भाद्र १, २०७४- छिमेकी भारत र चीनका सेनाहरु भुटान–चीनको सीमामा अमने–सामने भएपछि दुवै उदीयमान शक्तिको कूटनीतिक लविङ तिब्र छ । कूटनीतिक तिव्रता पछिल्लो पटक सिधा नेपालतर्फ सोझिएको छ । दुवै मुलुकका पछिल्ला उच्चस्तरीय भ्रमण यसैसँग जोडिएका छन् । भित्री वार्ताका सबै कुरा बाहिर नआए पनि अन्तत: भारत र चीनबाट भएका उच्चस्तरिय भ्रमणको ‘गाँठी’ कुरो नेपाललाई आफ्नो कित्तामा तान्ने नै हो । पश्चिमाहरुको बलियो उपस्थिती रहेको नेपालमा दुवैको आँखा सोझिनु सामान्य जस्तै भइसकेको छ ।
यतिबेला दुवै छिमेकी आफु ठीक भन्ने शैलीमा नेपालको ध्यानाकृष्ठ गराइरहेका छन । विमस्टेकको बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबाट नेपालको साथ आफू (भारत) तर्फ होस भन्ने भारतीय चाहना स्पष्ट झल्किन्थ्यो । त्यही थाहा पाएर परराष्ट्र मन्त्रालयले सुष्मा आउनु दुई दिन अघि पत्रकार सम्मेलन नै गरेर भारत र चीनको विषयमा ‘तटस्थ’ बस्ने निर्णय लिंदै दुवै पक्षलाई शान्तिपूर्ण वार्तामा रहन आग्रह गरेको थियो । नेपालको उक्त यथार्थपरक धारणालाई लिएर भारत खासै खुशी छैन । नेपाल त्यही धारणामा अडिक रहिरहन सक्छ/सक्दैन भन्नेमा चीन पनि सशंकित छ । पछिल्लो समयमा कूटनीतिक अडानमा नेपालले ‘यु टर्न’ गरेका उदाहरण धेरै भएकाले पनि यस्तो आशंका ब्यक्त हुने गरेको हो । १९ औं सार्क शिखर सम्मेलन स्थगनको समयमा नेपालको वक्तब्यबाजी पछिल्लो उदाहरण हो ।
यो सबै आधार हेर्ने र विश्लेषण गर्ने हो भने पछिल्लो समय तय भएका यी दुई उच्चस्तरीय भ्रमणको उद्देश्य बुझ्न काफी हुन्छ । कूटनीतिक लविङमा नेपाल आएका चिनियाँ उपप्रधानमन्त्रीले वाङ याङले दुईपक्षीय सम्वन्ध विस्तारमा मुख्य भूमिका रहने आर्थिक गतिविधिलाई बढवा दिन सडक सञ्जाल अपरिहार्य रहेको सन्देश दिए । नेपालले एक चीन नीतिमा देखाएको प्रतिवद्धता र कूटनीतिक अडानको पनि उनले प्रशंसा गरे । नेपालले परिपक्व कूटनीति अंगालेको र त्यो बाटो बीचमा छोड्न नहुने सुझाव समेत दिए । उनले नेपाली नेताहरुसंगको भेटमा नेपाल यही अडानमा रहन सक्छ या सक्दैन भन्ने आशंका पनि सँगै ब्यक्त गरेको उनीसँगै रहनेहरुले बताए । नेपाललाई सहयोग गर्ने र साथ दिने भन्दै चिनियाँ राष्ट्रपति सि चिनफिङको सन्देश प्रवाह गर्दै नेपाल चीनको उच्च प्राथमिकतमा रहेको बताए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक पाकिस्तानको ७१ औं स्वतन्त्रता दिवसमा सहभागी भएर नेपाल आएका चिनियाँ उपप्रधानन्त्री तीन रात बसे । सोमबार साँझ काठमाडौं उत्रेका उनी विहीबार विहान स्वदेश फर्किइसकेका छन् । निकै प्रशन्न मुद्रामा स्वदेश फिरेका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदाई गरेका थिए । जव की उनकै निमन्त्रणामा