प्रदूषणका कारण धादिङमा धमिलो देखिएको त्रिशूली नदी ।तस्बिर : हरिहरसिंह/कान्तिपुर
- दक्षिण एसियामै उत्कृष्ट ‘ह्वाइट वाटर र्याफ्टिङ’ गर्ने नदीको उपमा पाएको त्रिशूलीमा अहिले प्रदूषण बढ्यो
कुनैबेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट ‘ह्वाइट वाटर र्याफ्टिङ’ गर्ने नदीको उपमा पाएको थियो त्रिशूलीले । पछिल्लो समय अतिक्रमणको चपेटामा छ । हिउदँमा समेत सफा र कञ्चन पानी बग्दैन ।
नुवाकोट र धादिङका त्रिशूली नदी किनारमा अव्यवस्थित ढंगबाट सञ्चालित बालुवा प्रशोधन उद्योग र ढुंगा तथा बालुवा खानीका कारण त्रिशूली नदी प्रदूषित बन्ने क्रम बढेको हो । नदी किनारमा जताततै खुलेका फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सिधै नदीमा मिसाइने गरेका कारण मध्य वर्षाको भेलजस्तै धमिलो देखिने गरेको छ । नदीलाई आधार बनाएर खोलिएका बालुवा प्रशोधन उद्योगले बालुवा धोएको धमिलो पानी मापदण्ड विपरीत त्रिशूली नदीमा मिसाएका कारणले पनि धमिलो भएको हो ।
रातारात डोजर र स्काभेटरको सहायताले नदी खोतल्ने र प्रदूषण फैलाउने कार्य भइरहेको आरोप त्रिशूली संरक्षणमा लागेकाले लगाएका छन् । नदीजन्य बालुवा व्यवस्थित रूपले उत्खनन गर्न स्थानीय प्रशासन र जिविसलगायत सरोकार निकायमा चेतावनी पत्रसमेत दिएका छन् । ‘तर सुनुवाइ हुँदैन,’ अभियानका संयोजक उत्तम कँडेलले भने ।
धार्मिक एवम् पर्यटकीय महत्त्व रहेको त्रिशूली नदीको यस्तो गतिले र्याफ्टिङ गर्न आउने पर्यटक पनि घटेका छन् । बालुवा प्रशोधन केन्द्रले त्रिशूली नदीलाई मात्रै होइन, पृथ्वीराजमार्गलाई पनि उत्तिकै प्रदूषित बनाइरहेको छ । पर्यटक नै आउन छाड्ने हुन् कि भन्ने चिन्ता भएको र्याफ्टिङ व्यवसायीले बताए । जोगीमारास्थित रोयल बिच क्याम्प रिसोर्ट सञ्चालन गरेका विष्णु सिलवालले भने, ‘अहिले र्याफ्टिङको सिजन हो, तर पहिलेजस्तो नदी सफा नभएकाले र्याफ्टिङ गर्न आउनेको संख्या बर्सेनि घट्दै गएको छ ।’
बैरेनीदेखि गजुरीसम्मको खण्डमा अव्यवस्थित ढंगबाट झन्डै सय फिरफिरे खुलेका छन् । नुवाकोटमा पनि त्यत्तिकै संख्यामा छन् । व्यवसायका रूपमा खोलिएका यस्ता फिरफिरे बढ्दै गएका छन् । संयोजक कँडेलले भने, ‘हामीले त्रिशूली सफा राखौं, अतिक्रमण नगरौं, मेसिन प्रयोग गरेर वातावरण नबिगारौं भन्ने कुरा उठाउनेबित्तिकै ढुंगा–गिट्टीका तस्कर तारो बनाउँछन् ।’
उनले व्यवसाय गर्न पाइने तर मापदण्ड पुर्याउनुपर्ने बताए । अतिक्रमण र प्रदूषण रोक्न जिविस र यहाँका प्रमुख राजनीतिक दलले समयमै चासो नदिएको र यो क्रम नरोकिए त्रिशूली पनि वाग्मती र विष्णुमतीकै हालतमा पुग्ने भन्दै अहिले ठाउँठाउँमा संघर्ष समिति गठन हुन थालेका छन् । प्राकृतिक सम्पदा संरक्षण समितिका संयोजक तथा त्रिशूली बचाउ अभियानका सदस्य श्रवण त्रिपाठीले भने, ‘बालुवा र क्रसर उद्योगका कारण कतिपय ठाउँमा त्रिशूलीको धारै परिवर्तन हुन थालेको छ । प्रशासनमा सचेत गराउँदा पनि धमिलो पानी त्रिशूलीमा मिसाउन छाडिएको छैन । प्रशासन कारबाही गरेजस्तो गर्छ । उद्योगी लापरबाही गरिरहने प्रवृत्तिले गर्दा प्रशासन र उद्योगीको मिलिमतो छ जस्तो लाग्छ ।’
डिभिजन सडक कार्यालय भरतपुरले केही वर्षअघि राजमार्ग क्षेत्रमा रहेका ८१ वटा फिरफिरे सडक सीमाभित्र रहेको र ती प्रदूषण फैलाउनुका साथै दुर्घटनाका कारक हुन थालेको भन्दै अन्यत्र सार्न आग्रह गरेको थियो । त्यसपछि केही फिरफिरे सडक सीमाभन्दा बाहिर राखिए पनि त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन हुन नसक्दा सिधै त्रिशूली नदीमा मिसिने गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘हामीले निश्चित समयसीमा राखेर मापदण्डअनुसार उद्योग चलाउन सचेत गराएका छौं । अटेर गर्नेलाई कारबाही गर्छौं ।’
ekantipur


