काठमाडौं – चलचित्र निर्माता प्रदीप कुमार उदयले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै सिनेमा हलहरु सञ्चालन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार देखि सार्वजनिक यातायात समेत सञ्चालन भएपछि निर्माता संघका पूर्व अध्यक्ष समेत रहेका उदयले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनको स्टाटस जस्ताको तस्तै :
व्यवसायीहरूको दवावले पसलहरू खुले,बैक खुले,यातायात व्यवसायीहरूको दवावले आजवाट यातायात खुले तर चलचित्र क्षेत्र कहिले खुल्ने हो कुनै निश्चित छैन ।
नेपालको सरकार दवावले मात्र काम गर्छ ।
बजारमा हुलका हुल मान्छेहरूको गतिविधीले कोरोना नसर्ने, कार्यालयहरूको भिडले कोरोना नसर्ने, यातायातमा छोटो दुरीमा सवारीमा हुईकिदा कोरोना नसर्ने तर चलचित्र भवनमा चलचित्र हेर्न जॉदा मात्र सर्ने हो की ?
कि हामीले दवावको वातावरण नवनाएर हो ?
हुन त हामी चलचित्रकर्मीहरू अत्यन्तै सहनशील छौ । हामी हाम्रो चलचित्रघरमा ५०% दर्शक मात्र राखेर,कोरोनाबाट बच्ने सबै सुरक्षित उपाय अपनाएर पनि प्रदर्शन गर्न सकिन्छ ।कोरोना महामारीमा चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये पर्दछ तर सरकारले बजेटमा अति प्रभावित मानेन ।हुन त नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघको प्रयासमा सरकारले हामी हेर्छौ भनेको सुन्नमा आएको छ तर बिगतको अनुभवलाई हेर्नेहो भने पुर्ण रूपमा ढुक्क हुने अवस्था छैन तथापी “मरता क्या नही करता” भने झै सरकारको हेर्छौ भन्ने कुरामा विश्वासमा छौ ।हुन त नेपाली चलचित्र क्षेत्रलाई सरकारले कहिल्यै गम्भिर रूपमा हेरेको छैन र प्राथमिकतामा समेत राखेको छैन ।यो सबै हाम्रै कारणले पनि हो दोषमुक्त हामी पनि छैनौ । हामी चलचित्रकर्मी र समग्र चलचित्र क्षेत्र कहिले एकताबद्व हुन सकेनौ र गम्भिर पनि हुन सकेनौ ।झन कोरोना संकटको यो महामारीमा चलचित्र क्षेत्रमा हामी चलचित्रकर्मी(?)ले नै ल्याएको अनावश्यक विवाद र हल्काफुल्का टिप्पणीले हामी समाजमा झन हल्का हुन पुग्यौ र बिवादमा समाजले गरेको टिप्पणीहरूले यो पुष्टी हुन्छ ।त्यसैले मेरो आग्रह छ पहिला हामी स्थापित होउ अनि विवाद गर्दै गरौला ।अहिलेको अवस्था भनेको हामी र हाम्रो क्षेत्र तहसनहस भएको अवस्था हो । हामी चलचित्रकर्मीहरूले एकपटक गम्भिर भएर सोचौ अव हाम्रो क्षेत्रको भविष्य के ? यो बारेमा गम्भिर बहस र छलफल चलाऔ ।एकताबद्व होऔ । सरकारको चलचित्र क्षेत्रलाई उकास्ने भनिएको तर कछुवा चालप्रति आपत्ती जनाऔ दवाव दिऊँ र चलचित्र क्षेत्रलाई छिटो भन्दा छिटो चलायमान वनाउन प्रयास गरौ ।फेरी पनि भन्न मन लाग्छ सम्पुर्ण भिडभाडवाला गतिविधी सुचारू हुँदा चलचित्र क्षेत्रलाई सुचारू किन नगर्ने ? बजारमा हुलकाहुल मान्छेहरूको गतिविधीले कोरोना नसर्ने,कार्यालयहरूको भिडले कोरोना नसर्ने,यातायातमा छोटो दुरीमा सवारीमा हुईकिदा कोरोना नसर्ने तर चलचित्र भवनमा चलचित्र हेर्न जॉदा मात्र सर्ने हो की ? कि हामीले दवावको वातावरण नवनाएर हो ? एकपटक सोचौ यहि क्षेत्रमा अगाडी बढ्ने की पलायन हुने ? प्रश्न छ त समाधान पनि पक्कै होला नै…


