विश्व प्रेस स्वतन्त्रता दिवस
धुनिक पत्रकारिताको इतिहास विश्वको पहिलो दैनिक प्रकाशन बेलायत भएको मितिबाट लिने हो भने आज यसको युग तीन सय वर्षभन्दा बढी भइसकेको छ ।तर अहिले भइरहेको विश्व सञ्चार प्रणालीको विश्वव्यापीकरणले अब समय र स्थानको विसान्दर्भिकरण तथा राष्ट्रिय सञ्चारको सार्वभौमिकता क्षीण हुने स्थिति सिर्जना हुँदैछ । साथै सञ्चार सन्देश बढी स्वतन्त्रतापूर्वक प्रवाह हुने स्थिति सिर्जना भएकोले विश्व पत्रकारिताको प्रविधि तथा प्रभावमा पनि क्रान्तिकारी परिवर्तन देखा पर्न थालिसकेको छ । महाशक्ति राष्ट्रहरूको रणनीतिक सम्बन्धमा फरक अवस्था सिर्जना मिडियाको कारणले पनि हुन थालेको पाइन्छ ।पत्रकारिता आम सञ्चारमाध्यमको एउटा साधन, सीप र कला हो ।
यस्तो विश्व स्थितिको सिर्जनाले अब निर्माण हुने सञ्चार प्रणाली, समाज र संस्कृतिको यथार्थमा अभूतपूर्व परिवर्तन हुन सक्छ । यस्तो परिवर्तनमा सञ्चार, समाज तथा संस्कृतिबीचको सम्बन्ध कस्तो हुन सक्छ भन्नेबारे सञ्चारविद्हरूले मोडेल पनि तयार परिसकेका छन् ।यस्तो स्थितिको सिर्जनाको सुरुआत खासगरी विश्वयुद्धपछि टेलिभिजनको प्रभावबाट विश्वका दसौं लाख दर्शकले एकैपटक एउटै घटना एउटै टेलिभिजन च्यानलबाट समेट्न सकिने सम्भावनाबाट उत्पन्न भएको हो । त्यसबेलादेखि नै परम्परागत पत्रकारिताको युगमा परिवर्तनका रेखाहरू देखा पर्न थालेका थिए ।
विगत सन् १९८०-९० को दसकदेखि विश्व बजारको उत्कर्ष र व्यापार-व्यवसायमा लगानीको तीव्रता तथा जोखिमको उच्च वृद्धि साथै संस्थागत विकास र जीवनशैलीको स्तरमा परिवर्तन हुन थालेको थियो । यस क्रममा आमसञ्चारबाट हुने मनोरञ्जनका प्रभाव पनि विश्वव्यापी रूपमा देखा पर्न थालेको थियो । सूचना, समाचार तथा मनोरञ्जन प्रदान गर्ने माध्यम विशाल उद्योगको रूपमा स्थापित हुन थालेको थियो ।
इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित हुनेछ । नागरिक पत्रकारिताले व्यावसायिक पत्रकारिताको पूरकको रूपमा काम गर्नेछ ।
यही समयदेखि इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोली (आईसीटी ) ले सञ्चार र समाजमा ‘साइवर स्पेस’ को महत्वलाई उजागर गर्न थाल्यो । यस किसिमको काल्पनिक स्थानलाई यथार्थ सत्य स्थानजस्तै मौलिक वा कानुनी बन्देजमा सीमित राख्न नसकिने अवस्था सिर्जना भयो । ‘डब्लूडब्लूडब्लू’ ले वा इन्टरनेटको प्रयोगले विश्व सञ्चारमाध्यमको वातावरण खलबल्याउन सुरु गर्यो । सञ्चार सन्देशको प्रवाहमा अति अभूतपूर्व वेग, तत्काल अन्तरक्रियाको सम्भावना, गैरमिडिया कम्पनीहरूबाट मुनाफाको लागि कडा प्रतिस्पर्धा हुन थालेपछि साइवर स्पेसले कहिले नचिताएका समस्या पनि सिर्जना गर्न थाले । केही वर्षअघिको तथ्यांकअनुसार विश्वमा २० लाखभन्दा बढी दर्ता भएका ‘डोमेन’ थिए भने कति वेब पेज थिए, त्यसको त अनुमान लगाउन पनि कठिन थियो । सन् १९९५ तिर बिइङ डिजिटल पुस्तकका लेखक ‘निकोलस नेग्रोपोन्टे’ ले भनेका थिए, मल्टिमिडियाको युगमा विश्वस्तरमा काम गर्नै पत्रकारहरूले इन्टरनेटको साधन, स्रोतबारे राम्रो ज्ञान र सीप हासिल गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आज वेब प्रविधिमा आधारित यस्तो मिडिया प्लेटफर्म सिर्जना भएको छ, जसलाई सोसल मिडिया भनिँदैछ । यो यस्तो किसिमको माध्यम हो, जसमा अन्तरक्रिया, अन्तरवस्तुको सहभागिता तथा सहयोगका लागि अनलाइन सञ्चार च्यानलहरूको संग्रह हुन्छ, जस्तैः गुगल, फेसबुक, ट्विटर आदि । यी यस्ता प्लेटफर्म हुन्, जसमा माइक्रो ब्लगिङ, सोसियल नेटवर्किङ, विकिज् आदि सम्भव हुन्छ ।