक्तिगत टीका–टिप्पणीका कारण विवादमा पर्ने क्रम पनि जारी छ ।
यीनै विषयवस्तुमा केन्द्रित रहेर कलाकर्मी डटकमका सल्लाहकार सम्पादक कृष्ण भट्टराईले नेपाल चलचित्र निर्माता संघको पूर्व अध्यक्ष तथा चलचित्रकर्मी प्रदीपकुमार उदयसंग लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश
लकडाउनको अवधिलाई कसरी बिताउनु भयो ?
प्रदीप कुमार उदय– सबैभन्दा पहिला त आफू कसरी बाँच्ने भन्नेतर्फ नै लागियो । त्यसपछि आफ्नो व्यवसायलाई कसरी बचाउने भन्नेतर्फ केन्द्रित भइयो । अर्थात लकडाउन प्रारम्भ भएदेखि आजसम्म आफू बाँच्ने र आफ्नो व्यवसायलाई कसरी बचाउने भन्ने कुरामा चिन्तित भैरहेको अवस्था हो ।
कोभिड–१९ ले नेपाली चलचित्र क्षेत्रलाई कहा पुर्याएको मान्नु हुन्छ ?
कोभिड–१९ तथा लकडाउनका कारण नेपालमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र भनेकै हाम्रो चलचित्र क्षेत्र हो । किनभने लकडाउन सुरु नहुँदै हाम्रो चलचित्र घर (सिनेमा हल) हरु बन्द गरियो । अहिले आएर धेरै कुरा खुलिसक्यो, तर चलचित्र घरहरु तथा चलचित्र क्षेत्र नै खुलाउने कुनै किसिमको सरकारको तयारी देखिरहेको छैन । त्यसकारण यो क्षेत्र अति नै प्रभावित भैरहेको मान्दछु ।
यो बीचमा चलचित्रसंग सम्बन्धित संघ–संस्थाले आफ्नो क्षेत्रलाई जोगाउनका लागि के–कस्ता कार्य गरे ?
यस बीचमा विभिन्न संघ–संस्थाहरुको तर्फबाट सरकारलाई घच्घच्याउने कामहरु गरिएका छन् । जस्तै गएको बजेटमा पर्यटन, नागरिक उड्ययन, यातायात, होटल व्यवसाय आदि सम्पूर्ण क्षेत्रहरुलाई अति प्रभावित भनेर ब्याख्या गरियो, तर त्यहाँ पनि चलचित्र क्षेत्रलाई अति प्रभावित भनेर व्याख्या गरिएन । यो हाम्रो क्षेत्रका लागि अर्को एउटा दुःखलाग्दो कुरा हो । हाम्रा संघ–संस्थाहरुले यो विषयलाई गम्भिरतापूर्वक सरकारसमक्ष अवगत गराएको छ ।
अति प्रभावित क्षेत्र भनिएको भए के–के हुन्थ्यो होला ?
अति प्रभावित क्षेत्र भनिएकाहरुलाई विभिन्न सुविधाहरु दिइएको छ । जस्तै आयकरमा २० प्रतिशत छुट छ । विद्युतको डिमाण्ड शुल्कमा छुट छ । त्यसपछि बढी खपत नहुने समयमा बिजुली बालेको छुट छ । आफ्नो उद्योग तथा व्यवसाय सुचारु गर्नका लागि कर्मचारीको व्यवस्थापन गर्नका लागि पाँच प्रतिशत ब्याजमा कर्जा दिने भन्ने छुट । त्यो छुट चलचित्र क्षेत्रले पाउन सकेको छैन ।
चलचित्र क्षेत्रलाई किन यसरी उपेक्षित गरियो त ?
