काठमाडौँ — नेपाल पत्रकार महासंघले सिंगो प्रेसजगत्प्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न सरकारसँग माग गरेको छ । महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति निकालेर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको पछिल्लो अभिव्यक्तिले आमपत्रकारको अपमान भएको भएको भन्दै त्यस्तो व्यवहार बन्द गर्न माग गरेका हुन् ।
महासंघले जिम्मेवार मन्त्रीबाट गलत किसिमको अभिव्यक्ति आएको भन्दै विरोध जनायो । ‘मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई दसैं आएको छ, खर्च पुगेन भने लिन आउन भनी दिएको अभिव्यक्तिले आमपत्रकारहरुको अपमान भएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएकोमा महासंघ कडा शब्दमा भर्त्सना गर्दछ ।’
विकास समितिको बिहीबार बसेको बैठकमा मन्त्री बाँस्कोटा आफू र सरकारविरुद्ध जथाभावी लेखेको भन्दै अभद्र ढंगले प्रस्तुत भएका थिए ।
त्यस्तै महासंघले सबै सञ्चारमाध्यमप्रति समान व्यवहार देखाउन पनि माग गरेको छ । ‘सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरणको प्रक्रिया अघि बढिरहेको बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको महासंघको ठहर छ’ विज्ञप्तिमा छ । सञ्चार मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकता राखेर पत्राचार गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
सरकारी सूचना सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेर दिनु भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघको ठहर छ ।