त्यो माध्यम अनलाइन आधुनिक जीवनको लागि अभिन्न अंग भइरहेको छ । यसले अनलाइन पत्रकारिता गर्नको लागि भावी पुस्तालाई बढी आकर्षिक गर्दै लैजाने सम्भावना बढेको छ । साथै यस्तो माध्यमको प्रयोग गर्दा हुने जोखिमबाट बच्न माइकल क्रसजस्ता विज्ञले रणनीतिक उपायहरू पनि बताएका छन् ।
अर्कोतिर विगत एक दसकदेखि विश्वका विभिन्न केन्द्रस्थलबाट मुद्रित भई विश्व समाजमा वितरण हुने अखबारहरूको मुद्रण प्रतिसंख्यामा ह्रास आउन थालेको देखिएको छ । विश्व प्रसिद्ध न्युजविक, टाइम्स तथा लन्डनका अखबारहरू अनलाई वितरण मात्र होइन, ब्लगिङ प्रतिस्पर्धामा उत्रिन थालिसके । अमेरिकाका विशाल छापा प्रकाशन गृहहरूबाट मुद्रित अखबारी समाचार पत्रको पाठक संख्या घटोत्तरी हुन लागेकोमा चिन्ता व्यक्त गर्दैछन्, भने मुद्रण विज्ञापनदाताहरू बढी व्यापार गर्न अनलाइन माध्यममा संलग्न हुन थाले । अबको भावी पत्रकारिता गर्नु भनेको कम्प्युटर, इन्टरनेट सञ्जाल र वेबसाइट राखेर आफैं स्रोत भएर क्षणिकमा समाचार बनाई सञ्चालमार्फत दसौं, करोडौं दर्शक वा पाठकमा समाचार क्षणभरमै पुर्याउनु हो । यसबाट नागरिक पत्रकारिता जन्मिन्छ ।
आवश्यक सार्वजनिक सूचना सम्बन्धित निकायले इमानदारीपूर्वक आआफ्नो वेबसाइटमा राखिदिएपछि सूचना ग्राहीले चाहिएको सूचना त्यही वेबसाइटमा पहुँच पुर्याएर प्राप्त गर्न सक्नेछ । यसले सूचना नपाएको वा हकको सम्मान नभएको गुनासा हराउनेछन् ।
मुद्रित पत्रकारिता गर्दा लाग्ने समय, अनेक किसिमका कठिनाइ तथा व्यक्तिगत प्रभावबाट भावी पत्रकारिता कमै प्रभावित हुनेछ । ‘उसले भन्यो’ भन्न शब्दवलीमा परेको शब्द ‘उसले’ अब कम्प्युटरले भन्यो भने स्रोत हो भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना हुँदैछ । यस किसिमको पत्रकारिताले नेपाली समाजमा पनि जरो हाल्न थालिसकेको छ । यसबाट हुने जोखिम मोल्न पनि नेपाली समाज तयार हुँदैछ । सूचना प्रविधिको विकासबाट यो मुलुक अनभिज्ञ छैन ।
अनलाइन सूचनाका स्रोतहरू पत्रकारले एउटा असल कम्प्युटर र इन्टरनेन सेवाबाट क्षणिकमै प्राप्त गर्न सक्छ भने कम्प्युटरबाटै चाहेको समाचार संकलन, लेखन, सम्पादन, उत्पादन र वितरण गर्न सक्छन् । अब को व्यावसायिक या अव्यावसायिक पत्रकार भन्ने छुट्ट्याउन पनि गाह्रो हुने युग आइरहेको छ । परम्पारगत व्यावसायिक पत्रकारिताका लागि आवश्यक मर्यादा र जिम्मेवारी दक्षता र सुरक्षा निश्चितता स्वतन्त्रताको अवधारणामा ठूलो परिवर्तन हुने देखा पर्दैछ । ‘डिजिटल डार्करुम’ प्रविधिले फोटो पत्रकारिता तथा टेलिभिजनको कार्यक्रम उत्पादनमै दक्षता र तीव्रता बढेको छ । अबको युगमा पत्रकारिताको परिभाषा नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा अचम्म मान्नुपर्ने छैन ।
मिडिया सामाजिक संस्थाभन्दा पनि औद्योगिक संस्थाको रूपमा विकसित भइरहेको छ । विश्व विकासका लागि दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सघाउ पुर्याउने पत्रकारिता गर्दा कति विज्ञापन आकर्षण गर्न सकिन्छ भन्ने चिन्ताले प्रकाशन गृह पीडित हुनु स्वाभाविक नै मानिन्छ । विकल्पमा यसबापत सरकारी अनुसन्धानको हिसाबकिताब पनि उत्तिकै सान्दर्भिक मानिन्छ । समाचार संस्थानहरू बहुराष्ट्रिय संस्थानका विश्व बजार सेरोफेरोमा घुम्न थालेका छन् ।