चलचित्र क्षेत्र पहिला पनि सरकारको प्राथमिकतामा परेको थिएन । तथापि, यो बेलामा चाहिँ सरकारले आफैं बन्द गर भनेर, लकडाउन नै सुरु नभइकन बन्द गरेको अवस्थामा यो क्षेत्रलाई हेर्नु पर्ने हो । तथापि अहिले नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ तथा अरु संघहरुले विभिन्न सरोकारवाला, सम्बन्धित निकायहरुमा कुरा पुर्याइरहेका छन् । अहिले सरकारबाट सकारात्मक जवाफ चाहिँ आएको छ । तथापि यो देशमा जबसम्म काम भएर आउँदैन, तबसम्म त्यसको कुनै औचित्य नै छैन ।
एक वाक्यमा भन्नु पर्दा यतिबेला चलचित्र क्षेत्रको अवस्था कस्तो छ त ?
त्यसरी भन्ने हो भने अहिले नेपाली चलचित्र क्षेत्र तहसनहसको अवस्थामा छ । भविष्य के हो भन्ने नै निश्चित छैन । किनभने यो कोभिड कहिलेसम्म हो भन्ने नै कसैलाई थाहा छैन । फेरी, हाम्रो क्षेत्र भनेको त मनोरञ्जनको क्षेत्र । अरु सबैतिरबाट फुर्सद भएपछि मनोरञ्जन गर्ने हो । त्यो कारणले गर्दा हामी अत्यन्तै अफ्ट्यारो स्थितिमा छौं ।
चलचित्रकर्मीहरुको अवस्था चाहिं कस्तो पाउनु भएको छ ?
यस्तो विषम परिस्थितिमा पनि, यति हुँदा–हुँदै पनि हाम्रो चलचित्र क्षेत्रका साथीहरु गम्भिर छैनन्, जति हुनु पर्ने हो त्यति गम्भिर भएका छैनन् । हामी एकजुट त पहिला पनि थिएनौं । तर यो समयमा, अहिले त हामी अत्यन्तै कठिन परिस्थितिमा छौं नि । अहिले त कस्तो देखिएको छ भने हरेकको आ–आफ्नै स्वार्थ देखियो । कस्तो स्वार्थ देखियो भने आफ्नै घर जलाएर खरानी घस्ने अथवा घर जलाएर आगो ताप्ने । यस्तो किसिमको परिस्थितिको सिर्जना भैरहेको छ ।
कसरी ?
उदय– यो बेलामा त कसरी हुन्छ चलचित्र क्षेत्रलाई स्थापित गर्नेतर्फ हामी सबैजना लाग्नु पर्ने हो । तर, यहाँ केही समयदेखि के देखिएको छ भने चलचित्र क्षेत्रभित्र एक–आपसमा नै विभिन्न किसिमका विवादहरु उत्पन्न भए । कुनै नयाँ विवाद, कुनै पुराना विवाद समेत उत्पन्न भए । अहिलेको अवस्था भनेको विवाद गर्ने समय नै होइन । अहिलेको समय भनेको त हामी सबै एक भएर अघि बढ्नु पर्ने हो ।
किन भइरहेको छ त विवाद ?
उदय– त्यही त बुझ्न गाह्रो भैरहेको छ । यदि कसैले गल्ति नै गरेको रहेछ भने पनि त्यो गल्तिलाई पछि हामी कुरा गरौंला भनेर अहिलेको अवस्थामा त सबै एकजुट भएर यो चलचित्र क्षेत्रलाई कसरी चलायमान गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुनु पर्ने हो । तर त्यस्तो भैरहेको छैन ।
मुख्य समस्या के–के देख्नु हुन्छ ?
उदय– चलचित्रका प्राविधिकहरुले काम पाउन सकिरहेका छैनन् । कलाकारहरुले काम पाएका छैनन् । निर्माताहरु जो चलचित्र तयार गरेर प्रदर्शनको मिति कुरेर बसेका छन्, उनीहरुले चलचित्र प्रदर्शन गर्न पाएका छैनन् । चलचित्र घरहरु त झन् सबैभन्दा बढी प्रभावित अवस्थामा छन् ।
केही चलचित्रकर्मीहरु त डिजिटल प्लेटफर्मतिर जानु पर्छ पनि भन्दैछन् नि ?
