जनकपुर–जयनगर रेलवेको बिहीबार सफल परीक्षण र निरीक्षणपछि रेलबाट ओर्लंदै नेपाल र भारतको संयुक्त टोली । तस्बिर : श्यामसुन्दर/कान्तिपुर
जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो । रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ । भारतीय निर्माण कम्पनी इरकोनका साइट प्रमुख रवि सहायले रेलवे संरचना तथा यात्रीको सुरक्षा जाँच गर्न मालगाडी चलाइएको बताए ।
१० अर्ब रुपैयाँभन्दा बढीको यो परियोजना आगामी मंसिरसम्म सम्पन्न हुनेमा दुवै देशका प्राविधिक विश्वस्त देखिएका छन् । पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) मा रेल कुदाउने तयारी छ । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) र तेस्रोमा भंगहा–बर्दिबास (१७ किमि) गरी ६९ किमि रेलवे विस्तार तथा स्तरोन्नतिको योजना छ । यी सबै काम तीन वर्षमा पूरा हुने रेलवे कम्पनीका इन्जिनियर विनोद ओझाले दाबी गरे ।
जयनगर–कुर्था (३५ किमि) लगभग पूरा भइसकेको छ । २९ किमि खण्डमा फलामे रेल लिकसँगै बोल्डर जडान गरिएको छ । यसै साता जनकपुर–कुर्था खण्डमा पनि बोल्डर जडान थालिने प्राविधिकले जनाएका छन् । रेल लिकको लेबल मिलाउन बोल्डर प्रयोग गरिन्छ ।
इन्जिनियर ओझाका अनुसार यस खण्डमा पुल र कल्भर्ट निर्माण पूरा भइसकेको छ । स्टेसन भवन, कर्मचारी आवास, प्लेटफर्म पनि लगभग बनिसके । अहिले जनकपुर, परवाहालगायत स्टेसनमा रङरोगन तथा प्लेटफर्मको फर्स पीसीसी भइरहेको छ ।
दोस्रो चरणको कुर्था–भंगहा रुटमा पनि काम जारी छ । ‘दोस्रो चरणको काम तीव्र गतिमा हुँदै छ । अधिकांश पुल र कल्भर्ट निर्माण भइसके । बाँकी पनि बन्दै छन्,’ ओझाले भने, ‘रेलवे स्टेसन, प्लेटफर्म, कर्मचारी आवास निर्माण अन्तिम चरणमा छ ।’ तेस्रो चरणको भंगहादेखि बर्दिबाससम्म जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनले स्विकारे ।
जयनगरदेखि बर्दिबाससम्मको ६९ किमि ट्रयाकमध्ये ३ किमि भारतीय भूमिमा पर्छ । जयनगर–जनकपुरको ठेक्का भारतीय कम्पनी एरकान इन्टरनेसनलले र जनकपुर–बिजुलपुराको ठेक्का नेपाली निर्माण कम्पनी रमण कालिका इन्टरप्राइजेजले लिएका छन् । सम्झौताअनुसार यो परियोजना २०१६ मेमै सम्पन्न भइसक्नुपथ्र्याे तर दुवै ठेकेदारले विभिन्न बहाना बनाएर ढिलाइ गर्दै आएका छन् । पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि साढे ८ दशकदेखि प्रमुख यातायात साधन रहेको रेल सेवा झन्डै साढे चार वर्षदेखि सञ्चालनमा छैन । सेवाग्राहीले भारतको घुमाउरो बाटो हुँदै जिल्ला सदरमुकाम आउनुपरेको छ ।
kantipurdaily




















