हरेक बर्षलाई भित्तामा झुण्डिएको क्यालेन्डरलाई फेर्दै गर्दा हामी व्यक्तिगत, समाज, देश अनि विश्वको समिक्षा गर्छौ ।
कहिलेकाहीँ क्यालेण्डरसँगै मानिसको जीवन पनि फेरिन्छ ।
तर, विगत केही बर्षदेखिको आँकडा हेर्ने हो भने नेपाली फिल्मका लागि क्यालेन्डर फेरिनु बाहेक अरु केही पनि देखिएको छैन ।
बर्षभरिको क्यालेन्डर पल्ट्याउदै हेर्ने हो भने नेपाली फिल्म क्षेत्रले केही पनि उपलब्धि हासिल गर्न सकेको छैन ।
आखिर, किन त ? साँच्चै हामी चुकेका नै हौ त ?
नयाँ बर्ष लागेसँगै आशाका किरणहरु छरपष्ट हुन्छन् ।
नयाँ बर्षसँगै नयाँ आशा बोकेर कैयौ फिल्मको घोषणा गरिन्छ, शुभकामना थापिन्छ ।
तर, त्यही बर्ष त्यो फिल्म प्रदर्शनमा आएको अत्तोपत्तो नै हुँदैन ।
साच्चै हामी कहाँ चुक्यौ ?बलिउड फोबियाले गाजेको नेपाली फिल्म बजारमा हामी सधै नै एउटा न एउटा बहाना बनाएर दोष अरु माथि थोपर्छौ ।
फिल्म नराम्रो बने निर्देशकको गल्ती, राम्रो बने सबै मैले गर्दा भएको हो भन्ने प्रथा हामीले बोकेका छौ ।
यो बर्ष आँकडाका हिसाबले करिब ८३ वटा फिल्म प्रदर्शनमा आएका छन् ।
बलिउड फिल्मलाई हेर्ने हो भने त यो संख्या १३० को हारहारीमा पुग्छ ।
अझ, यसैबर्षदेखि त बलिउडसँगै दक्षिण भारतीय फिल्मको व्यापार पनि नेपालमा सुरु भैसकेको छ ।
८३ वटा फिल्म चल्दा हामीले हातमा सेकेण्डमै गन्न सक्ने उपलब्धि पाएका छौ ।
यसैले पाएका कम छौ, गुमाएका धेरै छौ ।


