गायिका राधिका हमाल अघिल्ला वर्षहरूमा यतिबेला तीज गीतको चटारोमा हुन्थिन् । यो वर्षका लागि पनि उनका केही योजना थिए– तीज गीतको । तर, सोचेको जस्तो भएन । समय अनुकूल नभइदिँदा हमालको दैनिकी नै परिवर्तन भएको छ । अहिले उनी राहत वितरणको दौडधूपमा छिन् ।
अघिल्लो वर्ष मात्रै तीजका १३ भाकामा स्वर भरेकी हमालको आफ्नै गीत बजारमा ल्याउने योजना थियो । आधा बैशाखसम्म उनलाई स्थिति साम्य भैहाल्छ, त्यसपछि गीत रेकर्ड गर्नुपर्छ भन्ने योजनामा नै काम गरिरहेकी थिईन । अब लाग्छ, उनको योजना यो वर्ष पूरा हुने छैन । उनले भनिन्, ‘अहिले हरेक काम ठप्प हुँदा संगीत क्षेत्र पनि धराशयी भएको छ । आफू बाँच्ने र आफ्नालाई बचाउनु नै ठूलो भएको छ । त्यसैले यो वर्ष गीतमा लगानी गर्न भनेर छुट्याएको रकम लिएर सेवामा निस्किएकी हुँ । तीजसम्म स्थिति राम्रो भएछ भने पोहोरकै गीतले काम चलाउनुपर्छ ।’
तीज गीतका साथै लेखन र म्युजिक भिडियोमा पनि सक्रिय कलाकार हुन् पशुपति शर्मा । समय अनुकल भएको भए उनी यतिबेला कि तीज गीतका भाका बुन्दै हुन्थे, कि टुक्का जोड्दै हुन्थे । धेरैजसो त स्टुडियोमा नै गीतमा लय हाल्दै हुन्थे । तर, कोरोना कहरका कारण जिन्दगी नै सहज भएन । उनी यतिबेला गृहजिल्ला स्याङ्जामा छन् । गायक शर्मा त तीज मात्रै होइन, दसैंपछिकै सांगीतिक माहोलको अवस्था टुङ्गो नरहेको बताउँछन् । उनी भन्छन्– ‘तीजमात्रै होइन, दसैंपछाडिका सांगीतिक कार्यक्रम नै होला–नहोला टुंगो छैन । कोरोनाले संगीत क्षेत्रलाई एकदमै असर गरेको छ ।’
गत वर्षको तीजमा ‘हामी पनि नाँच्नु पर्छ बीच्च–बीच्चमा’ गाएर सिजनभर चर्चामा रहे गायक दुर्गेश थापा । यो वर्षको तीजका लागि पनि दुर्गेशको नयाँ प्लान थियो । उनले यो तीजमा ‘बीच्चबीच्चमा’को दोस्रो भाग सार्वजनिक गर्ने सोचेका थिए । गीत तयार छ । तर, उनी लकडाउनका कारण बाग्लुङतिरै छन् । उनलाई लाग्छ गीत रेकर्ड गरेर पनि यो वर्ष ती गीतमा नाच्ने माहोल सिर्जना हुनेछैन । गीत रेकर्ड गरिहाले पनि म्युजिक भिडियो निर्माण गर्न सहज छैन । त्यसैले पनि यो वर्षको गीत रेकर्डको योजना थाती राखौं कि भन्नेमा छन् । दुर्गेश भन्छन् ‘८÷१० वटा तीज कार्यक्रमका लागि अष्ट्रेलिया जाने पक्का भएको थियो । अब त्यो कार्यक्रम पनि हुँदैन होला ।’
हरेक वर्ष जस्तै तीज गीतका थुप्रै योजना थिए गायिका जानकी तारकी मगरका पनि । तीज गीतबाटै चर्चामा आएकी मगरले यो वर्ष नाच्ने खालको गीत रेकर्ड गर्ने योजना बनाएकी थिइन् । लकडाउन खुल्यो भने गीत रेकर्ड गराउने उनको रहर छँदैछ ।
प्रत्येक वर्ष २ वटा तीज गीत रेकर्ड गराएर म्युजिक भिडियो निर्माण गर्दै आएका गीतकार हुन्– हरि बिष्ट । उनले हरेक वर्ष तीज गीतको रेकर्डिङदेखि म्युजिक भिडियो निर्माणसम्ममा करिब ६ लाख रुपैयाँ खर्च गर्थे । यो वर्ष भने उनी तीज गीत नगर्ने सोचमा छन् । बिष्ट भन्छन्– ‘यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । सप्तरीका मलर सदा भोककै कारण मरेको खबर सार्वजनिक भयो । कीर्तिपुरमा सूर्यबहादुर तामाङले भोककै कारण मर्नु प¥यो । त्यसैले मैले यो वर्ष तीज गीतका लागि खर्च हुने रकम दीनदुःखीको खानाका लागि खर्च गरिरहेको छु । यतिबेला सुर्खेतमा छु । अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गरिरहेको छु । हाम्रा गीत सुन्ने र हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ ।’ बिष्ट फोनमा सुनिए । फोन राख्नु अघि उनले भने ‘साँच्चै समस्यामा परेका कोहि भेट्नु भयो भने मेरो नम्बर दिएर सम्पर्क गर्न भन्दिनु ।’