थिएटर मल– कीर्तिपुर रङ्गमञ्च । भवनवरिपरि झार उम्रिएका थिए, विभिन्न स्थानमा परेवाले गुँड लगाएछन् । मन गह्रुंगो र उदास भयो उनको । दिनभरि सरसफाइ गरे । ४ महिनाअघि भित्तामा टाँसेको कार्यतालिकामा नजर पर्यो । अग्रसूचीमा थियो नाटक– ‘बहुलाकाजीको सपना’ । सामान्य अवस्था हुन्थ्यो भने अघिल्लो सालको अन्तिममै प्रदर्शन सकिइसक्ने नाटक रिहर्सलबाटै स्थगित भयो । ‘त्यसपछि वैशाखको नाटक, जेठको फिल्म फेस्टिभल लगायतका धेरै सूची अधुरै छन्’, केदार सुस्केरा हाल्छन् ।
लकडाउन हुनुअघिका नाटकमा उपस्थित दर्शकबाट केदार उत्साहित थिए । विशेषतः ‘जामुनको रुख’ मञ्चन हुँदाको दर्शक संख्या उनलाई चित्त बुझेको थियो । तर पहिलो वर्षमा उत्साहसहित बामे सर्दै गरेको कीर्तिपुर रङ्गमञ्चलाई महामारीले अस्तव्यस्त बनाइदिएको छ । ‘झार उम्रिएको त उखेलेँ, सफा भयो । तर, प्रकोपलाई न छेक्न सकिन्छ न रोक्न’, उनको स्वरमा चिन्ता मिसिएको थियो ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरको पनि धेरै योजना कोरोना प्रकोपका कारण स्थगित भयो । शिल्पीले लकडाउनअघि स्कुलका विद्यार्थीका लागि नाटक तयार गरेको थियो, दुइटा नाटक रिहर्सलको लागि तयारीमा थियो । ‘सबै स्थगित गरेर हिँड्नुपर्यो, आर्थिक समस्या पनि ठूलै व्यहोर्नुपर्यो’, शिल्पीका संस्थापक रङ्गकर्मी घिमिरे युवराज भन्छन् ।
टेकुस्थित कौसी थिएटरकी संस्थापक रङ्गकर्मी आकांक्षा कार्की जर्ज अरवेलको उपन्यासमा आधारित रहेर ‘एनिमल फार्म’ नाटक मञ्चन तयारीमा थिइन् । जसको रिहर्सलका साथै लगानीसमेत निश्चित भइसकेको थियो । तर, लकडाउनको कारण न लगानी सुरक्षित हुन सक्यो, न रिहर्सलकोे काम नै अघि बढ्यो ।
कोरोना महामारीको प्रभाव नेपालमा देखिएपछि यसरी नै रङ्गमञ्च नराम्ररी प्रभावित भएको छ । रङ्गमञ्च व्यावसायिक बन्दैछ भनेर उत्साहित रङ्गकर्मीमा स्वाभाविक निराशा छाएको छ । अनामनगरस्थित मण्डला थिएटरकी अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बा भन्छिन्, ‘अब कतिपय थिएटर बन्द हुन्छन् जस्तो लाग्छ । पहिले पनि थिएटर हल कठिनाइले चलिरहेका थिए । भाडा तिर्न अप्ठ्यारो हुन्थ्यो, अब त सिकिस्त नै पर्ने भयो ।’ अधिकांश थिएटर हलको भाडा तिर्न नसक्ने स्थितिमा छन् । आम्दानी शून्य छ । ‘यो कठिनाइसँग जुध्न निकै सकस भइरहेको छ’, उनले भनिन् ।
काठमाडौं उपत्यका बाहिर पनि रङ्गमञ्च बन्दै थिए, जसले विकेन्द्रीकरणको उत्साह थपिएको थियो । तर महामारीको प्रभावले त्यसमा पनि ‘ब्रेक’ लागिरहेको छ । पोखरा थिएटर, पोखरा नाटकका साथै फिल्म महोत्सवको तयारीमा जुटेको थियो । तर, कोरोना कहरका कारण भएको लकडाउनले सबै योजना भंग भएको थिएटरका अध्यक्ष रङ्गकर्मी परिवर्तन बताउँछन् । ‘नाटकघर बनाएर २ वर्षअघि नाटक सुरु गरेका थियौं । भर्खरै लय समातेको रङ्गमञ्चमा एउटा प्रलय आएको महसुस हामीलाई भएको छ’, उनले दुःखेसो पोखे ।
लकडाउनले निम्त्याएको आर्थिक समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे उनको टिम चिन्तित छ । ‘सधैं अभावमा गुज्रिरहेको थिएटरमा झनै अभावले थिचिदिएको छ । लामो समय थिएटर बन्द हुँदा सञ्चालन खर्च बढिरहेको छ । जसले ऋणको भार थपिदिएको छ’, उनले भने ।
दमकको कदम थिएटर संकटबीचमा पनि बनिरहेको छ । रङ्गकर्मीहरू हल निर्माणमा जुटिरहेका छन् । लकडाउनपछि धेरै योजना बुनेको हुँदा यसै बीचमा हल तयार गर्न लागेको रङ्गकर्मी सिजन दाहाल बताउँछन् । सिजन लकडाउनअघि ‘बाछिटा’ नामक नाटकको तयारीमा जुटेका थिए । ‘तोकिएको मितिको तीन दिनअघि नाटक रोक्नुपर्यो । अरू वर्कसप पनि ठप्प भयो’, उनले जानकारी दिए । निर्माणकै सुरुवाती अवस्थामा रहेको हुँदा थिएटरले आर्थिक संकट नराम्ररी व्यहोर्नु परेको उनले सुनाए ।


