काठमाडौं : नेपाली म्युजिक भिडियो इतिहासमा युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलतापश्चात् गायक आशिष सचिनको अर्को प्रस्तुति ‘गलबन्दी पछ्यौरी’ सार्वजनिक भएको छ । पिरिम नलाउने समूहकै सहभागितामा गलबन्दी पछ्यौरी तयार भएको हो ।
कोभिड–१९ को प्रभावबीच सामाजिक दूरी र सतर्कता अपनाउँदै शुक्रबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा गलबन्दी पछ्यौरी सार्वजनिक गरिएको हो । कार्यक्रममा पिरिम नलगाउनेलाई झन्डै सात करोडपटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसनसमेत गरेको थियो । लकडाउन हुनुपूर्व नै छायांकन गरिएको गीतको भिडियो लकडाउन केही खुकुलो हुँदा सीमित व्यक्तिको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटे पिङ, लिंगे पिङ, हाट बजारको दृश्य कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतलाई पिरिम नलाउनेलाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताइन् । ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । पिरिम नलाउनेकै संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । गीत तथा भिडियोमा प्राय पिरिम नलाउनेकै टिमको सहभागिता छ ।
गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय छ । ओएसआरको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियो अर्जुन तिवारी र टिमले खिचेका हुन् भने नवीन निरौलाको सम्पादन छ । सर्ट फिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा १० वर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रूपमा चित्रण गरिएको छ। पिरिम नलाउनेलाई अहिलेसम्म ६ करोड ४३ लाख पटक हेरिएको छ ।


