काठमाडौँ — हालै अभिनेता पल शाहले आफ्नो फेसबुक पेजमार्फत कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे लामो स्टाटस लेखे ।
‘फिल्मी क्षेत्रमा नातावाद, कृपावाद, ग्रुपिजम अनि ड्रिप्रेसन, सुसाइडको कुरा चलिरहँदा अर्को एउटा कुरा उठाउन मन लाग्यो । के तपाईंले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?, के तपाईंले आफूले गरेको फिल्मको पैसा पाउन वर्षौं वर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुई हात जोड्नु परेको छ ?’ प्रश्न राख्दै पलले लेखेका छन्, ‘यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौलां भन्ने सोच गरेको कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौं वर्ष कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?’
उनले यो विषय उठाएसँगै फेरि एक पटक सामाजिक सञ्जालमा कलाकारले समयमा पारिश्रमिक नपाएको कुरा छताछुल्ल भएको छ । कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे यो पहिलो पटक उठेको विषय भने होइन । पारिश्रमिकको विवाद बेलाबखत मिडियामा उठिरहन्छ । केही समय यो विषयले सामाजिक सञ्जाल तताउँछ तर, त्यसरी नै सेलाउँछ पनि । एक वर्षअघि मात्रै ‘रोजी’का निर्माता निरक पौडलले फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री मिरुना मगर, संगीतकार एलिस कार्की र प्राविधिक श्रीकृष्ण श्रेष्ठलाई पूरा पारिश्रमिक नदिएको कुराले यसबारेमा व्यापक चर्चा भएको थियो ।




















