कैलासबावु श्रेष्ठ/गोरखा
असोज २७ गते । नवरात्रीको आज चतुर्थीको दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। आफ्नो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो। सृष्टिको अस्तित्व नभएको बेला चारैतिर जताततै अन्धकार व्याप्त थियो। यस्तो अवस्थामा यी देवी कुष्माण्डाले खिसिक्क हाँसेर ब्रहृमाण्डको सृष्टि गर्नुभयो। पृथ्वीको यही सृष्टिको आदिस्वरूप नै उनी हुन्।
यी देवीको आठ हात भएका हुनाले यी देवीको अर्को नाम अष्टभुजा देवी पनि हो। यी देवीको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला रहेको छ। यी देवीलाई कुभिण्डोको बलि ज्यादै मनपर्ने हुनाले पनि यी देवीलाई कुष्माण्डा पनि भनिन्छ। यी देवीको तेजको तुलना यिनीसँग मात्रै गर्न सकिन्छ। अरू कुनै पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन्। यी देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ। आज पनि देश भरीको शक्तिपीठहरुमा देवीको नाममा बली दिने प्रचलन रही आएको छ ।




















