कमल कोइराला
थारूहरूको मूल पेसा कृषि हो । नेपालका ९५ प्रतिशत थारूहरू कृषि पेसामै आश्रित छन् । चितवन जिल्लामा बसोवास गर्ने थारूहरूको इतिहास अलि भिन्न छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रूपमा सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको घोषणा भएपछि यिनीहरू त्यहाँबाट विस्थापित भए । सरकारले यिनीहरूलाई जिल्लाभित्रकै अन्य गाउँमा सारिदियो । सयौँ वर्षसम्म चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा आश्रय लिएर बस्नेक्रममा गरेका कतिपय दैनिक कर्मलाई यिनीहरूले आफ्नो संस्कृतिका रूपमा विकसित गर्दै आएको पाइन्छ । वर्षाैंपूर्व अत्मसुरक्षाका लागि अपनाइएका कतिपय उपायहरू हाल थारू जातिको सांस्कृतिक चिनारीका रूपमा प्रसिद्ध बनेका छन् । दैनिक जीवनयापनका क्रममा उपयोग एवम् अवलम्बन गरिएका कतिपय क्रियाकलापहरूले कालान्तरमा संस्कृतिको स्वरूप धारण गर्दारहेछन् भन्ने कुराको ज्वलन्त नमुना बनेका छन्, हाल थारू समुदायमा प्रचलित निम्न सांस्कृतिक झाँकीहरू ः
लाठी नृत्य
यो थारू समुदायमा प्रचलित अत्यन्त प्राचीन एवम् कलात्मक नृत्य हो । उनीहरूको भाषामा यसलाई डाङ नृत्य पनि भनिन्छ । दुवै हातमा एकनासका लठ्ठी लिई १०–१२ जनाको समूह बनाएर नाचिने यस नृत्यसँग उनीहरूको आत्मसुरक्षाको इतिहास गाँसिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको घना जङ्गलमा विचरण गर्दा उनीहरूलाई वन्यजन्तुको बिगबिगी हुन्थ्यो । घाँस–दाउरा र अन्य जीविकोपार्जनका लागि जङ्गल चहार्दा थारू समुदायका प्रत्येक मानिसका हातमा लठ्ठी हुन्थ्यो । लठ्ठीकै सहायतामा उनीहरू वन्यजन्तु धपाउँथे र आत्मिक सुरक्षाको अनुभूति गर्थे । मादल, डम्फु र खैँजडीसँगै लठ्ठीबाट समेत प्याट्प्याट्–प्याट्प्याट्प्याट् गर्दै शृङ्खलित आवाज गुञ्जिने भएका कारण यो नृत्य अझ बढी साङ्गीतिक एवम् रोमाञ्चकारी प्रतीत हुन्छ । पुर्खाले आत्मसुरक्षाका लागि प्रयोग गरेको यो उपायले कालान्तरमा थारू संस्कृतिमा नृत्यकै रूप धारण ग¥यो । यस समुदायमा मात्र नभएर यो नृत्यले हाल देशभरिका बहुसङ्ख्यक सर्वसाधारणका बीचमा पनि लोकप्रियता आर्जन गरिसकेको छ ।
डम्फु नृत्य
डम्फुको तालमा नाचिने भएकाले यसलाई डम्फु नाच भनिएको हो । यस नृत्यमा सहभागी प्रत्येकका हातमा डम्फु हुन्छ । आफैँले बजाएको डम्फुको तालमा आफैँ नृत्य गर्नु यस नृत्यको विशेषता हो । बाख्राका छालाबाट निर्मित डम्फुलाई मयुरको प्वाँखले सजाइएको हुन्छ । डम्फुलाई मयुरको प्वाँखले सजाइनुको पनि छुट्टै कारण छ । थारू संस्कृतिविज्ञका अनुसार उहिले आफ्ना पुर्खाहरू चितवन राष्ट्रिय निकुञ्जको वनभित्र बस्दा विषालु सर्पको असाध्यै डर हुन्थ्यो । तिनै विषालु सर्पको डसाइबाट पहिले–पहिले बर्सेनि थारू समुदायका धेरैले अकालमा ज्यान गुमाउनुपथ्र्याे । तर, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका मयुरसँग ती विषालु सर्पहरू डराउँथे । देख्नेबित्तिकै खाइदिइहाल्ने भएकाले सर्पहरू मयुरका अगाडि पर्नै सक्दैनथे । त्यसैले यताउति हिँड्दा विषालु सर्पको डर नहोस् भनेर उनीहरूले डम्फुलाई मयुरका प्वाँखले सिँगार्न थाले । जङ्गलभित्र एक घरबाट अर्काे घरमा जानेक्रममा उनीहरू त्यही डम्फु बजाएर हिँड्ने गर्थे उतिबेला । पछि प्रत्येक वर्षको फागुपूर्णिमाका दिन होली खेल्नेक्रममा उक्त डम्फु नृत्य उपयोगमा आयो । हाल होलीका दिन आपसमा रङ साटासाट गरी खुसियाली मनाउँदै सोही डम्फुका तालमा नृत्य गर्नु थारू समुदायको एउटा संस्कृति नै बनिसकेको छ ।
ठोकरा नृत्य
