काठमाडौं : नेपालका १६ जना राष्ट्रिय गायक गायिकाको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ।
संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको गीतमा राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समीक्षा अधिकारी, किरण भुजेल र प्रवीण बेडवालको स्वर रहेको छ। गीतमा अम्बिका शर्माको शब्द रचना छ।
अनिता चलाउनेको प्रस्तुतिमा बनेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका छन्। निर्देशक विधान यति बेला धेरै भिडियो निर्देशनमा व्यस्त छन्। नेप्सिने कम्पनी र द डिभाइन म्युजिकको सहकार्यमा भिडियो बजारमा ल्याइएको हो।
भिडियोमा गायक गायिकालगायत गीतकारलाई नै फिचर गरिएको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा रुविना अधिकारीले अभिनय गरेकी छन्। रिलिज गरिएको केही समयमै यो गीतलाई अहिले युट्युबमा रुचाइएको छ।


