नरेन्द्र ढकाल
गोरखा – आरुघाट गाउँपालिका–१ मान्बुका चन्द्रबहादुर गुरुङले झाँक्री काम गरेको २५ वर्ष भयो । ४४ वसन्त पार गरेका गुरुङका आँखा अहिले खुलेका छन् । २५ वर्षसम्म झारफुकबाट कति बिरामी निको भए र कतिले उपचार नपाएका कारण ज्यान गुमाए उनलाई हेक्का छैन । तर अहिले उनी पुरै फेरिएका छन् । ‘बाबुबाजे गरेको काम हो जानीनजानी गरियो’ उनले भने ‘अहिले त जुगजमना नै फेरियो हामी नफेरिएर भयो त?’
मान्बुकै सबचेतका डिलबहादुर गुरुङ पनि झाँक्रीको काम गर्छन । गाउँमा कोही बिरामी पर्ने बित्तिकै डिलबहादुर जोखाना हेर्न बस्छन । तर रोगको प्रकृति र बिरामीको अबस्था हेरेर मात्र उनले उपचार गर्ने गरेका छन् । ‘टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता रोगको हामी उपचार गर्न सक्दैनौं’ उनले भने ‘त्यस्ता बिरामीहरुलाई सिधै स्वास्थ्य चौकी पठाउने गरेको छु ।’
सोही ठाउँका ‘लामा’ सन्तबहादुर घलेलाई अहिले धेरै पछुतो लाग्छ । ‘एउटा बिरामी आउँछ, हामी लामा झाँक्रीहरु बोक्सी, भुत प्रेत, लागुभागु के रहेछ हेर्नुपर्छ, बस्नुहोस् भन्छौं, उसको परिवारले रक्सी ल्याउँछ, कुखुरा ल्याउँछ, बोका ल्याउँछ तर बिरामी ठीक हुँदैन, लामाको आश गर्दा–गर्दा बिरामी मर्छ’ उनले भने ‘हिजै स्वास्थ्य चौकी पठाउन पाएको भए त बिरामी बाँच्ने थियो की भनेर भोली पल्ट मात्र हाम्रो चेत खुल्छ ।’
धामी झाँक्रीको भरमा मात्र उपचार सम्भव नहुने बुझेपछि उनले अहिले अधिकाशं विरामीलाई स्वास्थ्य चौकी जाने सल्लाह दिन्छन् । नवजात शिशु र गर्भवती महिलाको विषयमा त झनै धामी झाँक्रीहरु सचेत दिने गरेका छन् । ‘कतिपय महिलाहरु काम्दै आउँछन्, गर्भवती भएको बेला त्यस्तो हुँदो रहेछ, पहिले थाहा थिएन, बोक्सी लाग्यो भनेर झारफुक गरिन्थ्यो’ उनले भने ‘तर अहिले सबै कुरा थाहा भयो, गर्भवती र बालबालिकाहरुको उपचार हामी गर्न सक्दैनौं, त्यसैले उहाँहरुलाई स्वास्थ्य संस्थामा जानुहोस भनेर सल्लाह दिने गरेका छौं ।’
६३ वर्षका सानुकान्छा घलेलाई धामी झाँक्रीले खानेबाटो मात्र गरेको जस्तो लाग्छ ।
सानै उमेर देखि झारफुक गर्दै आएका उनी प्राकृतिक चिकित्सा हराउँदै गएकाले पनि अब धामी झाँक्रीले बिरामी निको पार्न नसक्ने बताउँछन् । ‘बिरामी निको पार्न भन्दा कसरी कुखुरो आउँछ, कताबाट रक्सी आउछ, कसले बोको ल्याउँछ भन्ने तिर धेरैको ध्यान गयो’ उनले भने ‘जडिबुटी खोजेर ल्याउने, बिरामीलाई निको बनाउन सक्ने तागत अहिलेका धामी झाँक्रीमा छैन ।’ अहिले नयाँनयाँ रोगहरु थपिएकाले हचुवाको भरमा उपचार गर्नुभन्दा स्वास्थ्य संस्थामै जानु उपर्युक्त हुने उनले तर्क छ ।
धामी झाँक्री सचेत भएसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मान्बु स्वास्थ्य चौकी अहेब कृष्णकुमारी गुप्ताले जानकारी दिइन । विभिन्न संघसस्थाको सहयोगमा बेला बखत धामी झाँक्रीलाई स्वास्थ्य चौकीमा बोलाएर समेत गराउने गरिएको छ । मान्बु र आसपासका धामी झाँक्रीले अहिले परम्परागत पेसा भन्दा आधुनिक चिकित्साको बारेमा सचेतना फैलाउने काम गरेको गुप्ताको भनाई छ ।
उत्तरी गोरखाको धार्चे, चुमनुब्री, आरुघाट, बारपाक सुलिकोट लगायतका स्थानका दुर्गमगाउँमा अझै पनि धामी झाँक्रीको भरमा उपचार हुने गरेको छ । धार्चे र चुमनुब्री गाउँपालिकामा अहिलेसम्म एउटा पनि अस्पताल छैन् । स्वास्थ्य संस्थाको पहुँचमा नरहेका सर्वसाधरणले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
उत्तरी गोरखा मात्र होइन तल्लो क्षेत्रमा झारफुक विश्वास गर्ने प्रचलन उत्तिकै छ । शिक्षित पढेलेखेका मानिसहरु पनि बिरामी पर्दा जान्नेलाई देखाउँछन् । तर पछिल्लो समय उक्त कुरा कम हुँदै गएको गोरखा नगरपालिका– ४ फिमानका ‘जान्ने’ चुडामणी भट्टराईले बताए । ‘मान्छे नआउने होइन आउनुहुन्छ तर पहिले भन्दा धेरै कम भएको छ’ उनले भने ‘झारफुक गर्न आउनेहरुलाई हामीले नै स्वास्थ्य संस्था जान अनुरोध गरेकाले पनि यो संख्या कम भएको हुन सक्छ ।’
झारफुक गर्ने प्रचलन पूर्ण रुपमा अन्त्य नभएपनि स्वास्थ्य संस्थामा जानु पर्छ भन्ने चेतना बढेर गएको फिनाम स्वास्थ्य चौकीका सिनियर अहेव रामशरण बानियाँले बताए । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रद्धारा सञ्चालित सामुदायिक बिकास परियोजनाले मान्बु र फिनामका धामी झाँक्रीहरुलाई मातृ शिश स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गराएको परियोजनाको स्वास्थ्य र सरसफाई शाखाकी जनस्वास्थ्य सहायक गरिमा न्यौपानेले जानकारी दिइन् ।




















