काठमाडौँ — नेकपाको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारबाहीलाई टुंगोमा पुर्याउने बताइएको छ। गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउन सकेको छैन।

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन। यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा सुरु नभएको भन्दै बैठक बहिस्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष दाहालले शनिबार बिहान छलफल गरेका थिए।
kantipur