त्यही त । केही वरिष्ठ भनाउँदा चलचित्रकर्मीहरु अब हामी डिजिटल प्लेटफर्म खोज्नु पर्छ भन्ने किसिमका कुराहरु यो बेलामा लिएर आइरहेका छन् । त्यो भनेको त कस्तो भनेदेखि एक किसिमले चलचित्र घरहरु बन्द होस्, तर नेपाली चलचित्र अरु माध्यमबाट सञ्चालन गर्नु पर्छ भन्ने किसिमको मानसिकताबाट पनि कुराहरु आएको मैले केही व्यक्तिहरुबाट सुनें, जसले चलचित्र बनाउँदैनन्, उहाँहरुले भनिरहेको अवस्था छ ।
डिजिटल प्लेटफर्म उपयोगी छैन र ?
उपयोगी छ कि छैन भन्ने ठूलो कुरा होइन । डिजिटल प्लेटफर्ममै जाने हो भने त भिडियो फिल्म नै बनाए भैहाल्यो नि । किन यत्रो खर्च गरेर, सेल्यूलाइडमा खिचेर किन देखाउनु पर्यो । भिडियो फिल्म बनाएर अपलोड गरे भैहाल्यो नि । डिजिटल प्लेटफर्म भनेको त अतिरिक्त आम्दानीको माध्यममात्रै हो । वैकल्पिक आम्दानीको बाटोको रुपमा लिनु पर्यो । हामी त अहिले जसरी हुन्छ सिनेमा हल नै सञ्चालन हुनुपर्छ भन्ने पक्षमा छौं । त्यसमाथि नेपालमा अहिले डिजिटल प्लेटफर्ममा गएर रिटर्न हुने अवस्था छैन । एक त यहाँ डिजिटल प्लेटफर्म पनि त्यति बलियो भैसकेको छैन । यो बेलामा यस्ता अनावश्यक कुरा निकालेर चिन्ताको विषय बनाइदिने प्रयास भैरहेको छ ।
अहिलेको अवस्थामा कलाकारहरुमा संयमताको कमि देखिएको हो ?
हामी संयमित बनिरहेका छैनौं । सकारात्मक बनिरहेका छैनौं । अहिले त संयमित हुनु पर्यो, सकारात्मक हुनु पर्यो । छलफल गर्नु पर्यो, वहस गर्नु पर्यो । हाम्रो ध्यान चाहिं अब भविष्यमा कसरी चल्ने भन्ने कुरामा केन्द्रित हुनु पर्ने हो । तर, त्यही चाहिं हुन सकिरहेको छैन ।
अहिले देखिएका विवादहरुलाई कसरी हेर्नु भएको छ ?
