जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका खासगरी उच्च पहाडी भेगमा आइतवारदेखि सामान्य वर्षा र हिमपात हुने क्रम सुरु भएको छ। वर्षा र हिमपातका कारण ती स्थानमा चिसो बढेको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालको पश्चिमदेखि पूर्वसम्मकै आकाश यतिबेला बादलले ढाकेको छ र त्यो क्रम मङ्गलवारसम्म नै जारी रहने सम्भावना छ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बीबीसी नेपाली सेवासँग भनिन्, “सोमवार दिउँसोदेखि पश्चिमबाट खुल्न सक्छ। पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्ने क्रम अहिले जारी छ।”
उनका अनुसार पश्चिम वायुको प्रभाव नेपाली आकासबाट सम्भवत मङ्गलवार साँझपछि हट्न सक्छ र त्यसपछि आकाश फेरि खुल्न सक्छ।
काठमाण्डूमा पनि हिउँ पर्यो
काठमाण्डू उपत्यका र नजिकका क्षेत्रमा पनि हल्का तथा सामान्य वर्षा भएको छ।
उपत्यकाका दक्षिणी भेगमा पर्ने फुलचोकी र चन्द्रागिरिमा हिउँ पनि परेको।
यो हिउँदको यो पहिलो वर्षा र हिमपात हो।
मौसम विज्ञान विभागका अनुसार काठमाण्डूको न्यूनतम तापक्रम आइतवार १ डिग्री सेल्सियसमा झरेको थियो।
काठमाण्डू उपत्यकाको सीमामा भएका डाँडामा भएको हिमपातबारे सामाजिक सञ्जालमा चर्चा पनि भएको छ।
जनजीवन प्रभावित
हिमपातका कारण जुम्ला, हुम्ला र अन्य हिमाली जिल्लाहरूमा तापक्रम निकै घटेको छ।
आइतवार -२ डिग्री न्यूनतम तापक्रम पुगेको जुम्लामा सोमवार बिहान न्यूनतम तापक्रम -०.५ डिग्री रेकर्ड गरिएको छ।
जोमसोममा न्यूनतम तापक्रम -१ डिग्री थियो भने अधिकतम ८ डिग्री रहेको थियो।
जुम्लास्थित बीबीसी समाचारदाताका अनुसार आइतवारदेखि हिमपात भएपछि मानिसहरू घरभित्रै बसिरहेका छन्। त्यहाँ जनजीवन प्रभावित भएको छ।
त्यहाँका किसानहरू भने हिउँ परेपछि जौ, गहुँ, उवा जस्ता बालीनाली सप्रिने भन्दै खुसी भएका छन्।
के छ मौसम पूर्वानुमान?
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार दिउँसो: देशभरि ‘आंशिकदेखि सामान्य बदली’ रहने सम्भावना छ।
केही स्थानमा हल्का वर्षा हुन सक्ने र उच्चपहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ।
महाशाखाले सोमवार राति मध्य र पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको बताएको छ।
बुधवार राति मौसममा सुधार आउन सक्ने महाशाखाको पूर्वानुमान छ।
BBC


