गाेरखा । बझाङमा आज बिहान भएकाे जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको बझङ प्रहरीले जानकारी दिएकाे हो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन् । प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तस्वीर : रेडियो साइपाल/बझाङ