अहिलेको विषम परिस्थितिमै विभिन्न प्रकारका विवादहरु देखिएका छन् । अहिले ती विवादहरु यसरी आए, सबै अनावश्यक हुन् । त्यो विवादको कुनै महत्व नै छैन । त्यो विवाद हुनु पर्ने विषय नै होइन । जस्तै भुवनजी (भुवन केसी) र साम्राज्ञीजी (साम्राज्ञी राज्य लक्ष्मी शाह) को विवादकै कुरा गरौं न, यो अहिलेको विवाद हो र ? यो छ वर्षअघिको विवाद रहेछ । छ वर्षअघिको विवाद त हामीले छ महिनापछि फेरी बसेर छलफल गर्दा हुन्थ्यो नि त ।
जस्तै पूजा (पूजा शर्मा) कै विवाद पनि ठूलो कुरा होइन । त्यो त के हो भने आफूले आफूलाई प्रस्तुत गर्न नसकेको कुरा मात्र हो । यस्ता विवाद पहिला पनि भएका छन् ।
दीपाजी (दीपाश्री निरौला) र राजेशजी (राजेश हमाल) को पनि भयंकरै विवाद गर्नु पर्ने विषय नै होइन । महानायक एउटा कसैले उहाँलाई पगरी दियो, त्यसलाई प्राविधिक संघले घोषणा गरिदियो । अब मान्ने–नमान्ने त आफ्नो अधिकारको कुरा हो नि ।
कसले मान्ने, कसले नमान्ने रु यो महानायक हुँदै होइन अथवा उसलाई महानायक भन्नै हुँदैन भनेर दीपाजीले पनि भनेको होइन नि त । उहाँले त के मात्र भन्नु भएको हो भने यदि उहाँ महानायक हो भने अहिलेको अवस्थामा चाहिँ अभिभावकत्व ग्रहण गर्नु पर्दथ्यो भन्ने किसिमको कुरा उहाँले गर्नु भएको हो ।
महानायक भन्या के रु त्यसको ठेट अर्थ अंग्रेजीमा त सुपरस्टार नै हो । यहाँ त सुपरस्टारमात्र होइन मेगास्टार भनेका छन्, यूग नायक, सदाबहार नायक भन्ने छ । यो कसैले दिएको होइन, मान्नेले मानिरहेको छ, नमान्नेले मान्दैन ।
तर पनि यो विवादले त उग्र रुप लियो नि ?
त्यही त, यो विवादको विषय नै होइन । तर यसलाई हाम्रै चलचित्र क्षेत्रका साथीहरु पक्ष र विपक्षमा बाँडिए । हाम्रो क्षेत्रको दुर्भाग्य कस्तो छ भने कुनै विवाद भयो भने हामी तुरुन्तै पक्ष र विपक्षमा बाँडिन्छौं । समस्या के हो, त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ कमैको ध्यान जान्छ । उसले उसलाई गाली गर्ने, उसले उसलाई गाली गर्ने । अहिलेको यो अवस्थामा हाम्रो चलचित्र क्षेत्र यसरी छताछुल्ल भयो, दर्शकहरुलाई पनि के लाग्न थाल्यो भने यो नेपाली चलचित्र क्षेत्र खासै राम्रो होइन भन्ने म्यासेज गयो ।
नेपोटिज्मको विषयमा चाहिं यहाँको के धारणा छ ?
हामी एकातिर यही क्षेत्रको नाम चलेको मान्छेहरुले आफ्नै छोरा–छोरीहरुलाई हिरो–हिरोइन बनाएर ल्यायो भने बाहिरका राम्रा परिवारका छोरा–छोरीहरु यहाँ आउँछन् भनेर भन्छौं । अर्कोतिर, आफ्नै छोरा–छोरीलाई फिल्ममा खेलायो भनेर फेरी नेपोटिज्मको कुरा गर्छौं । यो कुरा गर्ने बेला पनि अहिले होइन । यी सबै विवाद र व्यक्तिगत आक्षेपका कुराहरु गर्ने यो समय नै होइन । हाम्रो सबैभन्दा दुर्भाग्यको कुरा नै यही हो ।
चलचित्रकर्मीहरुलाई के आग्रह गर्न चाहनु हुन्छ ?
म अझै पनि के अनुरोध गर्न चाहन्छु भने अझै पनि समय छ । अहिलेसम्म जे भयो भयो, त्यसलाई बिर्सिउँ । अहिले सरकारले बिस्तारै लकडाउन खुकुलो गर्दै लगेको छ । अबको समय भनेको सबै मिलेर यसलाई कसरी अगाडि बढाउने हो भन्ने विषयमा केन्द्रित हुने बेलो हो ।
अब कसरी अगाडि बढ्दा उचित होला त ?
