कोरोना भाइरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि नेपाली फिल्मको छायांकन र प्रदर्शन पूर्ण रुपमा प्रभावित भएका छन् ।
गएको तीन महिनाको अवधिमा करोडौंको घाटा बेहोरिसकेको फिल्म क्षेत्र अझै कहिलेसम्म डाउनको अवस्थामा रहन्छ, अत्तोपत्तो छैन ।
लकडाउन खुलेको लामो समयसम्म पनि फिल्म क्षेत्रमा पहिलेको जस्तो चहलपहल हुने सम्भावना न्यून छ ।
केही निर्माता तथा निर्देशकहरु भने सरकारले छायांकनका लागि अनुमति दिए तत्कालै फिल्म निर्माण गर्ने तयारीमा छन् ।
अभिनेत्री तथा निर्मात्री रेखा थापा पनि लकडाउन खुलेपछि नयाँ फिल्मको छायांकन थाल्दैछिन् ।
सविर श्रेष्ठले निर्देशन गर्ने बेनामे फिल्मको गएको बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम थियो ।
तर, लकडाउनका कारण फिल्म फ्लोरमा जान सकेन ।
अब यो फिल्मको छायांकन आउँदो भदौबाट हुँदैछ ।
अभिनेत्री रेखा भन्छिन्, ‘फिल्म इन्डस्ट्रीका हजारौं कलाकार, प्राविधिक तथा अन्य जनशक्तिलाई लामो समय अन्योलमा राख्नु हुँदैन ।
प्रयाप्त सावधानी अपनाउँदै फिल्म निर्माण गर्नुको अरु विकल्प छैन ।
अन्यथा विकासको बाटोमा रहेको फिल्म क्षेत्र धरासायी हुनसक्छ ।
सरकारले यो क्षेत्रको बारेमा गम्भिर भएर सोच्न जरुरी छ ।’
फिल्ममा अभिनेता सौगात मल्लको मुख्य भूमिका रहनेछ ।
यो फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहने बताइएको थियो ।
गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, आधा दर्जनभन्दा बढी फिल्म पाइपलाइनमा भएकोका कारण उनले रेखाको फिल्म नगर्ने भएका छन् ।
लकडाउन खुलेपछि उनले फिल्म ‘दुई नम्बरी’ को बाँकी छायांकन भ्याउनेछन् ।




