आएका भारतीय विदेशमन्त्रीले महरासँग दुईपक्षीय बैठक समेत गर्न आवश्यक ठानिनन् । दूतावासमा आयोजित कार्यक्रममा उनलाई महत्व समेत दिइनन् । त्यहाँ प्रधानमन्त्री देउवाको उपस्थितिले गर्दा विदेशमन्त्रीको समकक्षी नै प्रधानमन्त्री झैं देखिएका थिए । त्यही अनुरुपको प्रस्तुती लैनचौरले गर्यो । सायद यही सन्देशलाई काउन्टर दिन होला वाङ याङको विदाइको लागि महरा विमानस्थल नै पुगे । परराष्ट्र अधिकारीहरुका अनुसार उनले फर्कनु अघि होटलमा भेट्ने तयारी थियो तर अन्तत: विमानस्थलमा नै पुगेर विदाई गरे ।
विमस्टेक क्षेत्रीय संगठन भएको हुनाले सुष्माको भ्रमणलाई अर्कै र यसलाई अर्को तवरले हेरिएको हुनसक्छ । उनी राष्ट्रपति सी चिनफिङको विशेष दूतको रुपमा नेपाल आएको र दुई पक्षीय भ्रमण रहेको कारणले पनि सरकारले बढि महत्व दिएको थियो । पछिल्लो साढे पाँच बर्षमा यो स्तरको भ्रमण नेपालतर्फ भएको हो । वाङले राष्ट्रपतिको सन्देश सरकार, राजनीतिक दलमा शीर्ष नेता, बुद्धिजीवि, ब्यावसायी सबै समक्ष राखे । उनले भने, ‘नेपाल हाम्रो उच्च प्राथमिकतामा छ । राजनीतिक स्थायित्वका लागि लड्दै नेपाल विकासको गतिमा अघि बढेको छ । यसको सफलतामा साथ दिन चीन तयार छौं ।’
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को अवधारणा अगाडि बढाएका सीले त्यही मार्फत नेपाललाई सघाउने समेत बताएको सन्देश उनले दिए । आर्थिक समृद्धिमा निकै माथि रहेको चीनले आफुलाई अझै विकसित मुलुकको पहिचान दिएको छैन । उ अझै विकासउन्मुख भन्दै छिमेकलाई साथ लिन खोजिरहेको देखिन्छ । यो चीनको छिमेक कूटनीति पनि हो । यद्यपी उसले अवको ३२ बर्ष भित्र विश्वको नेतृत्व गरिसक्ने लक्ष्य सार्वजनिक गरिसकेको छ ।
विश्व नेतृत्वको लागि बीआरआई अवधारणा अघि बढाएको र सन् २०४९ मा यो सम्पन्न भएको कार्यक्रम सार्वजनिक गर्ने चीनले बताएको छ । आधुनिक जनवादी गणतन्त्र स्थापनाको सय वर्ष समेत पुग्दै गर्दा चीनले त्यस्तो घोषणा सार्वजनिक गर्नेछ । दक्षिण एसियाली मुलुक भारत र भुटानबाहेक अन्य मुलुक बीआरआईमा प्रवेश गरिसकेका छन् । अझ पाकिस्तानले त चीनलाई ग्वादर पोर्टसंग सिन्जियाङ जोड्ने करिडोरका लागि स्वागत गरेर काम अघि बढेको छ । ४६ करोड अमेरिकी डलर भन्दा बढि खर्च हुने उक्त चीन पाकिस्तान करिडोर (सिपेक) मा भारतले विरोध गर्दै आएको छ । चीन ढुक्कसाथ काम गरिरहेको छ ।