चितवन राष्ट्रिय निकुञ्जभित्र बसोवास गर्दा लगाइएको खेतिपातीको सुरक्षा गर्न थारूहरूलाई निकै सास्ती पथ्र्याे । वर्षायाममा लगाइएको बाली जङ्गली जनावरहरूले सखापै पारिदिन्थे । खेतमै चौकीदार बसेर लगाइएका बालीनाली हुर्काउनुपथ्र्याे । यसरी दुःख गरी हुर्काइएको बालीनाली घर भिœयाएपछि प्रायः मङ्सिर–पुस महिनामा नाचिने परम्परागत नृत्यको नाम हो– ठोकरा नृत्य । अन्नबाली भिœयाएको खुसियालीमा गाउँका सबै मानिस जमिनदारका घरमा जम्मा भई नाचिने यो नृत्य हर्ष एवम् आनन्दका दिनको शुभारम्भ भएको सङ्केतस्वरूप नाच्ने गरिन्छ ।
झुम्रा नृत्य
यो नाच थारूहरूको मृत्यु संस्कारको समापनसँग सम्बन्धित छ । परिवारमा कुनै सदस्यको निधन हुँदा केही दिनसम्म आफन्तजन शोकाकुल हुनु स्वाभाविकै हो । थारूहरूको पनि तेह्र दिनसम्म शोक एवम् पितृसंस्कार गर्ने चलन छ । तेह्र दिनको संस्कार सिद्धिएपछि पनि शोकमा डुबेको मान्छे सजिलै हाँस्न सक्दैन । त्यसैले शोकमा परेको मान्छेलाई हँसाएर प्रफुल्ल पार्ने प्रयोजनका लागि यस नृत्यको प्रारम्भ भएको बुझिन्छ । यस नाचमा एउटा जोकर र मारुनी रहन्छन् । मारुनीलाई हँसाउन जोकरले अनेक अभिनय प्रस्तुत गर्छ । उसको अभिनय देखेपछि शोकमा डुबेकाहरू पनि नहाँसिरहन सक्दैनन् । यो नृत्य पहिले–पहिले जमिनदारका घरमा मात्र नचाउने गरिन्थ्यो । तर, हिजोआज भने शोकमा डुबेका प्रत्येकका घरमा नचाउन थालिएको छ ।
अग्नि नृत्य
हिजोआज थारू समुदायमा ‘फायर डान्स’ का नामले चिनिने यो नृत्य हेर्ने दर्शकलाई अत्यन्त रमाइलो लाग्ने तर नाच्नेले अत्यन्त सकस र जोखिम बेहोर्नुपर्ने कलात्मक नाच हो । थारूहरूले जङ्गलमा रातविरात हिँड्नुपर्दा आफ्ना सुरक्षाका लागि दाउराको टुप्पामा झुम्रो राखी मसाल बालेर हिँड्थे । कालान्तरमा उनीहरूको आत्मसुरक्षाको यो विधि नृत्यमा परिणत भयो । अहिले यो नृत्य सर्वत्र वाहवाही बटुल्न सफल नृत्यका रूपमा परिचित छ ।
आय आर्जन पनि
कुनै बेला कृषिकर्मलाई मात्र जीविकोपार्जनको स्रोत बनाएका चितवनका थारू समुदाय हाल त्यसमा मात्र सीमित छैनन् । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई आकर्षित गरी उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने हरेक कार्यमा प्रायः सक्रिय देखिन्छन् उनीहरू । हात्ती चलाउने माउतेदेखि लिएर ‘टुरिस्ट गाइड’ सम्मको भूमिकामा दरिएका देखिन्छन् स्थानीय थारूहरू । दिउँसोभरि खेतीकिसानी र पशुपालनका काममा व्यस्त भए पनि साँझपख उनीहरू प्रत्येक होटल र लजमा पुगेर सौराहा घुम्न आएका पर्यटकलाई आफ्नै संस्कृतिमा नचाउँछन् । पुर्खाले चलाएका संस्कृतिलाई आफ्नो समुदायको चौघेराबाट बाहिर निकालेर देश–विदेशसम्म पु¥याउने अभियानमा छन्– बछ्यौली गाविसका थारू युवा । सुरुमा चुलोचम्को र अन्य घरायसी काममा मात्र सीमित थारू युवतीहरू पनि हाल यस कार्यमा सक्रिय देखिन्छन् ।
यस अभियानमा उनीहरूलाई समर्पित गराउन प्रोत्साहन दिँदै छन्, बछ्यौलीका अग्रज थारू विका चौधरी । उनी भन्छन्, ‘काम नपाएर यसै भौँतारिएका आफ्नै गाउँका छोरानातिलाई आफ्नै संस्कृतिको जगेर्नाबाट गरिखाने उपाय सिकाउँदै छु । ’ हाल चितवनको बछ्यौली गाविसमा क्रियाशील चार÷पाँचवटा थारू सांस्कृतिक समूहले सौराहा घुम्न आउने पर्यटकलाई प्रत्येक साँझ थारू संस्कृतिमार्फत मनोरञ्जन प्रदान गर्दै आइरहेका छन् । सौराहास्थित होटल सेभेन स्टारका कार्यक्रम संयोजक नारायण रिजाल पर्यटकलाई साँझपख एक÷डेढ घण्टा थारू संस्कृतिको मनोरञ्जन दिने व्यवस्था मिलाइएको भनाइ छ । यसबाट थारू संस्कृतिको प्रचार–प्रसार र उनीहरू आत्मनिर्भर भई आधुनिकीकरणको दिशातिर अग्रसर भइरहेका छन् ।
gorkhapatra




