मैले चाहिँ के भनेको छु भने सिनेमा हल, चलचित्रको छायांकन खोल्ने बित्तिकै नाफामा गैहाल्ने भन्ने होइन । सबैभन्दा पहिला चलचित्र घरकै कुरा गरौं । देशभरीका सिनेमा हल जस्तै मेरो आफ्नै हल पनि बन्द छ । मैले हल बन्दा गर्दा पनि महिनाको ५–६ लाख रुपैयाँ खर्च छ । किनभने मलमा भाडा तिर्नु पर्यो, बत्ति बलिरहेको हुन्छ, स्टाफहरु छन् । सरसफाइ गरिरहनु पर्यो ।
यो सबै गर्दा करिव ६ लाख रुपैयाँ अहिले पनि मासिक खर्च हुन्छ भने यदि मैले अहिले ५० प्रतिशत अकुपेन्सीमा हलमा फिल्म चलाएँ भने अथवा चलचित्रलाई रन गर्नतिर लागें भने मेरो ६ लाख घाटाबाट घटेर ३ लाख रुपैयाँमा झर्यो भने पनि मलाई ३ लाख त फाइदा भयो नि त । अहिले त यसै पनि बन्द छ । त्यसै गरि निर्माता साथीहरुले पनि बनिसकेका आफ्ना फिल्महरु त्यसै राख्दा अब पुरानो हुने डर हुन्छ । कतिपयले प्रचार–प्रसार पनि गरिसकेका छन् । उहाँहरुको लगानीको ब्याज होला ।
लकडाउनअघि पनि फिल्म चल्छ भन्ने त ग्यारेन्टि थिएन । किनभने हाम्रो देशमा ५ प्रतिशतभन्दा बढी फिल्मले नाफा कमाउनै सकेका थिएनन् । भनेपछि अहिलेको अवस्थामा कुनै किसिमिको सहमति गरेर, कहिं फिल्म हलले चलचित्रलाई बढी प्रतिशत दिने, कहिं मिनिमम ग्यारेन्टि दिने, कहिं फिक्स दिने, कहिं पर्सेन्टेज बढी दिने, कहिं चलचित्रले चलचित्र घरलाई हेर्ने । यसरी अहिले यो कुरामा सहमति गरियो भने के थाहा भोलि फिल्म चल्न पनि सक्छ ।
पछिल्लो समय घाटा न्यूनिकरणको कुरा उठाइरहनु भएको छ । कसरी हुन सक्ला घाटा न्यूनिकरण ?
अहिले त सबैतिर घाटा छ । त्यसैले चलचित्र प्रदर्शक, वितरक र निर्माता बसेर मुख्य केन्द्रबिन्दु भनेको घाटा न्यूनिकरणको विषयमा छलफल गर्नु पर्यो । अहिले घाटा न्यूनिकरणलाई केन्द्रबिन्दुमा राखेर हामीले सहमति गरेर सुरु गरर्यौं भने के थाहा एकै हप्तापछि चलचित्र चल्न पो सक्छ कि ?
यसरी अचानक सिनेमा हल खोल्दा सिनेमा हेर्न दर्शक हलसम्म आउँछन् भन्ने के ग्यारेन्टि छ ?
ग्यारेन्टि त कुनै पनि कुराको छैन, तर हामी आशावादी बन्न सक्छौं । दुई–तीन वटा कुरा छ । पहिलो कुरा लकडाउनका क्रममा मानिसहरुको घरमा बसेर चलचित्र हेर्ने बानी पर्यो । मानिसहरुले खोजि–खोजि नेपाली फिल्महरु हेरेका छन्, राम्रा फिल्मको प्रशंसा पनि गरेका छन् । दोस्रो कुरा, अहिले विदेशबाट धेरै मानिसहरु स्वदेश फर्किएका छन् । जति पनि विदेशबाट फर्किएरहेका छन्, ती सबै नेपाली चलचित्रका वास्तविक दर्शक हुन् । अहिले उहाँहरु फुर्सदमा पनि हुनुहुन्छ । मनोरञ्जनका लागि उनीहरु फिल्म हलमा आउने हो ।
दर्शकले त सिनेमा हलमा सुरक्षा पनि चाहन्छन् नि ?