चीनसँग सबै परिवेश रहनसहन संस्कृति मिल्ने भएपनि भुटानले अहिलेसम्म कूटनीतिक सम्वन्ध राख्न सकेको छैन । आधुनिक युगमा आएर पनि सिमा जोडिएको मुलुकसँग कूटनीतिक सम्वन्ध राख्न भुटानले सकेको छैन । जव की ब्यापारिक तथा अन्य सम्पर्क रहँदै आएको छ । भुटानको चाहना हुँदाहुदैपनि भारतकै कारण भुटानले सम्वन्ध राख्न नसकेको धारणाहरु सार्वजनिक भइरहेका छन् । चुम्बी भ्यालीकै छेउमा रहेको दोक्लाममा भुटानी सिमासम्म चीनले सडक विस्तार गर्न थालेपछि भारतीय र चिनियाँ सेना त्यहाँ आमनेसामने भएका छन् । त्यसपछि चीन र भारत दुवैले त्यहाँ शक्तिको प्रदर्शन गरिरहेको छ । मिडिया मार्फत् ‘वाक युद्ध’, यि दुई मुलुकका सिमाका रहेका सेनाको ‘भुडी र छाती’ जुधाएर धकेलाधकेल भन्दा पनि चर्को छ ।
चीनको लक्ष्य भनेको महाशक्तिलाई चुनौति दिने नै हो । यसैले महाशक्ति मुलुकको प्रभाव रहेको स्थानमा आफ्नो उपस्थिति बढाउने नै हो । ल्याटिन अमेरिका, अफ्रिका र एसियाली मुलुकमा उसको चासो र उपस्थिति हेर्दा त्यो स्पष्ट हुन्छ । केही दशक देखि संसारभर एकछत्र राज गरिरहेको महाशक्ति अमेरिकालाई चुनौति दिन चीनलाई सहज भने छैन । तर, चीनले सबैलाई आफु केन्द्रित बनाएर अघि बढ्ने रणनीतिक तयारीमा चीन छ । अन्तराष्ट्रिय फोरमहरुमा पनि देखिएको छ । प्राय शान्त रहने चीन अहिले ‘एग्रेसिभ’ झै लाग्छ । कूटनीति भ्रमणमा एक्लाएक्लै नभेट्ने चिनियाँ राजनीतिज्ञले एक्लाएक्लै समेत भेटवार्ता गर्न थालेका छन् । एमाले अध्यक्षसँग २५ मिनेट दुई जनामात्र वार्ता गरेको विषय बाहिर आइसकेको छ भने उनले प्रधानमन्त्रीसँग पनि भेटेको हुनसक्छ तर एक्ला एक्लै भेटवार्ता नभएको बताइएको छ ।
‘पुराना दिनहरुमा चिनियाँ जनताले फलामे पर्खालको भन्ज्याङमा धावा गर्नु परेझै ज्यादै कष्टकर अवस्थाहरु ब्यहोरेको थियो । यस्तो दुख आधुनिक समयमा विरलै देखिन्छ । तर, हामी (चिनियाँ जनता) ले हौसला छोडेनौ संघर्षहरु छेड्यौं र हाम्रो आफ्नो भाग्यको मालिक हुन सफल भयौ,’ चिनियाँ राष्ट्रपति सि चिनफिङको चीनको शासन ब्यवस्था नामक पुस्तकमा उल्लेख छ, ‘भविष्यमा चिनियाँ राष्ट्र आँधिबेहरी र बलिया छालहरु छिचोल्ने एउट अजंगको जहाज झै अगाडि बढ्ने छ । एक सय ७० बर्ष अघिको अफिम युद्धलाई हामीले नर्विसिकन त्यो पछिको चीनको गन्तव्यलाई लगातार अघि बढाएका छौं ।’
राष्ट्रपतिको धारणाले स्पष्ट हुन्छ चीनपछि हट्ने होइन अघि बढ्दै तत्कालिन युगमा उनीहरु माथि भएको दमन र अपमानको बदला भाव राख्ने देखिन्छ । त्यही तवरमा चीन अघि बढ्दा यो कि साँच्चै शक्ति बन्छ कि छिन्नभिन्न हुनेछ । आन्तरिक समस्या चीनभित्र कम भने छैन । चिनियाँ उपप्रधानमन्त्रीको काठमाडौंमा राजनीतिक भेटघाट भइरहदा भारतसँगको अर्को सीमा विवाद रहेको काश्मिरको लद्दाखमा पनि भारतीय र चिनियाँ सेनाबीच ढुंगा हानहान भइरहेको थियो । संचार माध्यमहरुका अनुसार भारत र चीनको बीच सीमामा देखिएको संकेत राम्रो छैन । उदाउँदो दुवै शक्तिबीच देखिएको यो द्वन्द्वले यस क्षेत्रको राजनीतिमा नै असर गर्नेछ । खासगरि नेपाल र भुटान जस्ता भुपेरिवेष्ठितलाई यो तनावले निकै ठूलो असर मात्र