कैलासबावु श्रेष्ठ/गोरखा
असोज २९ गते । नवरात्रिको आज छौठौ दिन । आज पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो।
यी देवीको कात्यायनी नाम रहन गएको कथा यस प्रकार देखिन्छ । कत नाम गरेका एक ऋषि थिए। उनका पुत्र ऋषि कात्य भए। कात्यको गोत्रमा विश्वप्रसिद्ध महषिर् कात्यायन पैदा भए।
यिनले भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए। भगवतीको जन्म मेरो घरमा छोरीको रूपमा होस् भन्ने उनको इच्छा थियो।
माता भगवतीले उनको प्रार्थना स्वीकार गरिदिनुभयो। केही कालपछि जब महिषासुर दानवको अत्याचार पृथ्वीमा बढ्दै गयो, त्यसैबेला यस दैत्यको वधको लागि ब्रहृमा, विष्णु र शिव तीन देवताको शक्तिको तेजले एक देवीको जन्म भयो। यी देवीको पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए। यसैकारण यी देवी कात्यायनी कहलाईन्।




















