
हुम्ला समाचारदाता-
सिमकोट साउन १ गते । चार दिनदेखि बेपत्ता हुनु भएका इन्जिनियर वसन्त रावत आज अपरान्ह १२ बजे भेटिनु भएको छ ।
अदानचुली गाउँपालिका वडा नम्बर तीनको मेल्चौरमा ढुङ्गामा बसेको अबस्थामा सिमकोटबाट खोजीमा गएको टोलीले भेटाएको हो ।
सिमकोटबाट खोजीमा गएको टोलीले सामान्य अबस्थामा भेटाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो ।
सामान्य अबस्थामा भेटिएका रावतको स्थानीय स्वास्थ्य चौकीमा जाँच गर्दा अबस्था सामान्य भएको र अहिले बोल्न नचाएको उहाँसंगै काम गर्ने सव–इन्जिनियर जीबन रोकायाले बताउनुभयो ।
आठ छाक खाना नखाएको कारण एकदम कमजोर अबस्थामा रहेकोले थप उपचारपछि सिमकोट ल्याईने छ ।
जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतका छोरा समेत रहेका इन्जिनियरलाई खोजीका लागि आफन्तसहित सिमकोटबाट बीस जनाको टोली त्यता लागेका थिए ।
ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आर.सि.आइ.डब्लु) मा कार्यरत रावत सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा
कार्यालयको कामका सिलसिलामा आईतबार बस्ने होटेलमा एक कप चिया बिहान खाएर निस्किएपछि हालसम्म सम्पर्कमा आएका थिएनन् ।
खोजीका लागि सिमकोटबाट हेलिकोप्टरमा दाई ज्ञानेन्द्र रावतको टोली पनि घटनास्थलतर्फ गएको थियो ।
यस अघि तीन दिनसम्म चारदेखि पाँच जनाको टोली बनाएर दशवटा टोली खोजीका लागि बस्ती, गोठ, खर्क, बन जंगल, ओढार लगाएत सबैतिर परिचालन गरिएको थियो ।



