कोभिड–१९ का कारण सिनेमा हल बन्द छन्। अहिले डिज्नी प्लस हटस्टारले यो सुविधा दर्शकको घरसम्म पुर्याउने कोसिस गरेको छ। डिज्नीले केही फिल्म आफ्नो ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने तयारी गरेको छ। यीमध्ये केही ठूलो बजेटका फिल्म पनि छन्। तीमध्ये एक हो, ‘सडक–२’।
‘सडक–२’मा आलिया भट्ट र आदित्य राय कपुर मुख्य भूमिकामा छन्। सञ्जय दत्तको खास भूमिका छ। फिल्मको पोस्टर पनि हालै रिलिज भएको छ। यसबारे आलियाले भनिन्, ‘म सधैं सोच्ने गर्थें, एक दिन यस्तो समय आउनेछ जुुन दिन म बुवासँग फिल्म गर्नेछु। ‘सडक–२’ सँगै मेरो सपना पूरा भएको छ। म केटाकेटीमा बुवाको फिल्म हेर्न निकै उत्साहित हुन्थेँ। रिलिज डेट कुरेर बस्थेँ। उनकी छोरी भएकोमा म आफूलाई निकै भाग्यमानी ठान्थेँ। ‘सडक–२’सँग जोडिएपछि मेरो सानैदेखिको सपना पूरा भयो।’
‘सडक–२ को कथा रविको हो। जिन्दगीमा ऊ निकै अघि बढ्छ। यो सफरमा उसले दुईजना व्यक्ति भेट्छ। यी दुईको नाम के हो ? उनीहरू के गर्छन् ? यो सब म अहिले बताउन चाहन्नँ। यो एक यात्राको कथा हो। यसलाई जर्नी अफ लभ भन्न सकिन्छ। यसमा कैलाश पर्वतको आफ्नै महŒव छ जसलाई हामीले पोस्टरमा पनि देखाएका छौं’, आलियाले भनिन्।
‘लकडाउनका क्रममा मलाई पहिलोपटक यति धेरै समय प्राप्त भयो। मैले धेरै फिल्म हेरेँ। ओटीटी प्लेटफर्ममा आउने कन्टेन्ट पढेँ। सुटिङको
क्रममा त बसेर हेर्ने फुर्सद नै हुँदैनथ्यो। म बिहान उठेर टीभी या ल्यापटपमा कुनै न कुनै वेब सिरिज हेर्थें। मैले गितार बजाउन पनि सिकेँ। लकडाउनकै क्रममा मेडिटेसन गर्न थालेँ’, उनले आफ्नो समयतालिका बताइन्।




















