कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक १९ गते । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाढ तिहार आज देखी शुरु भएको छ । आजै यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरीन्छ छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भन्ने जनविश्वास रही आएको छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
काग धुरीमा कराउँदा र कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने ज्योतिषीय मान्यता रही आएको छ । आजै फेरी आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।


