नवलपरासी — व्यस्त पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने खण्डको खाल्डैखाल्डा र धूलोमा घण्टांै जाममा परेपछि यात्रु सास्ती खेप्न बाध्य भएका छन् । राजमार्गको बर्दघाट– दुम्किवास खण्डको १४ किलोमिटर सडक पार गर्न घण्टौं लाग्ने गरेको छ ।
जताततै भत्किएको र अचाक्ली बाक्लो धूलोका कारण यातायातका साधनले दिउँसै हेडलाइट (बत्ती) बाल्नुपर्ने अवस्था छ ।
अत्यन्त घुमाउरो १९ वटा मोड रहेको दाउन्नेको १४ किलोमिटर पक्की खण्डमध्ये ८ किलोमिटर सडक पूरै भत्किएको र धुलैधुलोले भरिएको छ । राजमार्गमा २ फिटसम्मका खाल्डा परेको वर्ष दिन पुगे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय उदासिन रहेको चालकहरू बताउँछन् । सडक कार्यालयले महेन्द्र राजमार्गमा खाल्डा परेको २४ घण्टाभित्र पुर्नुपर्ने नियम रहे पनि त्यसको पालना यहाँ भएको छैन ।
दसंै मान्न उक्त उक्त सडक खण्ड हँुदै ओहोरदोहोर गर्नेहरू काठमाडांैलाई बिर्साउने धूलो खान बाध्य छन् । ‘बाह्र महिना दिनहँु सडक मर्मत गर्ने ज्यामीहरू सडकमा बग्रेल्ती देखिन्छन् पिच गरेको २ दिन पनि सडक टिक्दैन,’ अधिवक्ता पूर्णचन्द्र शर्मा भन्छन्, ‘यस्तो २४ घण्टा व्यस्त रहने सडक पिच गर्दा र मर्मतका नाममा हुने भ्रष्टाचार छानबिन हुन आवश्यक छ ।’
गत वर्षको बाढीले भत्काएको दाउन्ने सडक खण्ड त्यसपछि दिनहुँ पिच भइरहेको देखिन्छ तर सर्लक्क पिच कतै छैन ।
उनले यो सडकमा पक्की बनाउँदा र मर्मत गर्दा गुणस्तरहीन समानको प्रयोग भएकाले यस्तो बिजोग भएको बताउँछन् । सडक दिनहुँ बन्दै गरेको देखिन्छ एक दिन पनि टिक्दैन । त्यस्को सास्ती यात्रुले व्यहोर्न बाध्य छन् ।
उक्त सडक खण्ड पर्ने बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी सडकको मर्मत सम्भार गर्ने नाममा निकै ठूलो अनियमितता भएकाले छानबिन गरेर कारबाही गर्नुपर्ने बताउँछन् ।
उनले पूर्वपश्चिमको व्यस्त सडकमा गरिएको ढलान समेत १ महिना नटिक्ने खालको भएको बताए । वर्षौंदेखि यही अवस्था रहनुले यात्रुले घण्टौं बिताउनुपर्दा हैरान भएर सडकलाई बारम्बार ताकेता गर्दा पनि टेरपुच्छर नलागेको उनको भनाइ छ ।
धुलैधुलोका कारण दिउँसै बत्ती बाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरीको भनाइ छ । मोडमा धूलोले दुर्घटना बढ्ने जोखिम उत्तिकै छ ।
kantipur