चलचित्र घरले सुरक्षाको सम्पूर्ण तयारी गरिरहेका छन् । सिनेमा हललाई डिस्फेक्सन गर्ने, थर्मल गनले ज्वरो नाप्ने, सेनिटाइर र मास्क उपलब्ध गराउने आदि, सामाजिक दुरी राखेर दर्शकहरुलाई सिनेमा हल भित्र राख्ने, सिटमा बस्दा पनि एक–दुई वटा सिट ग्याप गरेर राख्ने ।यसरी हामीले ५० प्रतिशत अकुपेन्सी राखेर सिनेमा हल चलाउने छौं भनेर सरकारलाई लिखित जानकारी नै गराइसकेका छौं ।
हामीले यी सबै मापदण्ड पुरा गरेपछि सिनेमा हलसम्म दर्शकहरु आउन सक्नु हुन्छ । बजारमा अहिले जुन किसिमको गतिविधिहरु देखिएका छन्, जुन किमिसले भिडभाड बढेको छ, मान्छेहरु घरबाट बाहिर त निस्किने रहेछन् भन्ने देखिएको छ । उनीहरु सिनेमा हलमा पनि आउन सक्छन् । त्यसका लागि हामीले दर्शकलाई एकदमै सुरक्षित तरिकाले सिनेमा हल सञ्चालन गरिएको छ भनेर आश्वस्त भने पार्न सक्नु पर्छ ।
तपाईंहरुले बुझाएको प्रतिवद्धतापछि सरकारको राय के छ ?
सरकार निकै सकारात्मक छ । मलाई लाग्छ अब यो साउन ६ गते सम्मका लागि अहिले घोषित लकडाउनपछि हुने घोषणामा चलचित्र क्षेत्रका बारेमा पनि केही घोषणा हुन सक्ने अनुमान गरेको छु । यदि सरकारले ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल भन्यो भने हामी त्यसका लागि तयार छौं कि छैनौं भन्ने कुरा महत्वपूर्ण कुरा हो ।
हामी तयार छौं त ?
सबैभन्दा दुःखको कुरा चाहिं यही छ, यो चाहिं भैरहेको छैन । मैले यसलाई कछुवा चाल भनेको छु । तयारी त भैरहेको छ, तर सबै कछुवा चालमा भैरहेको छ । मलाई लाग्छ साउन १५ अथवा भदौको पहिलो हप्तासम्ममा धेरै कुरा अनुकूल हुन सक्छ, सिनेमा हल पनि खुला हुन सक्छ । त्यो अवस्थाका लागि हामी सबैले अहिले नै तयारी गर्नु पर्छ ।
विकास बोर्डमा राहतका लागि चलचित्रको सूची बुझाइएको रहेछ ? उनीहरुले कस्तो राहत पाउने सम्भावना छ ?
उदय– चलचित्र निर्माता संघले प्रारम्भमै छानविन गरेर वास्तविक पीडित चलचित्रहरुको सूची मात्र विकास बोर्डमा पठाउनु पर्ने हो । त्यसका लागि अति प्रभावित, प्रभावित, कम प्रभावित गरेर वर्गीकरण गरेर सबै ६४ वटै चलचित्रको सूची पठाएको भए कुरा बेग्लै हुन्थ्यो होला । पछिल्लो अवस्थामा बोर्डले आफैंले छानविन गर्ने भन्ने सुनिएको छ ।
त्यहाँ वर्षौंदेखि थन्किएर बसेका चलचित्र पनि कोरोना अति प्रभावित, डिस होम र सिनेमा हलमा प्रदर्शन भैसकेका फिल्मलाई पनि अति प्रभावित, फागुनमै प्रदर्शन भएका चलचित्रलाई पनि अति प्रभावित, नामै नराखिएका चलचित्र पनि अति प्रभावित, शुभ मुहुर्त गरिएका फिल्म पनि अति प्रभावित । अति प्रभावित चलचित्र त ती हुन् जुन प्रचार–प्रसार समेत गरेर प्रदर्शनको मिति कुरेर बसेका चलचित्रहरु हुन् । चैतदेखि दसैंसम्म प्रदर्शनको पालो पर्खेर बसेका चलचित्रलाई अति प्रभावित भन्न सकिने अवस्था छ । अहिले यी ६४ वटा चलचित्रको सूचीले कतै अति प्रभावितलाई नै असर पार्ने त हैन भन्ने शंका लाग्न थालेको छ ।
छायांकनमा जाने तयारी कसरी गर्न सकिन्छ होला ?
