काठमाडौंँ, पुस १६ गते । सस्तोमा सुन किन्न प्रलोभन देखाइरहेको त छैन ? पित्तल वा फलाम पनि हुन सक्ने भएकाले होशियार रहन प्रहरीले सुझाव दिएको छ । उपत्यकामा सुनको सिक्री र बेरुवा औंठी देखाइ बजार मूल्यभन्दा १०/१५ हजार रुपियाँ सस्तोमा खरिद विक्री गर्ने नाममा ठग्नेहरू बढ्दै गएको पाइएको छ । प्रत्येक हप्ता यस्तो ठगी घटना प्रहरीसम्म पुग्ने गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंँले नक्कली सुन देखाइ ठग्दै गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । यो समूहको साथबाट दुई तोलाभन्दा बढी तौलका १० थान सिक्री, ३२ थान बेरुवा औंठी, रिङ, ब्रासलेट, टप्स र पत्थर (हिरा) लगायतका गरगहना बरामद गरेको छ ।
नक्कली सुन विक्री गरी ठगी गरेको आरोपमा पक्राउ परेका ललितपुर घर बताउने २६ वर्षीय राजु परियारले फलाम र पितलमा पहेंलो रंग दलेर सुन जस्तै बनाइ ठगी गर्ने गरेको जानकारी दिएको प्रहरीको दाबी छ । उनको साथबाट बाघको दाँतसमेत बरामद भएको छ ।
नियमित सुरक्षा जाँचमा रहेको प्रहरीले बा ८२ प ५६८८ नम्वरको मोटरसाइकलमा सवार परियारको पेप्सीकोलामा झोला खानतलासी गर्दा सुन भेटिएको र सो सुनको प्राविधिक परीक्षण गर्दा नक्कली भेटिएपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको थियो । काठमाडौंँका प्रवक्ता होविन्द्र वोगटीका अनुसार अभियुक्त परियारले सोही दिन रवी तामाङलाई दुईलाख रुपियाँ र रमेश मगरलाई एक लाख ९० हजार रुपियाँ ठगी गरेका थिए । परियारबाट रवीले छ वटा सिक्री, १२ थान औंठी र रमेशले १० वटा सिक्री, नौ थान बेरुवा औंठी र एक गणेशको मूर्ति खरिद गरेका थिए ।
gorkhapatra