होइन कूटनीतिक र सुरक्षा दवाव रहनेछ । भुटान अझ खुला भइनसकेको मुलुक हुनाले यसको मुख्य असर नेपाललाई पर्छ । पश्चिमाको उपस्थिति बढि नेपालमा नै हुने हुनाले यसको गाम्भीर्यता चीनले आंकलन गरिरहेको र नेपाललाई कुटनीतिक प्रभाव राखेको छ । पछिल्लो समय चीन र भारतको कुरा मिल्ने नै नेपालमा पश्चिमाको उपस्थितिलाई नियन्त्रण गर्ने सम्बन्धि बिषयमा मात्र हो । नेपालमा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोग रोक्ने विषयमा दुवै देशको नेतृत्वले नेपालमाथि कूटनीतिक दवाव श्रृजना गरिरहेका छन् ।
सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा रहँदा वा नरहँदा पनि दिल्ली पुगिरहन्छन् । तर, उनी चीन नगएको २० बर्ष भइसकेको बुधबारको भेटमै खुलाए । छिमेकी सम्वन्धलाई कसरी समान ढंगले हेर्ने ? सम्वन्ध भनेको एक आपसमा हुने अन्तरक्रिया पनि हो । त्यसको सन्तुलनमा समेत हामी चुकेका छौं । यस्तै विषयमा चीन अघि बढेको हो । हुन त चीनले पछिल्लो समय नेताहरुसंगै जनस्तरको सम्वन्धलाई जोड दिइरहेको छ । दोस्रो तहका नेताहरुलाई चीन घुमाउने त्यहाँको पछिल्लो विकास देखाउने जस्ता काम गरिरहेको छ । नेपाल र चीनबीच सम्वन्ध हामी जति निकट र सदाबहार भनिरहेका छौ, त्यो अवस्था ब्यवहारमा भने छैन । कुनै आश/त्रास हो वा नेपालले कूटनीतिक रुपमा सम्वन्धलाई उकास्न नै नजानेर हो चीनसंगको आत्मियतामा अझै बढेको छैन ।
चीनबारे हाम्रा नेता तथा कूटनीतिज्ञ भित्र पुग्न सकेको जस्तो देखिदैन । नेताहरु भेटमा नै भन्छन्, ‘खै यो चीन बुझ्नै सकिएन ?’ चिनियाँ भाषा सिक्न जति असजिलो छ त्यस्तै असजिलो छ उसलाई बुझ्न भन्नेहरु पनि छन् । जसको हामीले अध्ययन नै गरेका छैनौं । यो क्षेत्रमा चीन कुन तवरले अघि बढेको छ भन्ने विषयमा हामी अन्यौल छ । त्यसलाई बुझ्ने प्रयास भइरहेको त होला तर त्यो कहाँ भएको छ भन्न सकिने अवस्था नै छैन । यस्तो सम्वन्धमा हामीले उनै चिनियाँ राष्ट्रपतिको भनाईलाई स्मरण गर्न पर्छ, ‘मुलुकलाई नै हानी हुने फोस्रो कुरा होइन । कडा श्रम गरेर आफू र मुलुकको भविष्य उज्जवल राख्नुपर्छ । चीनले बाँकी विश्वको बारेमा अझ बढी जानकारी प्राप्त गर्नु आवश्यक छ । कहिल्यै अरुमाथि हाम्रो धारणा लाद्न हुदैन र अरुहरुको धारणा हामी माथि थोपर्न दिनुहुदैन । सबै प्रकारको दवाव शक्तिको राजनीतिको विरोधमा हामी छौ । र, हामी दवाव सिर्जना गर्दैनौ । अधिपत्यको बाटो पनि रोज्दैनौं ।’ राष्ट्रपति सीले बाहिर ल्याएको उक्त धारणाले पनि स्पष्ट पार्छ चीन कुन गतिमा एग्रेसिभ भएको छ भन्ने विषय । अहिले सिमामा देखिएको चीन र भारतको अडान पनि यही बहावको एक धार हो । त्यसको अर्को धारमा अहिले हामीकोमा भए जस्तै प्रकारको भ्रमण कूटनीति नै हो ।
ekantipur