उदय– यसका लागि चलचित्र निर्माता संघ, कलाकार संघ, प्राविधिक संघ एकै ठाउँमा बसेर छलफल गर्नु पर्छ । अहिले कलाकारदेखि प्राविधिकसम्म घर–घरमै छन् । यो बेला कुनै निर्माताले आँट गरेर म चलचित्र छायांकन गर्छु भन्छ भने कलाकार र प्राविधिकले पनि पारिश्रमिकमा विचार गरिदिनु पर्छ ।
प्रोडक्सन हाउसले पनि सहुलियत दिनु पर्छ । विगतमा एक लाख रुपैयाँ पारिश्रमिक लिने कलाकारले अहिले छोटो समयका लागि ५० हजार रुपैयाँमै काम गरिदिनु पर्छ । यहाँ पनि घाटा न्यूनिकरणककै कुरा आउँछ । सबैले सम्झौता गर्ने हो भने विगतमा एक करोड रुपैयाँमा बन्ने चलचित्रको लागत अहिले ५० लाखमा झर्न सक्छ । कम्तिमा दसैंसम्म यसरी काम गरियो भने त्यसपछि हाम्रो क्षेत्र स्वतः चलायमान हुन सक्छ ।
दसैंअघिका लागि केही योजना छ कि ?
उदय– सिनेमा हल खुलि सके पछिको अवस्थामा मैले वितरक, हलावाला साथीहरु तथा केही निर्माता साथीहरुलाई प्रदर्शनका लागि तयार भएका ठूला छ वटा चलचित्रहरु दुई–दुई हप्ताको ग्यापमा प्रदर्शन गर्ने गरी लिउँ भनिरहेको छु । निर्माता साथीहरुलाई कति प्रतिशतको ग्यारेन्टि चाहिने हो, त्यो दिएर दसैंसम्म कम्तिमा छ वटा चलचित्र प्रदर्शन गर्न सकियो भने अहिले शून्य गतिविधि रहेको चलचित्र क्षेत्रलाई केही त राहत पुग्थ्यो कि भन्ने मेरो आशय हो ।
अन्त्यमा, चलचित्रमा हुने विवादलाई रोक्ने उपाय के देख्नु हुन्छ ?
सबैभन्दा पहिला त हामीले के बुझ्नु पर्यो भने आकाशतिर फर्किएर थुक्यौं भने थुक आफ्नै अनुहारमा पर्छ । परिवार भित्रको कुरा परिवारभित्रै मिलाउनु पर्छ । त्यसका लागि सरोकारवाला संघ सस्थाहरु चनाखो बन्नु पर्छ । कलाकारको विवाद हो भने कलाकार संघले तुरुन्त हस्तक्षेप गरेर विवादमा संलग्न कलाकारहरुलाई बोलाएर सहमति गराइहाल्नु पर्छ ।
त्यसो भयो भने दर्शकले कलाकारलाई सामाजिक सञ्जालमार्फत गालि गर्न छाड्छन् । कलाकारको हक हितका लागि स्थापना भएको संस्थाले कलाकारका स–साना समस्याहरु समाधान गर्दै जानु पर्छ । हामी सबैले कुरा बुझ्नु अनिवार्य छ भने अहिलेको समय भनेको विवाद गर्ने समय नै होइन, एकजुट भएर अघि बढ्ने समय हो ।





