भउचप्रसाद यादव
काठमाडौँ, मङसिर १ गते । पृथ्वी राजमार्गको आन्तर्गतको मुग्लिन–नारायणगढ खण्डमा पर्ने १८ मध्ये १४ वटा पुलको नयाँ निर्माण प्रक्रिया सुरु भएको छ ।
सडक विभाग, पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले पृथ्वी राजमार्गको अन्तर्गतको मुग्लिन–नारायणगढ खण्डमा पर्ने १८ मध्ये १४ वटा पुलको नयाँ निर्माण प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
विश्व बैङकको सहयोगमा ती पुलहरु निर्माण हुन लागेको हो । नेपालको पुल सुधार तथा मर्मत सम्भारका लागि नेपाल र विश्व बैङकबीच १८ अर्ब रुपियाँ बराबरको ऋण तथा अनुदान सहयोग सम्झौतामा यही कात्तिक २८ गते सम्झौता भएको थियो ।
सो सडकखण्डमा रहेका १८ वटा पुलमध्ये जलबिरेलगायत चारवटा पुल निर्माण कार्य यसअघि नै सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रमा नै चारवटा पुलको निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी उपमहानिर्देशक थापाले दिनुभयो । चौधवटा पुलको निर्माण प्रक्रिया अगाडि बढाउनका लागि अबको दुई महिनापछि डिजाइन तयार तथा बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी समेत उहाँले दिनुभयो ।
बोलपत्र आह्वान भएको डेढ वर्षभित्र ती पुलहरुको निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउँदै उपमहानिर्देशक थापाले भौगोलिक रुपले विकट ठाउँहरूमा निर्माण गरिने ती पुलहरुका लागि विदेशी विज्ञहरुसँग छलफल अगाडि बढाइएको जानकारी समेत दिनुभयो ।
चौधमध्ये पाँचवटाको निर्माण कार्य अति कठिन देखिएको उहाँले बताउनुभयो । ती पाँचवटा ठाउँमा पुलको दायाँबायाँ कडा चट्टानको अग्ला पहाड र नदी बाहेक अलिकति पनि खाली ठाउँ नभएको तथा त्यस्तो भौगोलिक अवस्थामा पनि यातायात सञ्चालन गर्नुपर्ने र निर्माण कार्यलाई समेत अगाडि बढाउनुपर्ने भएकाले अरु ठाउँको भन्दा यस ठाउँमा निर्माण कार्य कठिन हुने उहाँले बताउनुभयो ।
ती पाँच ठाउँमा बेलिब्रिज राख्ने ठाउँ समेत छैन । ती पुलहरूको निर्माण के कसरी गर्न सकिन्छ भन्नेबारे चिनियाँ र स्वीस विज्ञहरूसँग परामर्श लिने काम भइरहेको जानकारी समेत उहाँले दिनुभयो । चीनको थोङजी विश्वविद्यालयका प्राध्यापकसँग ती पुलहरुको निर्माणका लागि छलफल भइरहेको छ ।
उपमहानिर्देशक थापाका अनुसार, कुल एक अर्ब रुपियाँ लागतमा निर्माण हुने ती १४ वटा नयाँ पुलहरुको चौडाई फुटपाथसहित ११÷११ मिटर तथा कुल लम्बाई छसय मिटर हुनेछ । अहिले ती पुलहरुको चौडाई साढे पाँच मिटर मात्र रहेका छन् । विसं.२०३८ सालमा चीन सरकारद्वारा गोरखा–नारायणगढ सडकखण्ड निर्माण गर्ने क्रममा मुग्लिन–नारायणगढ खण्डमा पर्ने ती १८ वटा पुलको निर्माण गरिएको थियो ।
gorkhapatra


