अभिनेता प्रदीप खड्काको माग नेपाली फिल्म इन्डस्ट्रीमा राम्रो छ ।
चलचित्र ‘प्रेमगीत’बाट दर्शकको मनमा बस्न सफल भएका यी नायकको हातमा चलचित्रको खाँचो छैन ।
नायकको रूपमा स्थापित सफल प्रदीप म्युजिक भिडियोमा आकर्षित बनेका छन् ।
उसो त नेपाली फिल्म इन्डस्ट्रीका प्राय कलाकार म्युजिक भिडियोबाट नै पालिएका छन् ।
दर्शकको राम्रो साथ र माया पाएका कलाकारको म्युजिक भिडियोमा आकर्षण बढिरहेका बेला प्रदीप पनि यस समूहमा मिसिएका हुन् ।
लकडाउनले चलचित्र सम्बन्धी सबै काम् रोकिएपछि फुर्सदिला भएका खड्काले यस अवधिमा दुई म्युजिक भिडियोमा काम गरे ।
छोटो समयमा नै छायाङ्कन सकिने र राम्रो पारिश्रमिक पनि पाउने भएकाले कलाकारहरू यसमा आकर्षित भएका हुन् ।
प्रदीपले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो हो ‘जय जय नेपाल’ ।
नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ बोलको गीतको भिडियोमा प्रदीप भिन्न लुक्समा देखिन लागेका हुन् ।
भिडियोको टिजर सार्वजनिक गरिएको छ ।
सार्वजनिक भिडियोमा प्रदीपको लुक्स भिन्न देखिएको हो ।
पूर्ण भिडियो सार्वजनिक तयारीमा रहेको टिमले बताएको छ ।
गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।
गीतको छायाङ्कन केही दिनअघि धुलिखेलमा गरिएको थियो ।
प्रदीप अभिनीत पछिल्लो चलचित्र ‘प्रेम गीत ३’ हो जुन लकडाउनले गर्दा प्रदर्शन हुन पाएन ।




