आउने दिनहरूमा स्वतन्त्र रूपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई, आफ्नो कामप्रति उत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने आशंका पनि महसुस हुन थालेको छ ।
अक्स्फोर्ड इङलिस डिक्सनरी मा ब्लग शब्द शब्द समावेश भइसकेको छ । मूल प्रवाहका अखबारहरूले पनि इलेक्ट्रोनिक संस्करणबाहेक ब्लगिङको अभ्यास पनि सुरु गरिसकेका छन् । न्यूज ब्लगले खास समाचारभित्र लुकेको स्वादिलो रमाइलो पक्षलाई उजागर गरिदिन सक्छ । इन्टरनेटले समान्य नागरिकलाई पनि अन्तरक्रियात्मक प्रणालीसित सम्बन्धित गराउन सक्छ, उनीहरूको यसमा पहुँच छ भने । तर जनसंख्याको केही हिस्सा इन्टरनेटको पहुँचबाहिर छ भने अन्तरक्रियाबाट नेतृत्व दिने पक्षको प्रभावकारितामा शंका उत्पन्न हुन्छ । यस सन्दर्भमा हालै नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ वर्षसम्म पूर्वाधार निर्माण कोषको रकम परिचालन गरेर कर्णालीका आठ जिल्लामा ब्रोड ब्यान्ड इन्टरनेट सेवा विस्तार गरी ती दुर्गम गाउँमा निःशुल्क इन्टरनेट सेवाको पहुँच बढाउन लागेको छ । यो लोकतान्त्रिकदायी नेतृत्वको एक पक्ष हो ।
माथि उल्लेख गरिएको आशंकाकै सन्दर्भमा अनलाइन पत्रकारिताको नैतिकताको प्रश्न पनि जोडिएको छ । प्रकाशको गतिमा चल्ने सोसलमाध्यममा पत्रकारिताको लागि अत्यावश्यक गुण विश्वसनीयता, प्रामाणिकता र सञ्चार क्षेत्र वेगवान प्रवाहसित कसरी सन्तुलित राख्ने ? यो अहिलेको चुनौती हो ।
प्रोफेसर जोन बायर्ड भन्नुहुन्छ, ‘अनलाइन पत्रकारिता स्थान र समयको सीमामा नपरी अधिक मात्रामा महत्वपूर्ण सूचना अनलाइनमा राखेर पाठक वर्गको लागि सेवा पुर्याउन सकिन्छ । समाचारका स्रोत पारदर्शी छन् भने पाठक वर्ग स्वयंले आफैं समाचारको विश्वसनीयबाट सही निर्णय गर्न सक्नेछन्।’
नेपाललगायत एसियाका मुलुकहरूले नयाँ युगको पत्रकारितालाई आह्वान गर्न थालिसकेका छन् । यद्यपि यी धेरै मुलुकमा अभिव्यक्तिको स्वतन्त्रता जीवन शैलीको अप्रिय अंग हुन अझ निकै समय लाग्नेछ । अब पाठकले मूलधारका समाचारबारे इन्टरनेटमा पनि हेरेर घटनासँग सम्बन्धित व्यक्तिसँग सोझै अन्तरक्रिया पनि गर्न सक्छन् । इन्टरनेट सूचनाहरू प्रकाशन गृह या सरकारले छनोट वा सेन्सर गर्न सक्दैन । विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले सूचनालाई वेबमा राखिदिन सक्छ ।
इन्टरनेटले नागरिकलाई अन्तरक्रियात्मक प्रणालीसित जोडिदिन्छ र बढी लोकतान्त्रिक अनुभूति दिलाउन मद्दत गर्छ । पूर्ण सही सन्देश प्रकाशित प्रमाणित हुने सम्भवना बढाउँछ । बढी स्वतन्त्र, लोकतान्त्रिक सञ्चारमाध्यम नै आजको आवश्यकता हो । लाखौंलाख कम्प्युटरहरू जोड्ने इन्टरनेट स्वभावतः विकेन्द्रीकृत प्रणाली हो, जसमा अर्बौं प्रयोगकर्ताहरू आबद्ध छन् ।साँच्चै भन्ने हो भने अबको पत्रकारिताको युग भनेको त्यस्तो युग हुनेछ, जसमा इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित हुनेछ । नागरिक पत्रकारिताले व्यावसायिक पत्रकारिताको पूरकको रूपमा काम गर्नेछ । शासक, जनता र सत्तामा खास केही फरक पर्ने छैन । साँचो, सत्य कुरो लुकाउन गाह्रो हुनेछ, गोप्य राख्नैपर्ने सूचनाबाहेक ।
annapurnapost


